Comments Add Comment

ढाकाबाट गुडेका बस चार दिनमा धुलिखेल आइपुग्ने

नेपाल, भारत र बंगलादेशबीच सीधा बस सेवा शुरु हुँदै


१० वैशाख, काठमाडौं । तीन देशका ३० जना सरकारी अधिकारीहरुलाई लिएर दुईवटा गाडी बंगलादेशको ढाकाबाट काठमाडौंतर्फ प्रस्थान गरेका छन् ।

बंगलादेश, भुटान, इण्डिया नेपाल (बिबिआइएन) यातायात सम्झौता अनुरुप सोमवार विहानबाट त्रिदेशीय अन्तर्राष्ट्रिय बस सेवाको परीक्षण सवारी शुरु भएको हो । चार देशबीच सम्झौता भएका तीन वर्षपछि रुट परीक्षण शुरु भएको हो ।

दक्षिण एशियाली मुलुकहरु बंगलादेश,भुटान,भारत र नेपाललाई यातायात कनेक्टिभिटीबाट जोड्न रुट सर्भे तथा सवारी परीक्षणका सिलसिलामा दुईवटा बस ढाकाबाट अघि बढेको भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयका सिनियर डिभिजनल इन्जिनियर (उपसचिव) बिनोद भट्टराईले जानकारी दिए । उनी सहित बिभिन्न मन्त्रालयका ६ जना नेपाली अधिकारीहरु ती बसमा सवार छन् ।

ढाकाबाट अघि बढेका बस सोमवार साँझ बंगलादेश र भारतको सिमावर्ती रंगपुर शहरमा रहनेछन् । मंगलवार रंगपुरबाट अघि बढ्दै भारतको सिलिगुडीमा पुग्नेछन् भने बुधवार नेपालको भरपुरमा पुग्नेछन् । विहीवार तीन देशका ३० पाहुना सहित भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयका सचिव मधुुसुदन अधिकारीले काभ्रेको धुलिखेलम स्वागत गर्ने कार्यक्रम छ ।

बिबिआइन मोटर भेहिकल सम्झौता २०१५ मा भएको थियो । जसमध्ये भुटानको माथिल्लो सदनले सो सम्झौता अनुमोदन गरिनसकेका कारण रुट सर्भे तथा परीक्षणका क्रममा भुटान सहभागी छैन । नेपालको मन्त्रिपरिषदले लेटर अफ एक्सचेन्ज अनुमोदन गरेपछि सम्भवतः ६ महिनाभित्रमा नियमित चारदेशीय बस सेवा सन्चालन हुनेछ ।

सर्वसाधारण यात्रुका लागि वातानुलित बसमा वाइफाइ लगायतका सबै अन्तर्राष्ट्रिय मापदण्ड अनुरुपका सुबिधाहरु उपलव्ध हुनेछन् । बसको रुट ढाका–बंगलाबन्धु–सिलिगुडी, काँकडभिट्टा हुँदै काठमाडौं पुग्नेछ । ढाकाबाट अघि बढेका बसले काठमाडौंसम्म पुग्दा करीव १२ सय किलोमिटरको दूरी पार गर्नेछन् ।

काठमाडौंमा सम्पन्न अठारौं सार्क सम्मेलनमा भारतले सार्क मुलुकलाई एक अर्कासँग यातायात सम्पर्कबाट जोड्न सार्कका आठै मुलुकमा बस चलाउने प्रस्ताव राखेको थियो । तर पाकिस्तानले अश्वीकार गरेपछि नेपाल,भुटान,भारत र बंगलादेशीबीच यातायात सम्झौता भएको हो ।

यो रुटमा नियमित बस सेवा सन्चालन भएपछि नेपालबाट पूर्व भारत हुँदै ढाका र भुटान जान हवाइमार्गको आवश्यकता पर्ने छैन । बस भाडा लगायतका अन्य विषयमा भने निर्णय हुन बाँकी छ । शुरुमा दुई तीनवटा बसबाट सेवा प्रारम्भ हुनेछ । चारवटै देशले बराबरी संख्यामा बस सन्चालन गर्नेछन् ।

भौतिक पुर्वाधार तथा यातयात मन्त्रालयका सहसचिव केशव शर्माका अनुसार यो पहिलो प्राविधिक परीक्षण हो । ‘ट्रायल रन’ का आधारमा रुट परीक्षण हुनेछ । त्यससपछि भन्सार, अध्यागमन लगायतका प्रक्रिया पूरा गरेर नियमित बस सन्चालन गर्न ६ महिनाजति लाग्न सक्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment