Comments Add Comment

पञ्चेश्वरमा सहमति खोज्न भारतीय टोली काठमाडौंमा


१० वैशाख, काठमाडौं । २३ वर्षदेखि चर्चामा रहेर पनि गति लिन नसकेको पञ्चेश्वर बहुउद्देश्यीय आयोजनालाई अगाडि बढाउन नेपाल र भारतले तदारुकता देखाएका छन् । यसकै लागि नेपाल र भारतका जलस्रोत अधिकारीको संयुक्त बैठक आजदेखि काठमाडौंमा शुरु हुँदैछ ।

पञ्चेश्वर विकास प्राधिकरणको नीति तथा कार्यक्रम तथा आर्थिक विषयलाई एकरुपता दिइ आयोजना अगाडि बढाउने लक्ष्यका साथ संयुक्त बैठक हुन लागेको हो ।

पञ्चेश्वर आयोजनाको विस्तृत परियोजना प्रतिवेदनमा मतैक्यता कायम हुन सकेको छैन । आयोजनाबाट उपलब्ध हुने पानीको विषयमा दुई देशबीच विवाद छ ।

भारतीय पक्षले तल्लो शारदा बाँधमा उपलब्ध हुने पानीको मात्रामा तलमाथि हुन नहुने विषय उठाउँदै आएको छ भने नेपालले समानताका आधारमा पानी उपलब्ध हुनुपर्ने अडान राख्दै अाएकाे छ ।

यही कारण विस्तृत परियोजना प्रतिवेदन टुंगिन सकेको छैन । बैठकले यिनै विवादित विषयमा सहमति जुटाउने अपेक्षा गरिएको छ ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत महेन्द्र गुरुङले रासससँग भनेका छन्, ‘सोमबारदेखि शुरु हुने बैठकमा प्राधिकरणको प्रशासनिक, आर्थिक तथा कानूनी विषयमा छलफल गर्ने र सहमति जुटाउने कार्यसूची छ ।’

त्यस्तै विस्तृत परियोजना प्रतिवेदनका सम्बन्धमा समेत आवश्यक सहमति जुटाउन अर्को बैठकको मितिसमेत तय गर्ने विश्वास लिइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत चैत २३ गतेदेखि २५ गतेसम्म गरेको भारतको राजकीय भ्रमणमा क्रममा आयोजनाबारे कुराकानी हुने अनुमान गरिएकाे थियाे । तर यसबारे छलफल भएन ।

विगत २३ वर्षदेखि आयोजना चर्चामा आए पनि कुनै ठोस प्रगति हुन सकेको छैन । यस पटकको बैठकलाई फलदायी बनाएर आयोजना अगाडि बढाउने सोच नेपाल पक्षले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment