Comments Add Comment

घरेलु मैदानमा चम्केला दिल्लीको भाग्य ?


१० वैशाख, काठमाडौं । पाँच खेलमा चार हार, एक जित । टिम अंक तालिकाको पुछारमा । इण्डियन प्रिमियर लिग  (आईपीएल) मा जे भइरहेको छ त्यो दिल्ली डेयरडेभिल्सका लागि सुखद छैन ।

यसैले दिल्ली आज किंग्स इलेभेन पञ्जाबविरुद्ध घरेलु मैदानमा आफ्नो भाग्य फेर्न चाहन्छ । पञ्जाबलाई पराजित गरेर पनि यसअघिको बाटो तय गर्न दिल्लीलाई सजिलो भने छैन । तर, घरेलु मैदानमै पराजित हुन पुगे दिल्लीको सपनामा थप धक्का लाग्नेछ ।

पञ्जाब पाँच खेलमध्ये चारमा जित र एकमा हारसहित अंक तालिकाको दोस्रो स्थानमा छ । यसअघिका खेलमा ओपनिङ ब्याटिङमा क्रिस गेल र केएल राहुलको ब्याट राम्ररी चलेको छ । गेलले तीन खेलमै १७० भन्दा बढीको स्ट्राइक रेटमा २२९ रन बनाएका छन् । राहुलले ५ खेलमा १८३ को स्ट्राइक रेटमा २१३ रन बनाएका छन् ।

दिल्लीले आफ्नो बलिङमा भनेजस्तो गर्न सकेको छैन । दिल्लीमा नेपाली खेलाडी सन्दीप लामिछाने पनि छन् । सन्दीपकै कारण नेपालमा दिल्लीको फ्यान पनि बढेका छन् । तर उनले अहिलेसम्म खेल्न भने पाएका छैनन् ।

पञ्जाबविरुद्ध दिल्लीले आफ्नै मैदानमा फरक रणनीति बनाएर जान आवश्यक देखिन्छ । पञ्जाबको मध्यक्रममा मयङ्क अग्रवाल, करुण नायर र आरोन फिन्चको ब्याट पनि रोकिएला जस्तो देखिँदैन ।

दिल्लीका ब्याटिङमा पनि रिसब पन्त र ज्यासन रोय आशलाग्दा देखिएका छन् । कोलकाताको खेललाई छाडेर हेर्ने हो भने दिल्लीको ब्याटिङमा आश गर्न सकिन्छ । साथै ग्लेन म्याक्सवेल आफूलाई फेरि प्रमाणित गराउन लालायित देखिएका छन् ।

दिल्लीका कप्तान गौतम गाम्भीरले यो सिजन आफूलाई सुधार गर्नुपर्ने प्रशस्त ठाउँ छ । उनले १०८ को स्ट्राइक रेटमा रन बनाएका छन् ।

दिल्लीले क्रिस मोरिसलाई जसरी प्रयोग गर्नुपर्ने हो उस्तो गर्न सकेको देखिँदैन । मोरिस आक्रामक देखिँदा दिल्लीलाई थप फाइदा हुनेछ । उनी अन्तिम अवस्थामा ब्याटिङमार्फत फिनिसरको रुपमा देखा पर्न सक्छन् ।

अन्तिम ओभरहरुमा बलिङमार्फत किफायती हुन सक्छन् । तर यो सिजन उनको खेल दर्शकले अनुभव गर्न पाएका छैनन् । जति गर्नुपर्ने हो उनी त्यसमा कमजोर देखिएका छन् ।

यसैले घरेलु मैदानमा हुने पहिलो खेलमा बलियो देखिएको टिमविरुद्ध जित निकाल्दै दिल्ली अघि बढ्न चाहन्छ ।

यसअघि सिजनकै दोस्रो खेलमा दिल्ली पञ्जाबसँग ६ विकेटले पराजित भएको थियो । टस हारेर ब्याटिङमा आएको दिल्लीले २० ओभरमा ७ विकेट मात्र जाँदा १६६ रन बनाएको थियो । १६७ रनको लक्ष्य पञ्जाबले १९ औँ ओभरमा ४ विकेट जाँदा पूरा गरेको थियो ।

उक्त खेलमा राहुलले १५ बलमै अर्धशतकको कीर्तिमान बनाएका थिए । गेलको स्थानमा मयंक अग्रवालले ओपनिङ गरेका थिए । आजको खेलमा राहुलसँगै गेलको ब्याटबाट जोगिन पनि दिल्लीका बलरलाई सहज छैन । नायरले पनि ३३ बलमा ५० रन हानेर दिल्लीलाई कमजोर पारेका थिए ।

सम्भावित ११ खेलाडी

दिल्ली – ज्यासन रोय, गौतम गाम्भीर, श्रेयस ऐयर, रिसब पन्त, ग्लेन म्याक्सवेल, विजय शंकर, क्रिस मोरिस, राहुल तेवाटिया, सहबाज नदिम या जयन्त यादव, हर्सल पटेल, ट्रेन्ट बोल्ट ।

पञ्जाव – केएल राहुल, क्रिस गेल, मयंक अग्रवाल, करुण नायर, आरोन फिन्च, युवराज सिंह, आर आश्विन, मुजिब उर रहमान, एन्ड्रीउ टाय, बरिन्दर श्रान, मोहित शर्मा या अंकित राजपुत ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment