Comments Add Comment

गोप्य कोठामा दुईघण्टा गलफत्तीः ओली- म उठेर जान्छु, प्रचण्ड- हिँड्ने भए हिँडौं !

विहानैको दम्भले दिनभरि लफडा

९ वैशाख, काठमाडौं । एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली हत्पती गल्ने नेता होइनन् । आइतबार राष्ट्रियसभागृहमा ब्यानर प्रकरणको लफडा हल गर्न बसेको दुई पार्टीको बैठकमा पनि ओली कडै रुपमा प्रस्तुत भए । उनले पुरानै ब्यानरमा कार्यक्रम नगरिए आफू उठेर हिँड्ने माओवादी नेतालाई धम्की दिए ।

कार्यक्रम कतिबेला सुरु होला भनेर हलमा कार्यकर्ताले व्यग्र प्रतिक्षा गरिरहेकै बेला सभागृहको एउटा कोठामा दुई दलका शीर्षनेताहरु बाझाबाझ गरिरहेका थिए । त्यहाँ दुई घण्टासम्म प्रचण्ड र ओलीवीच गलफत्ती पर्‍यो । केपी ओलीले म उठेर जान्छुभन्दा प्रचण्डले गए हुन्छ भन्ने जवाफ फर्काए ।

दिउँसो १२ बजे गर्ने भनिएको संयुक्त कार्यक्रम ४ घण्टापछिमात्रै गरिएको थियो । यति लामो समय ओली र प्रचण्ड लगायतका शीर्ष नेताहरु गोप्य कोठामा के गरेर बसे ? अनलाइनखबरले रहस्य फेला पारेको छ ।

ओली गलाउन खोज्ने, प्रचण्ड नगल्ने

कार्यक्रमस्थलमा टाँगिएको बोर्ड माओवादी कार्यकर्ताको विरोधका कारण झिकिएपछि कार्यक्रमस्थलकै एउटा कोठामा एकता संयोजन समितिको बैठक बसेको थियो । त्यहाँ झण्डै २ घन्टा गलफत्ती भयो । बाहिर कार्यकर्ताहरु छिटो कार्यक्रम सुरु गर भन्दै होहल्ला गरिरहेका थिए, भित्र नेताहरु आपसमा बाझिरहेका थिए ।

बैठकमा सहभागी एक नेताका अनुसार एमाले अध्यक्ष केपी ओलीले पुरानै ब्यानरमा कार्यक्रम गर्नुपर्ने अडान राखे । त्यो नभए कार्यक्रम नै नगर्ने प्रधानमन्त्री ओलीले धम्की दिए ।

माओवादी अध्यक्ष प्रचण्डले पनि पुरानै ब्यानर राख्ने हो भने संयुक्त कार्यक्रम नै नगर्ने अड्डी कसे ।

बैठकका क्रममा पटक-पटक ओलीले ‘म उठेर जान्छु, अब कार्यक्रम हुँदैन’ भनेका थिए । माओवादी अध्यक्ष प्रचण्डले पनि ‘हिड्ने भए हिँडौं भन्दै ओलीको प्रतिवाद गरे ।
‘हतारमा कार्यक्रम गर्दा प्रविधिक त्रुटी हुनु अन्यथा होइन तर, गल्ती भएको थाहा भएपछि सच्याउन जसरी आनाकानी गरियो, त्यो गम्भीर छ’ माओवादीका एक नेताले अनलाइनखबरलाई सुनाए, ‘अब स्ट्याण्ड नलिने हो भने हुन्न भनेर हामी पनि अडि्डयौं ।’

अर्को संयुक्त ब्यानर बनाएर कार्यक्रम गर्ने कुरा हुँदा पनि ओली अडि्कएका थिए । नयाँ ब्यानर बनाउन कति समय लाग्छ, बुझौं भन्दा पनि उहाँले मैले ब्यानर बनाउने होइन, कार्यक्रम भए यसमै हुन्छ, नभए हुन्न भनेर माओवादी नेताहरुलाई झाँटेको स्रोतले बतायो ।

दुई घन्टासम्म छलफल गर्दा पनि माओवादी नेताहरु नगलेपछि दुई बेग्लाबेग्लै ब्यानरमा कार्यक्रम गर्ने सहमति भयो । पहिले बनाइएको ब्यानर एमाले कार्यकर्ताले टाँगे भने माओवादीले अर्को ब्यानर टाँग्यो ।

र, ४ बजेदेखि कार्यक्रम सुरु भयो ।

‘एकता’को साटो ‘समानता’ को सन्देश !

पार्टी एकताको ‘संघार’मा पुगेका दुई कम्युनिष्ट घटक एमाले र माओवादीले ‘एकताको सन्देश दिन’ भन्दै राष्ट्रिय सभागृहमा कार्यक्रम आयोजना गरेका थिए । कार्यक्रमले सन्देश पनि दियो । तर, नेताहरुले भनेको जस्तो छिट्टै एकता भइहाल्छ भन्ने होइन कि सम्मानजनक एकता हुन्नुपर्छ भन्ने सन्देश गयो ।

माओवादीले सम्मानजक एकताभन्दा एमालेले ‘प्रचण्डलाई महाधिवेशनपछि अध्यक्ष हुने लेखेर दिन सकिन्न’ भनेको थियो । तर, कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा माओवादीले प्रचण्डको पदको सुरक्षा मात्र होइन, साँचो अर्थमा सम्माजनक एकता खोजेको सन्देश दिएको छ ।

प्राविधिक गल्तीले उदाङ्गो बनाएको ‘पेलाहा प्रवृत्ति’

नेताहरुका अनुसार दुई दलले संयुक्त कार्यक्रम गर्ने योजना आकस्मिक रुपमै बनेको थियो । एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डबीच केही दिनयता लगातार वार्ता भइरहेको थियो । त्यही क्रममा आइतबार पाटीृ स्थापना दिवसको अवसर पारेर संयुक्त कार्यक्रम गर्ने सहमति भएको थियो ।

[sam_list] तर, यसबारे न आयोजक बनाइएको थियो, न पार्टी एकता संयोजन समितिका सदस्यहरुसँग परामर्श भएको थियो, न त कसैलाई व्यवस्थापनको जिम्मा नै दिइएको थियो । दुई नेताले कार्यक्रम गर्ने सल्लाह गरे र उठे । त्यसपछि प्रधानमन्त्री ओलीले आफ्नो टिमलाई तयारी गर्न भने ।

नेताहरुका अनुसार सुरुमा दुबै दलले आ-आफ्नो कार्यक्रम गर्ने योजना बनाएका थिए । त्यसैले एमालेको टिमले आफ्नो पूर्वयोजना अनुसार बनाएको ब्यानरमा प्रचण्डको फोटो त राख्यो तर, माओ, लेनिनको तस्वीर छुट्यो ।

माओवादीका एक नेता यसलाई प्राविधिक त्रुटी मान्छन् । तर, जब हलबाट विरोध भयो र कार्यक्रमस्थलमा टाँगिएको बोर्ड हटाइयो, त्यसपछि एमाले नेता केपी ओलीको ‘पेलाहा प्रवृत्ति’ उदाङ्गो भएको माओवादी नेता बताउँछन् ।

ब्यानरका विषयमा एमाले नेताहरुले आइतबार बिहानैदेखि दम्भ देखाएको हुनाले सभास्थलबाटै जवाफ दिनुपरेको माओवादी नेताहरुको दाबी छ । वाइसीएलका अध्यक्ष रामप्रसाद शर्मा (दीपशिखा) ले आइतबार बिहानै एमाले नेता कृष्णगोपाल श्रेष्ठसँग सम्पर्क गरेर ब्यानर आफूहरुलाई मान्य नभएकाले सच्याउन आग्रह गरेका थिए ।

दीपशिखाले भने- ‘ब्यानरमा केपी ओलीको फोटो ठूलो र प्रचण्डको अलि सानो राखिएको थियो । माओवादी केन्द्रलाई होच्याएर ‘माके’ लेखिएको थियो । अनि लेनिन जयन्तीमा लेनिनको फोटो नराखी एमाले नेताहरुको तस्वीरमात्रै राखिएको थियो ।’

आफूले ब्यानरमा बिहानै आपत्ति जनाउँदै एमाले नेता श्रेष्ठले यो ब्यानर कुनै हातमा सच्चिँदैन भन्दै दिउँसो त्यही ल्याएर टाँगेको दीपशिखामले बताए । उनले भने, ‘एमालेजनले बिहानै हाम्रो आवाज सुनेको भए, दिउँसोको त्यो स्थिति आउने थिएन ।’

आफूहरुले सम्मानजनक एकता हुनुपर्छ भन्दै आएको थप पुष्टि भएको सापकोटाले बताए । साथै यो घटनाले एमालेभित्रको दम्भ छताछुल्ल भएको पनि उनले बताए ।
एमाले पक्षले भने माओवादी कार्यकर्तामा अराजकता देखिएको आरोप लगाएका छन् ।

प्रचण्ड र ओलीले मात्रै बोले

ब्यानरले विवादले झण्डै चारघन्टा ढिलो कार्यक्रम सुरु भएपछि अरु नेताहरुको नाम काटियो र दुई पार्टीका अध्यक्ष केपी ओली र प्रचण्ड मात्र वक्ता बने ।

झण्डै ४० मिनेट सम्बोधन गरेका माओवादी अध्यक्ष प्रचण्डले ब्यानर विवादलाई प्राविधिक त्रुटी मात्र भनेनन्, यो संवेदनशील विषय भएको बताए । समानता, सम्माजनक र न्यायोचित सिद्धान्तका आधारमा एकता गर्नुपर्नेमा जोड दिए ।

त्यसपछि एमाले अध्यक्ष ओलीले एक घन्टा सम्बोधन गरे । कम्युनिष्ट आन्दोलनको इतिहास सम्भिmन लामो समय खर्चिएका उनले पुष्पलाल श्रेष्ठ, मदन भण्डारी र मनमोहन अधिकारीलाई भिजनरी नेताका रुपमा प्रस्तुत गरे ।

तर, माओवादीलाई ‘सशस्त्र विद्रोह’ भनेर एकपटक मात्र चर्चा गर्नु अर्थपूर्ण भएको नेताहरु बताउँछन् ।

माओवादी एक नेता भन्छन्, ‘पार्टी एकता भनेको विचार र भावना पनि हो । तर, एमालेले पेलाहा प्रवृत्ति देखाएपछि यसरी हुँदैन रहेछ भन्ने होस् भनेर अडान लिएका हौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment