Comments Add Comment

टंक बुढाथोकीले के देखे ‘भाइरल व्वाई’ अशोक दर्जीमा ?

यूट्यूवमा भाइरल भएका बालक अशोक दर्जिको जीवन एकाएक बदलिएको छ । हिजोसम्म सडकमा उभिएर गीत गाउँदै पैसा बटुल्ने उनी अहिले स्कुल भर्ना भएका छन् र उनको स्वरमा पहिलो गीत पनि रेकर्ड भएको छ ।

झापाका संगीतकार टंक बुढाथोकी र डीजे रुपकको पहलमा उनलाई काठमाडौं ल्याएर गीत रेकर्ड गराइएको हो । अशोकलाई बुढाथोकीले ‘मन बिनाको धन ठूलो कि धन बिनाको मन’ बोलको आधुनिक गीत गाउन दिएका छन् ।

‘अत्यन्त चञ्चल स्वभावका भएकाले रेकर्डिङ गर्न अलि समय लाग्यो,’ बुढाथोकीले अनलाइनखबरसँग भने ।

सुर र तालमा निकै मिहिनेत गर्नुपर्ने देखिएको तर, भ्वाइस क्वालिटी राम्रो रहेको उनले प्रतिक्रिया दिए ।

अशोक अति विपन्न परिवारका बालक हुन् । उनका बुवा ज्यामी काम गर्छन् । खोला छेउमा अरुकै जग्गामा टहरा बनाएर उनको परिवार बस्छ । घरमा रेडियो, मोबाइल केही नभएकाले गीत सुन्ने माध्यम केही छैन । दर्जिलाई थोरै गीत मात्रै गाउन आउँछ । बाहिर निकै सुनेका केही गीतहरु मात्र उनले गाउन सिकेका छन् ।

बुढाथोकीका अनुसार अशोकको परिवारमा तीन दिदीबहिनी र उनी छन् । उनीहरु कोही पनि स्कुल जाँदैनन् । अशोक अक्षर चिन्दैनन् । एक देखि १० सम्म भन्न सक्छन् त्यत्ति हो । अक्षर नचिन्ने भएकाले गीत कन्ठ गराउन गाह्रो परेको बुढाथोकीले बताए । गीत रेकर्ड गराइएको भिडियो बुढाथोकीले यूट्यूवमा हालेका छन्, जुन अहिले ट्रेन्डिङमा छ ।

अशोकले गीत गाएको भिडियो यूट्यूवमा भाइरल भएपछि बुढाथोकीले डिजे रुपकसँग सल्लाह गरेका थिए । उनीहरुकै खर्चमा चार दिनअघि काठमाडौं ल्याइएको थियो । अशोकसँग उनका बाबु पनि आएका छन् । उनीहरुलाई कोटेश्वरको एउटा होटलमा राखिएको छ । गीत रेकर्ड सकिएपछि झापा फर्काइने बुढाथोकीले जानकारी दिए ।

मोरङको उर्लाबारीमा रहेको बेथेल एजुकेसनल एकेडेमीले उनलाई १० कक्षासम्म निशुल्क पढाइदिने भएको छ । अशोकलाई स्कुल ड्रेस र पाठ्यसामग्री उपलब्ध गराइएको छ । उनका दिदीबहिनीको पढाईको जिम्मेवारी पनि स्कुलले लिएको छ ।

‘अब हामी अशोकका अभिभावक भयौं, उनी र उनको परिवारलाई निरन्तर साथ-सहयोग दिनेछौं,’ बुढाथोकीले भने । साथै अशोकको परिवारलाई आर्थिक सहयोग गर्न पनि उनले सबैसँग आह्वान गरेका छन् ।

उनले अशोकसँग भविष्यमा एउटा राम्रो आधुनिक गीतका गायक बन्न सक्ने क्षमता रहेको आकलन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment