Comments Add Comment

ब्यानर काण्डको अन्तर्य : एमालेको दम्भ, माओवादीको हैसियत


रुसी कम्युनिस्ट नेता स्टालिन ७० प्रतिशत ठीक कि ३० प्रतिशत ठीक भन्ने विवाद नमिलेर फुट्ने गरेका नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले स्टालिनका पनि नेता लेनिनको फोटोका नाममा विवाद गर्नु अनौठो होइन ।

अनौठो यो पनि होइन कि एमाले र माओवादीको एकतामा ‘हैसियत’ को प्रसंग प्रत्येक कार्यकर्ताको आत्मसम्मानसँग गाँसिएको छ ।

तर, अनौठो के चाहिँ हो भने केपी ओलीले जुत्तासँग खुट्टाको साइज मिलेन भने खुट्टा ताछेर पनि मिलाउनुपर्छ भनिरहेका बेला कार्यकर्ता भने खुट्टा झिक्दै थिए । एउटै पार्टीका कार्यकर्ता हुन लागेका उनीहरुबीच अचम्मको ‘हेजीमोनी’ प्रकट भइरहेको देखिन्थ्यो ।

एउटा ब्यानरका लागि भएको विवाद र तीन घण्टासम्मको अवरोधले पार्टी एकीकरण सिलसिलाको मनोदशा पनि प्रकट गरेको छ ।

हेजीमोनीको अर्थ

आइतवार राष्ट्रियसभागृहमा देखिएको हुलदंगाको दृश्य लेनिनका नाममा भए पनि त्यसको अन्तर्यमा धेरै कुरा लुकेका छन् । एमाले हेजीमोनीको शिकार माओवादी पंक्ति कसरी भइरहेको छ भन्ने त्यो एउटा सानो दृष्टान्त पनि हो त्यो ।

वाम तालमेलको सिट बाँडफाँडमा ४० र परिणाममा ३० प्रतिशतमा खुम्चिएको माओवादी पंक्तिमा एमाले हेजीमोनी गहिरो ढंगले गढेको छ ।

हेजीमोनीको भनेको यस्तो राजनीतिक शब्द हो, जुन औपनिवेशिक कालमा बेलायतले विश्वका धेरै मुलुकमाथि उपनिवेश लादेर आफ्नो हेजीमोनी कायम गरेको थियो । पछि यो शब्द राजनीतिक र सामाजिक क्षेत्रमा ब्यापक प्रयोग भयो ।

युरोपका प्रख्यात मार्क्सवादी चिन्तक एन्टोनियो ग्राम्सीका अनुसार आफ्ना एजेण्डामा आम मान्छेको अनुमोदन लिनु र आफ्नो नेतृत्व स्थापित गर्नु हेजीमोनी निर्माण गर्नु हो । अर्थात आफ्नो नीति र नेतृत्वमा अरुलाई ‘डोमिनेट’ गर्नु राजनीतिक हेजीमोनी हो । हेजीमोनी यस्तो प्रवृत्ति हो,जसले एउटा पक्षलाई दमित अथवा लघुताभासको अवस्थामा पर्‍याउँछु भने अर्को पक्षलाई श्रेष्ठ देख्छ ।

प्रचण्डको मनोवैज्ञानिक कोरामिन

माओवादी पंक्तिमा रहेको एमाले हेजीमोनी बुझेका अध्यक्ष प्रचण्डले आफ्नो अभिव्यक्तिको शुरुमै आफ्ना कार्यकर्तालाई मनोवैज्ञानिक कोरामिन दिए ।

उनले हतारमा पार्टी एकीकरण गरेर फुर्सदमा पछुताउन नचाहेको मनको कुरा खुलासामात्र गरेनन्, त्यसभन्दा अगाडि बढेर भने-यसबीचमा लगातार हामीले एकीकरणको मोडालिटीमा छलफल गरेर तीन आधार तय गरेका छौं, १- सम्माजनक एकता २- समानताको सिद्धान्त ३- न्यायोचित एकता ।

प्रचण्डले भनेका तीनवटा आधार मूलतः एउटै हो । सम्मानजनक भने पनि, समानतामा आधारित भने पनि वा न्यायोचित भने पनि माओवादी पंक्ति एमाले हेजीमोनी नरहने मोडलका एकता चाहान्छ ।

अर्थात चुनावमा गरिएको ६०/४० वा त्यसपछि राष्ट्रियसभा र प्रदेश सरकारमा गरिएको ७०/३० को मोडालिटीमा पार्टीको सांगठानिक एकीकरण हुनुहुँदैन भन्नेमा माओवादी पंक्तिको आत्मसम्मान गाँसिएको छ ।

एमालेमा माओवादी गाभिएको वा बिलय भएको जस्तो सन्देश कतै पनि नदेखियोस् भन्नेमा सिंगो माओवादी पंक्तिको सबैभन्दा ठूलो चिन्ता र सरोकार देखिन्छ । एमाले पंक्तिमा ७० र ३० कसरी समान हुन्छ भन्ने प्रश्न अवश्य छ । उनीहरुले यसो भनिरहँदा समानता भनेको संख्यामा भन्दा बढी भावनासँग गाँसिएको हुन्छ भन्ने बिर्सन हुँदैन । संख्या स्थायी हुँदैन, तर भावना चाहिँ संख्याभन्दा संवेनदशील हुन्छ ।

माओवादीको घाउमा ओलीको मल्हम

एकताका वाइसिएल र युथफोर्सबीच देशभर झडप भइरहेका बेला भन्ने गरिन्थ्यो-एमालेको मुख छुच्चो, माओवादीको हात छुच्चो । पार्टी एकीकरण प्रक्रिया ठहरावमा पुगेका बेला जसरी माओवादी पंक्तिमा ‘एमाले हेजीमोनी’को लघुताभास छ, त्यसैगरी एमाले पंक्तिमा दम्भ प्रकट भइरहेको देखिन्छ । एमाले पंक्ति संख्यामा धेरै केन्द्रित हुनुभन्दा माओवादी पंक्तिको न जित्न किन नलाग्ने ? ओली स्वयंले आइतवार यो प्रश्नको जवाफ सांकेतिक रुपमा दिएका छन् ।

माओवादीबाट प्रकट भइरहेको यही चासो सम्बोधनका लागि हुन सक्छ, ओलीले सभागृहको सम्बोधनमा माओवादीका घाइते र अपांग योद्धाहरुप्रति सम्मानमात्र प्रकट गरेनन्, उनीहरुको उपचार र रेखदेखमा सरकारले नै सोच्नेसम्मको अर्थपूर्ण अभिव्यक्ति दिएका छन् । उनले यसो भन्दा हलभित्र माओवादी कार्यकर्ताले ताली बजाएर स्वागत गरे ।
यसबाट के बुझ्न सकिन्छ भने एमाले माओवादी एकीकरण दुईवटा पार्टी एक हुने कुरामात्र होइन । प्राविधिकरुपमा दुई पार्टी मिल्दैमा मान्छेका मन मिल्दैनन् । विशेष गरी माओवादी पंक्तिले एमाले पंक्तिबाट सम्मानजनक, समानतामा आधारित वा न्यायोचित जे भने पनि हेजीमोनीमुक्त सम्बन्ध हो ।

ओलीले शरीरमा गोली बोकेर बसिरहेका माओवादी योद्धाहरुको उपचारको कुरा गर्दामात्रै पनि माओवादी पंक्तिले सम्मान महशुस गरेको छ । बेपत्ता र अपांगहरुलाई सम्झना गर्दामात्र पनि माओवादी कार्यकर्ताले न्यायको अनुभूति गरेका छन् । सम्भवतः माओवादीले भनिरहेको समानतामा आधारित र सम्माजनक एकताको अन्तर्य यसमा पनि गाँसिएको छ ।

ब्यानर काण्ड नियत कि नियति ?

पार्टी स्थापना दिवसका अवसरमा उत्पन्न भएको ब्यानर काण्ड पनि हेजीमोनीकै अभिव्यक्ति हो । केपी ओली र प्रचण्डले पार्टी एकता संयोजन समितिको नाममा एउटै कार्यक्रम गर्ने र एकताबारे सकारात्मक सन्देश दिने निर्णय गरे ।

व्यवस्थापकीय काममा माओवादी भन्दा एमाले निकै चुस्त र व्यरोक्र्याटिक पार्टी हो । त्यसैले कार्यक्रम आयोजना र व्यवस्थापन पक्षको जिम्मा पनि एमाले केन्द्रीय कार्यालयले पायो ।

अघिल्लै दिन मिडियाकर्मीहरुलाई पठाएको निम्तोपत्रमै ब्यानरको ढाँचा जुन थियो, भोलिपल्ट कार्यक्रमस्थलमा त्यही टाँगिएको थियो । संयोजन समिति आयोजक भनिए पनि ब्यानर हेर्दा एमाले हावी भएको प्रष्टै देखिन्थ्यो ।

माओवादी पंक्तिको आपत्ति लेनिनको फोटो नभएको भन्दा पनि ब्यानरमा पुष्पलाल, मनमोहन र मदन भण्डारीको फोटो राखिएकोमा थियो । त्यहाँ माओवादीको नाममा ‘माके’ लेखिएको थियो, जुन माओवादीलाई जिस्काउँदा प्रयोग गर्ने गरिएको छ । यद्यपि एमाले पक्षले नियतवश त्यस्तो ब्यानर नबनाएको दाबी गरेको छ ।

लेनिन जयन्तीको कार्यक्रममा लेनिनको फोटो नराखिनु राम्रो निहुँ बन्यो । तर, त्यसअघि नै वाइसीएल अध्यक्ष रामप्रसाद सापकोटाले एमाले केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठलाई फोन गरेर ‘त्यो ब्यानर राखे कार्यक्रम बिथोलिने’ चेतावनी दिइसकेका थिए । अनलाइनखबरसँगको कुराकानीमा पनि उनले मनमोहन अधिकारी र मदन भण्डारीको फोटो राखिएकोमा आफूहरुको आपत्ति रहेको प्रष्ट पारे ।

ब्यानर काण्डको अन्तर्य यतिमात्र पनि होइन । माओवादी कार्यकर्ताको एउटा पंक्ति आफ्नो शीर्ष नेतृत्व एमाले सामु निरीह बनेको वा एमाले दिने र माओवादी लिने ‘पोजिशन’मा बसेको पटक्कै रुचाउँदैन ।

केही दिनअघि प्रचण्ड निवासमै गएर सापकोटा नेतृत्वकै युवा टोलीले विधानमा जनयुद्ध र संगठनमा ५०/५० नभए पार्टी एकता स्वीकार्य नहुने चेतावनी पनि दिएको थियो ।

आइतवारको ब्यानर काण्ड र हुलदंगा त्यही आन्तरिक जनवादको उच्चतम अभ्यास थियो । जुन हुलदंगाले एकबजे निर्धारित कार्यक्रम ३ घण्टा रोकियो र ओली-प्रचण्डलाई कमजोरी स्वीकार्न दबाब दिँदै दुईवटा ब्यानरमुनि बस्न बाध्य पार्‍यो ।

यो घटनालाई माओवादी कार्यकर्ताले आफ्नो जितको रुपमा लिएका छन् । वाइसीएल अध्यक्ष सापकोटाले नेताले बिचार नगरे युवाले छाड्दैनन् भनेर ब्यानर काण्डलाई पुष्टि गर्न खोज्नु यसको द्योतक हो ।

एमाले नेताहरुले नियतवश ब्यानर बनाइएको होइन भनेका छन् र यसलाई माओवादी नेताहरुले स्वीकार गरेका छन् । कुरा यतिमात्र हो कि पार्टी एकताका सन्दर्भमा प्रयोग हुने प्रत्येक शब्द र ब्यानरमा दुवै पक्षले आफ्नो भावना समेटिएको हेर्न चाहेका छन् । यदि उक्त कार्यक्रमको व्यवस्थापनमा दुवै पार्टीका नेताहरुको सहभागिता थियो भने सायद लेनिनको फोटो खड्किने थिएन ।

संख्या भन्दा आत्मसम्मान ठूलो

पार्टी एकीकरण गर्दा कसले कति केन्द्रीय सदस्य पाउने भन्ने प्राविधिक विषय नेताहरुले मिलाउँदा भुइँ तहका कार्यकर्ताका लागि त्यति ठूलो सरोकार नहुन सक्छ । तर, एक अर्काको बिरासतको सम्मान ठूलो कुरा हो ।

माओवादी पंक्तिको यो संवेदशीलताप्रति एमाले पंक्ति कति जिम्मेवार बन्छ ? त्यसले पार्टी एकीकरण र त्यसपछिको स्थायित्वलाई निर्धारण गर्छ ।

पार्टी एकीकरणका सन्दर्भमा माओवादीले मागेको संख्याको ५०/५० हिस्सा अहिलेको अवस्थामा दुनियाले पनि पचाउने कुरा होइन । आजको अवस्थामा एमाले ६५ प्लस र माओवादी ३५ प्लसको हैसियतका पार्टी हुन् । सम्भवतः माओवादीको बार्गेनिङ कम्तिमा ६०/४० को हैसियत कायम राख्नका लागि हुन सक्छ । संख्याको कुरा नेताले मिलाउन सक्छन्, तर भावनाको कुरा चाहिँ कार्यकर्तासम्मै मिल्नुपर्छ ।

प्रचण्डको व्यवस्थापन नै अहिले एकीकरण लम्बिनुको मुख्य कारण हो भन्ने पनि चर्चा छ । २ वर्षपछि हुने महाधिवेशनबाट आफू अध्यक्ष हुने ग्यारेन्टी र ३ वर्षपछिको प्रधानमन्त्री प्रचण्डको मुख्य सरोकार हो । प्रचण्डको सरोकार कसरी सम्बोधन गर्ने भन्नेमा ओलीलगायत एमालेका शीर्षनेताको बढी भूमिका हुन्छ ।

तर, मुक्ति वा मृत्यु भनेर माओवादी आन्दोलनमा लागेका कार्यकर्ताहरुको सरोकार सम्बोधन गर्नुचाहिँ सिंगो एमाले पंक्तिको पनि दायित्व हो । किनभने नेतालाई पदले मिलाउन सकिएला तर कार्यकर्तालाई मनले मिलाउनुपर्नेछ ।

हेमिङ्वेलाई सम्झेर..

र, अन्तमाः

बीसौं शताव्दीको महान साहित्यकार अर्नेस्ट हेमिङ्वेले नोबेल पुरस्कार बिजेता आफ्नो उपन्यास ‘द ओल्ड म्यान एण्ड द सी’ को अन्तिम प्याराग्राफमा लेखेका छन्- मान्छे पराजित हुनका लागि बनेको होइन, एउटा मान्छे सिद्धिन सक्छ, तर कहिल्यै पराजित हुँदैन ।

पार्टी एकीकरणबाट पछि नहट्ने चरणमा पुगिसकेका एमाले र माओवादीका नेताहरुले हेमिङवेको यही पंक्ति स्मरण गरेमात्रै पनि सम्मानजनक, समानता र न्यायोचित एकीकरण कुनै आइतवारको कुरा होइन । किनकि, आकारमा एमाले ठूलो र माओवादी सानो जनताले बनाइदिएको यथार्थ हो । तर, त्योभन्दा ठूलो कुरा विगतप्रतिको सम्मान, वर्तमानमा समानता र भविष्यप्रतिको सुनिश्चितता नै हो ।

यति कुरा आत्मसात गरेमा एमाले माओवादी एकीकरण प्रक्रियामा अरु ब्यानर काण्ड दोहोरिने छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment