Comments Add Comment

त्रिशुलीको बिजुली काठमाडौं ल्याउन अवरोध !

आयोजनाको ७४ प्रतिशत काम सकिँदा ट्रान्समिसन लाइनमा अन्योल


१० वैशाख, काठमाडौ । नुवाकोटमा निर्माणाधिन माथिल्लो त्रिशुली थ्रीए जलविद्युत आयोजनाको ७४ प्रतिशत काम सकिएको छ । नेपाल विद्युत प्राधिकरणले निर्माण गरिरहेको यो आयोजनाबाट आगामी आर्थिक वर्ष ०७५/७६ को अन्त्यसम्म विद्युत् उत्पादन गर्ने लक्ष्यसहित काम अघि बढाएको छ ।

आयोजना प्रमुख फणिन्द्रराज जोशीका अनुसार अहिले सुरुङको पिँधमा कन्क्रिटिङ गर्ने काम भइरहेेको छ । ६० मेगावाट क्षमताको यो आयोजनाको निर्माण ०७२ बैशाखको भूकम्पका कारण प्रभावित बनेको थियो ।

भूकम्पपछिको ड्यामेज एसेसमेन्ट गरेर अहिले दुईवटा गेटको मर्मतको काम पनि अन्तिम चरणमा पुगेको छ ।

भूकम्पका कारण पहुँचमार्ग बिग्रेपछि निर्माण कम्पनी चाइना गेजुवा ग्रुप अफ कम्पनी (सीजीजीसी)ले काम अघि बढाउन सकेको थिएन । नेपाली सेनाले पहुँच मार्ग निर्माण गरिदिएपछि सीजीजीसीले निर्माणको काम द्रुत रुपमा अघि बढाएको छ ।

गत असोजमा समयसीमा भन्दा ४ दिनअघि निर्माण कम्पनीले सुरुङ खन्ने काम सकेको थियो । ४.०७६ किमी लामो सुरुङमध्ये भूकम्प आउनुअघि ३.८९ किमी खनिसकिएको थियो ।

चिनियाँ एक्जिम बैंकको आठ अर्ब ९० करोड ऋणमा निर्माण हुन लागेको यो आयोजनालाई आउँदो असारसम्म जसरी पनि सक्न जलस्रोत, उर्जा तथा सिँचाई मन्त्रालयले निर्देशन दिएको छ ।

ट्रान्समिसन लाइनमा स्थानीयको अवरोध

आयोजनास्थलमा निर्माणको काम द्रुत गतिमा अघि बढे पनि ट्रान्समिसन लाइन निर्माणको काम भने सन्तोषजनक देखिँदैन । स्थानीयहरुसँगको मुआब्जा विवादका कारण कैयन स्थानमा आयोजनाले ट्रान्समिसन लाइन निर्माणका लागि फाउन्डेसनको काम समेत सुरु गर्न सकेको छैन ।

नुवाकोटमा निर्माणाधीन यो आयोजनाले १४२ वटा टावरको निर्माण गर्नुपर्छ, जसमध्ये ७० वटा टावर ठडिइसकेका छन् । यी टावरसहित ११० वटा टावरको फाउण्डेसनको काम पनि सकिएको छ । साथै थप १० वटा टावरमा अहिले फाउण्डेसनको काम भइरहेको छ ।

स्थानीयहरुले सरकारले निर्धारण गरेको मुआब्जामा चित्त बुझाएका छैनन् । ०७० सालमै सरकारले उक्त क्षेत्रको मुआब्जाको टुंगो लगाएको भए पनि स्थानीयहरुले अहिलेसम्म रकम बुझ्न मानेका छैनन् ।

जसका कारण आयोजनाबाट विद्युत उत्पादन सुरु हुँदासम्म पनि प्रसारण लाइनको निर्माण नसकिने हो कि भन्ने चिन्ता बढेर गएको छ ।

‘शान्तिबजारदेखि त्रिशुली थ्री-बी हबसम्मको भागमा १३२ केभीका ६ वटा टावर ठड्याउनुपर्छ, जुन स्थानीयको विरोधका कारण फाउण्डेसनको कामसमेत सुरु गर्न सकेका छैनौं’ जोशीले भने ।

स्थानीय निकायका जनप्रतिनिधिहरुसँग पनि आयोजनाले मुआब्जाको विषयमा पटक-पटक छलफल गरिरहेको छ । तर, स्थानीयहरु भने सरकारले निर्धारण गरेेको मुआब्जामा चित्त बुझाउने कुनै छाँटकाँट नै देखाएका छैनन् ।

थानकोटमा रहेको पात्लेवन रिसोर्टले पनि आफ्नो क्षेत्रमा टावर ठड्याउन मानिरहेको छैन । बाणभञ्ज्याङदेखि मातातीर्थसम्मको भागमा पर्ने यो क्षेत्रमा १६ वटा टावर ठड्याउनुपर्छ । जसमध्ये ४१.५ नम्बरको उक्त टावर निर्माण गर्न रिसोर्टले रोकिरहेको छ ।

आयोजना प्रमुख भन्छन् ‘४१.४ नम्बरको टावर निर्माण गरिसक्यौं, ४१.६ को निर्माण सुरु गर्न लागेका छौं, अब पात्लेवन रिसोर्टले मुआब्जा बुझ्नैपर्छ, यसरी रोकेर बस्न पाइँदैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment