Comments Add Comment

सरकारसँग किरातीको माग– सीमामा पर्खाल लगाऊ, निजी सम्पत्ति नराख

साउन ७ गते राष्ट्रिय भेला, प्रदेश संयोजक पनि तोकियो


१० वैशाख, काठमाडौं । माओवादी केन्द्रबाट अलग भएका गोपाल किरातीले आफ्नो नेतृत्वमा राष्ट्रिय भेला आयोजक समिति गठन गरेका छन् । साथै नेताहरुको कार्यविभाजन गर्दै सातवटै प्रदेशको संयोजक पनि तोकिएको छ ।

लेनिन दिवस तथा नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसरमा किराती पक्षको बैठक बसेको थियो । बैठकमा किरातीले राजनीतिक तथा संगठनात्मक प्रतिवेदन पेस गरेका थिए जसमा मार्क्सवाद–लेनिनवाद–माओवादको रक्षा, प्रयोग र विकासमा जोड दिँदै ‘राष्ट्रिय समाजवादी क्रान्ति’को कार्यदिशामा अघि बढ्ने उल्लेख छ ।

साथै नेपाली जनतालाई ऋण मुक्त गर्न सम्पूर्ण वैदेशिक ऋण खारेज गर्ने, एकाधिकार चरित्रको जुनसुकै परियोजना राष्ट्रियकरण गर्ने र जनतामा निहित सार्वभौमसत्ताको अभ्यास गर्न सबैखाले निजी संस्था र सम्पत्तिलाई राज्यको स्थानीय तहमा समुदायकरण गर्ने प्रतिवेदनमा उल्लेख छ ।

भ्रष्टाचारी र बलात्कारीलाई मृत्युदण्डको व्यवस्था गर्ने, छिमेकीसँगको सम्बन्ध व्यवस्थित गर्न प्रत्येक स्थानीय तहमा एक भन्सार नाका खुलागरी बाँकी स्थानमा नेपाल-भारत सीमामा अग्लो पर्खाल वा काँडेतार लगाउने र अमेरिकी साम्राज्यवादविरुद्ध लड्न  ‘राष्ट्रिय प्रतिरोध क्रान्ति’का लागि तयारी गर्ने किराँतीले आफ्नो प्रतिवेदनमा उल्लेख गरेका छन् ।

बैठकले राष्ट्रिय भेला आयोजक समितिको प्रदेश संयोजक पनि तोकेको छ । जसअनुसार १ नं. प्रदेशमा विमल निरौला, २ र ३ नम्बर प्रदेशमा नजिबुल्ला अन्सारी, ४ नम्बर प्रदेशमा मोहन गुरुङ तथा ५, ६ र ७ नम्बर प्रदेशमा आलोक रायमाझी संयोजक तोकिएका छन् ।

आदिवासी जनजाति मोर्चा संयोजनको जिम्मा दिनेश राजवंशीलाई दिइएको छ ।

बैठकले पुष्पलाल श्रेष्ठ स्मृति दिवसको अवसरमा ०७५ साउन ७ गते पार्टीको प्रथम राष्ट्रिय भेला आयोजना गर्ने निर्णय गरेको नेता किराँतीले जानकारी दिए ।

किराँती समूहले नेत्रविक्रम चन्द ‘विप्लव’नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेताहरुमाथि लगाइएका मुद्दाहरु खारेज गर्न र आधिकारिक वार्तामा बोलाउन सरकारसँग आग्रह गरेका छन् । साथै नेपाल कम्युनिष्ट पार्टीलाई वार्तामा आउन पनि बैठकले आह्वान गरेको छ ।

त्यस्तै प्रचण्ड समूहको भण्डाफोर गर्ने र कम्युनिष्ट समूहहरुबीच एकताको लक्षमा दीर्घकालीन सयुंक्त मोर्चा निर्माण गर्ने निर्णय पनि किराँती समूहले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment