Comments Add Comment

अस्तव्यस्त बन्यो बिर्तामोडको कृषिथोक बजार

१२ वैशाख, झापा । मेची अञ्चलको प्रमुख व्यापारिक केन्द्र बिर्तामोडमा रहेको कृषिथोक बजार पछिल्लो समय अस्तव्यस्त बन्दै गएको छ ।

दैनिक लाखौँ रुपैयाँभन्दा बढीको तरकारी कारोबार हुने अञ्चलकै सबैभन्दा ठूलो तरकारी तथा फलफूल बजारमा विकृति मौलाएको जनगुनासो बढ्दै गएको छ ।

बिर्तामोड नगरपालिका वार्ड नं. ५ मा रहेको ३ बिगाहा १९ कठ्ठा जमिनमा अवस्थित कृषि बजारमा खुद्रा तथा थोक विक्रेता गरी ३ सय २ वटा पसल सञ्चालनमा रहेका छन् ।

तर, कृषिथोक बजार क्षेत्रमा लामो समयदेखि जग्गा अतिक्रमण गरेर गैरकानुनी रूपमा बसेका कतिपय व्यापारीलाई हटाउन पटक–पटक गरिएका प्रयास सफल हुन सकेको छैन ।

एक त बजार क्षेत्र साँघुरो छ, त्यसमा अर्को समस्या भनेको बजार आउनेले ल्याउने सवारीसाधन र जथाभावी गुड्ने सिटी सफारी हो ।

सवारीको चापले बाटो साँघुरो छ, बजार प्रदुषित छ, जताततै फोहोरको थुप्रो छ

अधिकांश उपभोक्ता मोटरसाइकल, कार आदि निजी सवारीमा वा सिटी सफारीमा आउँछन् । अव्यवस्थित पसल सञ्चालनले समस्या भइरहेका बेला सवारीको चापले बजारमा पाइला हाल्नेसम्म ठाउँ पाउन मुश्किल हुन्छ ।

व्यवसायीले जथाभावी पसल राखिदिनाले बजारमा समस्या छ । सवारीको चापले बाटो साँघुरो छ, बजार प्रदुषित छ, जताततै फोहोरको थुप्रो छ ।

कृषिथोक बजारमा व्यवसाय गर्ने व्यापारीका पनि आफ्नै समस्या छन् । बजार लाग्ने क्षेत्रमै सवारी पार्किङ गरिँदा व्यवसायीलाई पनि समस्या छ ।

उनीहरु पसल अगाडि नै सवारी ल्याएर रोकिदिने, कृषिथोक बजार भनेको ठाउँमा कृषिका मात्र होइन, अन्य सामग्री पनि राखिदिने गर्नाले समस्या बढेको बताउँछन् ।

विशुद्ध कृषि उपजमात्र बेच्न पाउँने भनिएको यो क्षेत्रमा कृषि उपज बाहेकका अन्य सामानहरु पनि खुल्लम खुल्ला किनबेच भैरहेको छ । कृषि उपज थोक बजार संचालक समितिले यसको नियन्त्रण गर्न सकेको छैन ।

कृषिजन्य वस्तु बाहेक फलाम, कपडा, प्लास्टिक, जुत्ताचप्पल, श्रृंगारप्रशाधनका सामान आदिको व्यापार भइरहेको छ । व्यवसायीका अनुसार बजारको व्यवस्थापन गर्ने संस्थाको लापरवाही र निरीहताका कारण समस्या बढेको हो ।

अर्को समस्या कृषिथोक बजार छिर्ने गेटमा प्रवेश गर्न नपाउँदै बाटै छेक्ने गरी व्यवसायीले पसल थापेका हुन्छन् । बिगत २० बर्षदेखि निरन्तर सब्जीपसल गर्दै आएकी भावना भट्टराई फुटपाथ ब्यापारीहरुले बाटो नै ढाकिने गरी व्यवसाय सञ्चालन गर्नाले आपूmहरु मारमा परेको बताउँछिन् ।

उनले यस क्षेत्रका सरोकारवाला निकायले ध्यान दिन र यस्ता व्यवसायलाइ उचित ठाउँको व्यवस्थापनमा जोड दिन आग्रह गरेकी छन् ।

कृषि उपज थोक बजार सञ्चालक समितिको व्यवस्थापकका रुपमा सुरेशकुमार कामत आएपछि बजारलाई व्यवस्थित बनाउन थप केही प्रयासहरु नभएका होइनन्, तर सबै सरोकारवाला पक्षको समन्वयात्मक पहल नहुँदा सफलता नमिलेको बताइएको छ ।

कामतले भने, ‘बजारमा ३ सय २ वटा पसल रहेकाले थोरै व्यवस्थापनमा समस्या देखिएता पनि हामीले निरन्तर सुधार गरिरहेका छौं । विगतमा भन्दा हाल आएर पाँच वर्गमा छुट्याएर यसमा ४ सय २५ देखि ३ हजार २ सय रुपैयाँसम्म भाडादर कायम गरिएको छ, यसले गर्दा व्यापारीहरुलाई व्यवसाय सञ्चालनमा थप टेवा पुगेको छ ।’

त्यस्तै अर्का बधशाला व्यवसायी मोहम्मद राजबुल शेखले कृषि बजार ब्यवस्थापन समितिले उचित मात्रामा अनुगमन नगर्नाले यो स्थिति सिर्जना भएको र यहाँको फोहोरमैला ढल निकास जस्ता समस्याको समाधानतर्फ ध्यान नदिनाले आफूहरु मारमा परेको गुनासो गरे ।

बिर्तामोडको अर्थतन्त्रको एक मुख्य हिस्साको योगदान गर्ने यस कृषिथोक बजार अस्तब्यस्त भएका कारण आम उपभोक्ताहरु मारमा परिरहेका र यसको सुधारका लागि सम्बन्धित निकायले समुचित ध्यान दिन जरुरी रहेको आम सरोकारवालाको भनाइ छ ।

– तीर्थराज खरेलबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment