Comments Add Comment

नर्भिकको रजत महोत्सवमा वरिष्ठ चिकित्सक अभिनन्दित


९ वैशाख, काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलले मुलुकको स्वास्थ्य सेवाको क्षेत्रमा अतुलनीय योगदान गरेबापत १४ जना वरिष्ठ चिकित्सकलाई दीर्घ योगदानबाट अभिनन्दन गरेको छ ।|

अस्पताल स्थापनाको रजत महोत्सवका अवसरमा शनिबार अस्पताल प्राङ्गणमा आयोजित विशेष समारोहमा उनीहरूलाई अभिनन्दन गरिएको हो ।

मारोहमा प्रमुख अतिथि प्रदेश नं ३ का प्रमुख अनुराधा कोइरालाले वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा. डा. डि.बी. कार्की, डा. गोपालप्रसाद आचार्य, डा. श्यामबहादुर पाण्डे, वरिष्ठ प्रसूति तथा स्त्रीरोग विशेषज्ञहरु डा. सरस्वती पाध्ये र डा. दिव्यश्वरी मल्ल, वरिष्ठ छातीरोग विशेषज्ञ डा. गौरी शङ्करलाल दास, वरिष्ठ शल्यचिकित्सक तथा स्नायु शल्य चिकित्सक डा.दिनेशनाथ गोङ्गल, डा. एस. के. भट्टाचार्य र वरिष्ठ बालरोग विशेषज्ञहरु डा. हेमाङ्गमणि दीक्षित र डा. मणिन्द्ररञ्जन बराललाई अभिनन्दन गरिन् ।
साथै उनले अस्पतालमा दीर्घ सेवा गरेका चारजना कर्मचारीलाई सम्मान गरिन् ।

रजत महोत्सवको अवसर पारेर अस्पतालले अत्याधुनिक सुविधायुक्त चार शैयाको हेमोडाइलाइसिस सेवा पनि आजैदेखि शुभारम्भ गरेको छ । उक्त सेवाको प्रदेश प्रमुख कोइरालाले उद्घाटन गरिन् ।

सेवाका विशेषताबारे नर्भिकका वरिष्ठ नेफ्राेलोजिष्ट डा. राजेन्द्र अग्रवालले जानकारी दिए । पच्चीस वर्षे यात्रामा नर्भिकले पार गरेका विविध आरोहअवरोहलाई समेटेर प्रकाशन गरिएको ‘नर्भिक माइलस्टोन’ को पनि प्रदेश प्रमुख कोइरालालेे विमोचन गरिन् ।

समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि कोइरालाले सन् २०३० सम्ममा सबैलाई स्वास्थ्य सेवा पुर्‍याउने तथा दिगो विकासका लक्ष्य हासिल गर्ने सरकारी प्रयासमा नर्भिकले गरेको योगदानको सराहना गरिन् ।

उनले राष्ट्रको आजको आवश्यकता भनेको प्रविधि हस्तान्तरण, सेवा विविधिकरण, सार्वजनिक-निजी साझेदारीको विकासमा जोड दिँदै दिगो विकासका लक्ष्य हासिल गर्न निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताइन् ।

समारोहका सभापति एवं अस्पतालका अध्यक्ष वसन्तकुमार चौधरीले मुलुकभित्रै विश्वस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यका साथ अस्पताल स्थापना भएको बताउँदै नर्भिकलाई सोही अनुरुप विकास गर्न अस्पताल परिवार प्रतिबद्ध रहेको जानकारी दिए ।

अस्पतालका सद्भावनादूत एवं वरिष्ठ कलाकार हरिवंश आचार्यले औषधोपचारका लागि अथाह धनराशी विदेशिएको यथार्थ औँल्याउँदै त्यसो हुन नदिन नर्भिकले अनवरत रुपमा प्रवाह गरेको सेवा अनुकरणीय रहेको बताए ।

अस्पतालका प्रबन्ध निर्देशक मेघा चौधरी शाक्यले गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहलाई मूल मर्म एवं धर्म मानेर आफूहरुले इमानदारीपूर्वक काम गरिरहेको बताउनुभयो ।

तीस शैयाबाट नर्सिङ होमका रुपमा सेवा सञ्चालन गरेको निजी क्षेत्रको स्वास्थ्य सेवा प्रदायक संस्था नर्भिकले हालसम्म ५० लाख जनालाई बरिरङ्ग सेवा उपलब्ध गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment