Comments Add Comment

डा. गोविन्द केसीले भने : ओली सरकार निरंकुश र लुटतन्त्रवादी

‘अब माइतीघर मण्डलामा बस्छु, त्यहीँ पक्डिउन्’


११ वैशाख, काठमाडौं । डा. गोविन्द केसीले अहिलेको सरकार निरंकुश एवं स्वेच्छाचारी भएको बताएका छन् । माइतीघर मण्डलामा प्रदर्शन गर्न नदिने सरकारी निर्णयलाई डा. केसीले निरंकुशताको पहिलो अभ्यास भन्दै आफूले यो निशेधाज्ञा तोडेरै छाड्ने बताए ।

लोकतन्त्र दिवसको पूर्वसन्ध्यामा अनलाइनखबरसँग संक्षिप्त कुराकानी गर्दै डा. केसीले भने– ‘अहिले दुईतिहाइवाला सरकार छ । सबै पार्टीहरु आफूलाई प्रजातन्त्रवादी लोकतन्त्रवादी भन्छन् । यिनीहरु आफूलाई समाजवादी भन्छन्, साम्यवादी भन्छन् । तर, यिनीहरु न समाजवादी हुन्, न साम्यवादी हुन् । यिनीहरु लुटतन्त्रवादी हुन् । यिनीहरुलाई लोकतन्त्रको मूल्य मान्यता पनि थाहा छैन, मर्म पनि थाहा छैन ।’

माइतीघर मण्डलामा कार्यक्रम गर्न नदिने गरी सरकारले लगाएको निशेधाज्ञा फिर्ता लिनुपर्ने डा. केसीले बताए । उनले भने, ‘उनीहरुले यो निर्णय फिर्ता लिनुपर्छ, होइन भने म त जान्छु माइतीघरमा । म त्यहीँ गएर विरोध कार्यक्रम गर्छु ।’

तीन दिनअघि माइतीघर मण्डलामा आयोजित विरोध प्रदर्शनमा सहभागिता जनाएका डा. केसीले अब सरकारले १५ गतेभित्र निर्णय फिर्ता नलिए त्यहीँ बसेर आन्दोलन सुरु गर्ने बताए ।

‘अरु मुद्दाहरु पनि उठाउने मैले विज्ञप्ति पनि निकालिसकेको छु । १५ गतेसम्म अल्टिमेटम दिएको छु, त्यसपछि म डेफिनेट्ली निशेधाज्ञा तोड्छु,’ विगतमा अनसनमार्फत आफ्ना मागहरु अघि सार्दै र सरकारलाई घुँडा टेकाउँदै आएका डा. केसीले भने, ‘म त अब त्यहीँ माइतीघर मण्डलामै बस्छु । मलाई पक्डिउन् । अरु मुद्दाहरु पनि त्यहीँ गएर गर्छु । अब त्यहीँ पक्डिउन् ।’

डा. केसीको भनाइ उनकै शब्दमाः


अहिले दुईतिहाईवाला सरकार छ । सबै पार्टीहरु आफूलाई प्रजातन्त्रवादी लोकतन्त्रवादी भन्छन् । लोकतन्त्रको मुख्य मर्म भनेको ‘फ्रिडम अफ स्पिच’ हो । हो, अलिकति जिम्मेवार भएर बोल्नुपर्छ, त्यो आफ्नो ठाउँमा छ । तर, डेमोक्रेसीको मुख्य तत्व भनेको छ ‘फ्रिडम अफ स्पिच’ हो ।

यिनीहरु (दलका नेताहरु) आफूलाई समाजवादी भन्छन्, साम्यवादी भन्छन् । तर यिनीहरु न समाजवादी हुन्, न साम्यवादी हुन् । यिनीहरु लुटतन्त्रवादी हुन् । र, यिनीहरुलाई लोकतन्त्रको मूल्य मान्यता पनि थाहा छैन, मर्म पनि थाहा छैन । के छ भने आफ्नो स्वार्थ पूरा गर्ने ।

माइतीघर मण्डलामा त्यो बनाएदेखि नै कति वर्ष भइसक्यो, त्यहाँ कार्यक्रमहरु भइराखेका छन् । माइतीघर मण्डलामा प्रदर्शन गर्न नदिने भन्नुको मतलव के हो भने सरकारको विरोध नहोस् ।

पहिला कार्यक्रम नभएको ठाउँमा भए पनि त ल ठीकै छ, भन्न सकिन्थ्यो । पहिलेदेखि नै त्यहाँ कार्यक्रम भइराखेको छ ।

माइतीघर मण्डलामा कार्यक्रम गर्नुको मतलव वर्तमान सरकारको निरंकुश र स्वेच्छाचारिताको पहिलो कदम हो । म भन्छु– यो हुन दिइँदैन । निरंकुशता सुरु हुँदैछ अब । स्वेच्छाचारिता सुरु हुँदैछ । यो पहिलो कदम हो उनीहरुको ।

राजतन्त्र फालियो, राजा गयो र राजाजस्तो गर्ने मान्छे, पदाधिकारीहरु आए, तिनीहरु पनि फालिए । यिनीहरु, अहिलेका नेताहरु पनि राजाको जस्तो व्यवहार गरिराखेका छन् ।

राजतन्त्र फालियो, राजा गयो र राजाजस्तो गर्ने मान्छे, पदाधिकारीहरु आए, तिनीहरु पनि फालिए । यिनीहरु, अहिलेका नेताहरु पनि राजाको जस्तो व्यवहार गरिराखेका छन्

हामी सार्वभौम नेपाली नागरिक हौं । कसैले हाम्रो ‘फ्रिडम अफ स्पिच’माथि बाधा अड्चन गर्छ भने त्यसको विरोध गरिन्छ । म भन्छु– लोकतन्त्रको मूल्य मान्यता स्थापित हुन्छ । यसलाई कसैले तोडमोड गर्न खोज्छ भने त्यो हुन दिइँदैन । उहाँहरुले त्यो फिर्ता लिनुपर्छ, होइन भने म जान्छु त्यहाँ । हेरौं के हुँदोरहेछ ।

हामीले अहिलेसम्म जे मुभमेन्ट गर्‍यौं, जे उपलब्धि भयो, हाम्रो मुभमेन्ट शालीन, शान्तपूर्वक रहँदै आएको छ । जनतालाई अप्ठ्यारो हुनेखालको कार्यक्रम हामीले कहिल्यै पनि गरेनौं ।

मैले भनिहालें, उनीहरुले यो निर्णय फिर्ता लिनुपर्छ । होइन भने म त जान्छु माइतीघरमा । म त्यहीँ गएर विरोध कार्यक्रम गर्छु । मैले विज्ञप्ति पनि निकालिसकेको छु । म त निशेधाज्ञा तोड्छु । किनभने यो मेरो र नेपाली नागरिकहरुको अधिकार हो । नागरिक अधिकारको हनन हुन दिइँदैन । म त्यो तोड्छु ।

त्यो निशेधाज्ञा तोड्नु भनेको नियमविपरीत होइन । त्यो उनीहरुको स्वेच्छाचारी मानसिकता र कर्मको विरोध हो । नागरिक अधिकार हनन गर्न खोजेकाले हो । १५ गतेसम्म अल्टिमेटम दिइएको छ, त्यसपछि म डेफिनेट्ली निशेधाज्ञा तोड्छु ।

यी नेताहरुले लोकतन्त्रको मूल्य मान्यता स्थापित गर्नुपर्ने हो । मूल्य मान्यता अनुसार चल्नुपर्ने हो । उनीहरु चल्दैनन् भनेदेखि म त एउटा नागरिकको हैसियतले नागरिक अधिकार हनन हुन्छ भने मेरो कर्तव्य बन्छ, त्यसको विरोधमा उत्रिने र हनन हुन नदिने । यो मेरो कर्तव्य हो ।

म त अब त्यहीँ माइतीघर मण्डलामै बस्छु । मलाई पक्डिउन् न । म त्यहीँ जान्छु । अरु मुद्दाहरु पनि त्यहीँ गएर गर्छु अब । त्यहीँ पक्डिउन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment