Comments Add Comment

मनोज पुनका सहयोगी सुजुकी श्रीमतीको माग : दुई डीएसपीमाथि छानबिन होस्

एमालेले पार्टीबाट कारवाही गरेकाेमा गुनासाे


९ चैत, बुटवल । प्रहरी इन्काउन्टरमा मारिएका गुण्डा नाइके मनोज पुनको अपराध कर्ममा सघाएको आरोपमा पक्राउ परेका युवा संघका नेता सुजु मल्लको परिवारले बुटवलका तत्कालीन दुई डीएसपीमाथि छानविन गर्न माग गरेका छन् ।

मल्लकी श्रीमती सिर्जना ताम्राकारले आइतबार बुटवलमा पत्रकार सम्मेलन अायोजना गरिन् । मनोज पुनले आफ्ना श्रीमान सुजुलाई विगतमा मार्ने धम्की दिने गरेको सिर्जनाले दाबी गरिन् ।

मनोजले त्यसबेला दिएको धम्कीबारे इलाका प्रहरी कार्यालयका तत्कालीन डीएसपी मुकुन्द मरासिनी र पवनकुमार भट्टराईलाई जानकारी गराएको दावी गर्दै उनले यसबारे छानविन गर्न माग गरिन् ।

मनोजले फोन गरेर ‘कि पैसा दे, कि ब्यापारीहरूको नम्बर दे’ भन्दै धम्की दिएकाले नम्बर दिएको र त्यसबारे पनि डीएसपीलाई जानकारी गराएको सिर्जनाको दाबी छ ।

मनोजको इन्काउन्टर हुनु अघिसम्म सुजुको फोन सम्पर्क भएको प्रहरी दाबीमा शंका गर्दै उनले मिति प्रमाणित गर्न माग गरिन् ।

मनोजसँग सुजुको गत तिहारपछि नै सम्पर्क टुटेको सिर्जनाको दाबी छ ।

सिर्जनाले प्रहरीको अनुसन्धान र छानविनलाई सघाउन आफ्नो परिवार तयार रहेको समेत बताएकी छन् ।

यसैवीच एमालेले  सुजुको अभियोग अदालतबाट प्रमाणित नहुँदै पार्टीबाट निस्कासन गरेर अन्याय गरेको उनको गुनासो छ । एमालेले विज्ञप्ति जारी गरेर सुजुलार्इ पार्टीबाट निस्कासन गरेको बताएपछि सिर्जनाले यस्तो गुनासो गरेकी हुन् ।

युवा संघका केन्द्रीय सदस्य रहेका सुजुका विषयमा युवा संघले भने अहिलेसम्म मुख खोलेको छैन ।

प्रहरीले मनोज पुनका विशेष सहयोगी रहेको अभियोगमा युवा संघका केन्द्रीय सदस्य एवं रुपन्देही इन्चार्ज सुजु मल्लसहित ६ जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ।

मनोज पुन र उनका विशेष सहयोगी सोम आले भने ९ फागुनमा प्रहरीको इन्काउन्टरमा मारिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment