Comments Add Comment

कपिल शर्माः आकाशदेखि जमिनसम्मको यात्रा

कमेडियन कपिल शर्मा आकाशमा नै थिए । आकाशमै उनको लफडा पर्‍यो । जसै उनले अवतरण गरे, त्यसपछि कहिल्यै उडान भर्न सकेनन् ।

कपिल शर्माले हवाई यात्रामा आफ्ना सहकर्मी सुनिल ग्रोवरमाथि दुर्व्यवहार गरे । यो त्यहीबेलाको कुरा, जतिबेला कपिल लोकप्रियताको उत्कर्षमा थिए । उनीसँग के थिएन ? नेम थियो फेम थियो । बलिउडका एक से एक सेलिब्रेटी उनका पाहुना थिए । कपिलको स्टेज शो, ‘द कपिल शर्मा शो’ बलिउडकर्मीको लागि लोभलाग्दो प्लेटफर्म थियो । उनीहरु आफुतर्फ ध्यानार्कषण गराउनदेखि फिल्मको प्रमोशन गर्नसम्म कपिलको स्टेज पर्खेर बस्थे ।

कपिल यसै नामी थिए । साथसाथै उनको कमाइ पनि लोभलाग्दो थियो । भनौं, कपिललाई अपुग केही थिएन ।

तर एउटै कुरा पुगेन, ढंग । जति-जति लोकप्रिय हुँदै गए, उनमा पनि घमण्डको पारो बढ्दै गयो । उनी अहंकारले फुलिए । त्यो उचाइमा पुगेपछि एक किसिमको घमण्ड बढ्नु स्वाभाविक हो, तर त्यसलाई कसरी दबाउने भन्ने कुरामा उनको ढंग पुगेन ।

उनले आफ्नै सहकर्मीमाथि लात्ती-मुक्का बर्साए । त्यो पनि सार्वजनिक रुपमा । मुखमा आएजति गाली गरे । हो, यही बिन्दुबाट कपिललाई दशा लाग्यो । त्यसपछि उनको यात्रा अधोँगतिमा दौडियो । एकपछि अर्को बिफलताले उनलाई छाड्दै छाडेन । आखिरमा उनलाई गलाएरै छाड्यो ।

एकातिर त्यतीका चर्चित शो बन्द भयो । अर्कोतिर, उनी अभिनित फिल्मले हावा खायो । यसबीचमा उनी बिमारी भए । भनियो, डिप्रेसनले गाँज्यो । उपचारबाट फर्केपछि पनि नानाथरी लफडामा फसे । कहिले गर्लफ्रेन्डसँगको कुराले त कहिले सहकर्मीसँगको कुराले उनलाई बिबादमा ल्याइरह्यो ।

अधोगतिमा करियर

कुनैबेला कपिल शर्माको समाचारमा बेग्लै उत्साह हुन्थ्यो, उमंग हुन्थ्यो । अहिले उनको समाचारमा विवाद र लफडाभन्दा केही हुँदैन ।

केही समयअघि उनी पूर्व प्रेमिकासँगको आरोप-प्रत्यारोपको कारण चर्चामा आए । पूर्व प्रेमिका बिरुद्ध उनले प्रहरीमा उजुरी गरेको समेत खबर आयो ।

त्यसपछि उनले सुरु गरेको नयाँ कमेडी शोले हावा खाएको खबर फैलियो । उक्त शो दुई हप्तामै अफ एअर भएको चर्चा छ ।

अहिले कपिल एक्लिदैछन् । उनले जुन साथीहरुको टेकोमा आफ्नो करियरलाई उचाईमा पुर्‍याएका थिए, ति टेकोहरु अहिले उनीबाट अलग हुँदैछन् । एकपछि अर्का सहकर्मीले साथ छाड्दै जाँदा कपिल एक्लो भएका छन् ।

कुनैबेला कपिलको समय थियो । टेलिभिजनहरुमा कपिल शर्मा शो पर्खेर बस्नेहरु कैयौं हुन्थे । भनिन्थ्यो, कपिल शर्माको शो हेरेरै कतिपय डिप्रेसनका रोगीहरु समेत निको भए । के पनि सुनिन्थ्यो भने, चिन्ताग्रस्त व्यक्तिलाई चिकित्सकले समेत कपिल शर्मा शो हेर्नका लागि सिफारिस गर्थे ।

भारतिय टेलिभिजनको सर्वाधिक चर्चित शो थियो, द कपिल शर्मा शो । असंख्यौं नेपाली पनि यसका दर्शक थिए ।

बलिउडका चल्तापूर्जा अभिनेता, अभिनेत्री, क्रिकेटरले समेत कपिल शर्मा शो हेर्ने गरेको पाइन्थ्यो । उनीहरु कपिल शर्माको स्टेजमा उभिन लालयित हुन्थे । उनको शोको टीआरपीले आकाश छोएको थियो । यससँगै उनी फिल्ममा समेत काम गरिरहेका थिए ।

तर, आज कपिलको करियर अधोँगतिमा लागेको छ । कति भन्छन्, यो उनको खराब नियतको परिणाम हो । कतिले भन्छन्, हरेकको जीवनमा यस्ता उथलपुथल आउँछ ।

कपिलकै सहकर्मी उपासना सिंह भन्छिन्, ‘फिल्म उद्योगमा हरेक कलाकार यस्ता चरणबाट गुजि्रन्छन् । एक समय उनीसँग अधिक काम हुन्छ र सफलताको सबैभन्दा उचाईमा पुग्छन् । अर्को चरणमा उनीहरु कामविहिन पनि हुनसपुग्छन् ।

विवादको भुमरीमा

भनिन्छ, सफलताको उचाईमा नाप्न जति गाह्रो त, उत्तिनै गाह्रो त्यहाँ टिकिरहन पनि । सफलताको टाकुरामा पुगेपछि त्यहाँ टिक्न कम्ता कठिन छैन ।

सफलतासँगै बिवादले पनि घेरा हाल्छ । तर, कपिललाई बिवादले त्यही चरणमा घेरा हाल्यो, जब उनी सुनिल ग्रोवरसँगको लफडामा परे । उनीहरुबीचको झगडा सुरुमा त मत्थर हुँदै थियो । सुनिलले पनि यस विषयमा खास केही बोलेकै थिएनन् । तर, पछि एकाएक सुनिलले कपिलको शोबाट बिदा लिए । उनीसँगै अन्य कलाकार पनि अलग भए । त्यसपछि भने कपिल एक्लिदै गए ।

आफ्ना सहकर्मीको साथ टुट्दै गएपछि कपिलले ‘द शकपिल शर्मा शो’मा केही नयाँ प्रयोग गरे, ताकि दर्शकको मन जित्न सकियोस् । तर, त्यसो भएन । ठीक यही समय उनलको नयाँ फिल्म ‘फिरंगी’ प्रदर्शनको तयारीमा थियो । यस फिल्मले उनको लोकपि्रयता फर्काउँछ भन्ने झिनो आशा थियो । तर, फिल्मको पि्रमियर शोदेखि नै कपिल आलोचित बन्न थाले । पि्रमियरका लागि उनले निमन्त्रणा गर्ने ढंग नपुर्‍याएकोमा कलाकर्मीहरुले उनलाई उडाउन सम्म उडाए ।

त्यसपछि उनको शो पनि बन्द भयो । फिल्मले हलमा हावा खायो । केही समयको विश्रामपछि उनी नयाँ टेलिभिजन शो लिएर फर्किए । तर, पुरानो लय समात्न सकेनन् । उक्त शोले पनि हावा खायो ।

कपिल डिप्रेसनमा ?

भयांकर उथलपुथलपछि कपिल शर्मा अस्पताल भर्ना भएको खबर बाहिरियो । उनी उपचारपछि घर फर्किए । कपिललाई यस्तो अवस्थामा चिन्ता हुनु स्वभाविक थियो । संभवत त्यही समस्याले उनलाई गाँज्यो । उपासना सिंहको दावीलाई पत्याउने हो भने, कपिल डिप्रेसनले ग्रस्त छन् ।

शारीरिक मानसिक तनावले कपिललाई डिप्रेसनको अवस्थामा पुर्‍याएको बताइन्छ ।

मन सफा भएकै कारण समस्यामा

हिन्दी बिबिसीसँग कुरा गर्दै उपासनाले कपिलको बचाउ गरेकी छिन् । उनको भनाईको सार यस्तो छ, ‘कपिल मध्यमवर्गीय परिवारबाट आएका हुन् । उनको सबैभन्दा राम्रो खुबी भनेको ऊ सबैको ख्याल राख्छ । दिल सफा छ । ऊ दिलको कुरा लुकाउन सक्दैन । रिस, समस्या लुकाउन आउँदैन । यही कारण उनी यस्तो समस्यामा पर्ने गरेका छन् । ऊ मान्छे हो, भगवान होइन । उनलाई रिस उठ्नु स्वभाविक हो । रिस उठेको बेला मान्छेले आफ्नो होश गुमाउँछ ।’

पुराना साथीको रोजीरोटीका खातिर

‘लाप्टर च्यालेन्ज’बाट कपिलको साथी बनेका सुनील पल उनलाई एकदमै दिलदार मान्छन् । उनले भनेका छन्, ‘कपिल जब करियरको शिखरमा थिए, तब उनले कतिपय पुराना साथीलाई आफ्नो शोमा काम दिलाए । कतिलाई उसले केवल लेखकको टिममा राख्ने वा टिममा सामेल गरेर पैसा दिन्थे ताकि उनीहरुको रोजीरोटी चल्यो ।’

कपिल शर्माको शोका अहंम हिस्सा रहेका सुगन्धा मिश्राा खासमा कलेज जीवनमा कपिलका जुनियर थिए ।

जब ‘लाफ्टर च्यालेन्ज’को चौथो सिजनमा महिला सहभागीको खोजी भयो, तब कपिलले सुगन्धा मिश्रााको नाम सिफारिस गरे । सुगन्धाको परिवारले उनलाई मुम्बई पठाउन चाहेका थिएनन् । तर, कपिलले परिवारलाई सम्झाए र भरोसा दिलाए । तब सुगन्धा मुम्बई आइन् र कपिल शर्मा शोको हिस्सा बनिन् ।

हुन त अहिले सुगन्धा कपिलसँग छैनन् । यद्यपी उनले स्पष्टसँग भनेकी छिन् कि, ‘कपिलसँग मेरो कुनै लडाई होइन । अहिले उनी सुनिल ग्रोवरको ‘दे दना दन’मा व्यस्त छिन् ।

लामो समयसम्म कपिलको शोमा जोडिएकी पूर्व म्यानेजर प्रीति सिमोन भन्छिन्, ‘एक व्यक्ति, जो नम्बर वान पोजिसनमा थिए, त्यहाँ कसरी पुगे ? म कपिललाई बुझ्छु । ऊ उत्कृष्ट कलाकार हो ।’

प्रीतिका अनुसार कपिल जहिलेसम्म उनका साथ थिए, तब सबै ठिक थियो । उनी कपिलप्रति हार्दिकतापूर्वक भन्छिन् कि, ‘उसले आफ्नो स्वास्थ्यको ख्याल राखोस् । बाँकी कुरा आउँछ, जान्छ ।’

उतार-चढावले भरिएको यात्रा

कपिलले २००७ मा लाफ्टर च्यालेन्ज-३ जितेर करियर थालेका थिए । २०१३ मा ‘कमेडी नाइट्स विथ कपिल’ सुरु गर्नुअघि उनी कमेडी सर्कसका हिस्सा थिए ।

‘कमेडी नाइट्स विथ कपिल’ले उनको क्षमतालाई दुनियाँसामु चिनाइदियो । तीन बर्षसम्म शो नम्बर वान रह्यो र कपिल शर्मा भारतको हरेक घर-घरमा परिचित बने ।

यस कार्यक्रमको लोकप्रियता यसबाट पनि झल्कन्छ कि, दर्शकले गुतथी, दादी, पलक र बुआको भूमिका निर्वाह गर्ने सुनील ग्रोवर, अली असगर, कीकू शारदा र उपासना सिंहलाई उनीहरुको असली नामबाट भन्दा शोको नामबाट बढी चिने ।

शोको लोकपि्रयता देखेरै बलिउडका हस्तिहरु आफ्ना फिल्म प्रमोशनका लागि त्यहाँ पुग्न थाले ।

शाहरुख, सलमान, अक्षयकुमार, अमिताभ बच्चन, अनुष्का शर्मा, अनिल कपूर, दीपिका पादुकोण, सोनाक्षी सिन्हा, विद्या बालन, पि्रयंका चोपडा, रणबीर कपूर, धर्मेन्द्र, जितेन्द्र जस्ता एक से एक स्टार शोमा पुग्न थाले ।

फिल्म क्षेत्रबाहेक खेल जगतका हस्ती समेत उक्त शोका निम्तालु बनेर पुगे । शानिया मिर्जा , शोएब अख्तर, हरभजन सिंह जस्ता चर्चित अनुहार कार्यक्रममा सहभागी भए । त्यही शोले कपिल शर्मालाई नेम र फेम दियो । उनी सेलिब्रेटी बने ।

उनले करण जोहरसँग ६० औं फिल्मफेयर अवार्ड शो होस्ट गरे । २०१५ मा अब्बास मस्तानको निर्देशनमा पहिलो फिल्म ‘किस किस को प्यार करुँ’मा काम गरे । भलै फिल्मले अपेक्षित व्यापार गरेन ।

२०१६ मा कलर्स च्यानलबाट आइरहेको कपिलको शो बन्द भयो । उनले सोनी च्यानलसँग ‘द कपिल शर्मा शो’ सुरु गरे, जसमा चम्पू शर्मा, डाक्टर मशहूर गुलाटी, रिंकु देवी र नानी जस्ता चरित्रलाई अत्यधिक रुचाइयो ।

तर, त्यही वर्ष कपिल शर्मा विवादको घेरामा परे, जब उनले बिएमसिका कर्मचारीमाथि घुसखोरीको आरोप लगाउँदै नरेन्द्र मोदीको ट्वीटरमा ट्याग गरे । त्यसपछि उनको ओशिवाडा अफिसमा भएको अवैध निर्माणको प्रसंग बाहिरियो । अहिले कपिलले दावी गरिरहेका छन् कि, उक्त भवन निर्माण स्विकृत प्लान अनुसार भएको थियो ।

२०१७ मा कपिल शर्माको एक भिडियो भाइरल भयो, जसमा उनले सह कलाकार सुनिल ग्रोभरमाथि अभद्र भाषा प्रयोग गरेक थिए । यही विवादको कारण सुनिल ग्रोवर लगायतका कालकारले कपिलको शोबाट हात झिके ।

त्यसबेला कपिल आफ्नो दोस्रो फिल्म फिरंगीमा व्यस्त भए । फिल्म फ्लप भयो । कपिल टिभी शोमा  फर्कने प्रयास गरे तर, त्यसमा पनि उनले लय समातन सकेनन् ।

अहिले फेरि उनी नयाँ विवादमा फसेका छन् । उनले एक पत्रकारलाई ट्वीटमार्फत आरोप लगाएर कथित पत्रकारले आफुलाई गिराउने प्रयास गरिरहेको बताएका छन् । पत्रकारले भने कपिलले आफुलाई फोन गरेर गाली गरेको आरोप लगाएका छन् ।

कपिलका लाखौं, करोर्डौं प्रशंसक दुःखी हुनु स्वभाविक हो । मध्यमबर्गिय परिवारबाट आएका कपिलले करियरको त्यो उचाईसम्म पुग्न जुन संघर्ष गरे, त्यो अनुकरणिय थियो । उनको संघर्ष यात्रा सजिलो थिएन ।

अहिले पनि उनका प्रशंसक चाहन्छन् कि, कपिल पुरानो लयमा फर्कियोस् । पुराना सहकर्मीसँग मिलेर उनी त्यही मन्चमा देखियोस् । तर, यसका लागि उनलाई कहिलेसम्म पर्खनुपर्ने हो ? – एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment