Comments Add Comment

बुटवल सडक विस्तारः अतिक्रमण गरी बनाइएका तीन सय बढी संरचना भत्काइँदै


१२ वैशाख, बुटवल । सडक विस्तार रोक्न भएका सबैखाले चलखेल निस्प्रभावी भएपछि अन्ततः सडक क्षेत्र मिचेर बनेका बुटवलका तीन सय बढी घरहरु भत्किने भएका छन् ।

पटक–पटकको आग्रह अटेर गरेपछि बुटवल–बेलहिया ब्यापारिक मार्ग आयोजनाले वैशाख ४ गते डोजर चलाउन थालेपछि घरधनीले अन्तिमपटकका लागि भन्दै एक हप्ताको समय मागेका थिए । एक हप्ताको समय मंगलबार नै सकिएको छ ।

यसबीचमा एक दर्जन बढी घरधनीहरुले सडक क्षेत्रमा बनेका घर–संरचना आफैं भत्काउन शुरु गरिसकेका छन् ।

बाँकी घरहरुमा बुधबार बिहान ११ बजेदेखि डोजर लगाएर भत्काउने तयारी भइरहेको बुटवल–बेलहिया ब्यापारिक मार्ग आयोजनाका प्रमुख जिवेन्द्र मिश्रले जानकारी दिए ।

‘उहाँहरुले मागेको एक हप्ताको समय हिजो नै सकिएको छ, १०–१२ जना घरधनीले आफैं भत्काउन पनि शुरु गर्नुभएको छ, अटेर गर्नेहरुका हकमा आयोजनाले ११ बजेदेखि डोजर लगाएर भत्काउने तयारी गरिरहेको छ,’ मिश्रले भने, ‘अब सडक विस्तार रोकिँदैन ।’

राजमार्ग चौराहादेखि चिडिया खोलासम्मको साढे तीन किलोमिटर सडक खण्डमा तीन सय २५ घर सडक मिचेर बनेका छन् । अहिले ४ लेनमा रहेको यो सडकलाई ६ लेनमा विस्तार गर्ने प्रकृया शुरु गरेसँगै घरधनीहरुले विस्तार रोक्न कहिले अदालत, कहिले सरकार त कहिले दलहरुको शरणमा पुगेर अवरोध सिर्जना गर्दै आएका थिए ।

दुई हप्ताअघि घरधनीको पक्षमा प्रमुख तीन दल एमाले, कांग्रेस र माओवादी तथा चार वटा व्यवसायीक संस्थाले विज्ञप्ति निकालेर सडक विस्तार रोक्न माग गरेका थिए । उनीहरुले रुपन्देही २ का प्रतिनिधिसभा सदस्य एवं एमाले उपमहासचिव विष्णु पौडेललाई समेत ज्ञापनपत्र बुझाएका थिए ।

यो सडकमा २ लेयर अर्थात १० सेन्टिमिटर कालोपत्रे थपिने छ । दायाँ–बायाँ १–१ लेनको सर्भिस लेन र नाली पनि बनाइने छ । कुल ५० मिटर सडक क्षेत्रमध्ये बीचमा डिभाइडर, दायाँ–बायाँ साढे १०–साढे १० मिटर चौडाइको मुख्य लेन, त्यसबाहिर ६–६ मिटरको सर्भिस लेन हुने छ । बाँकी फुटपाथ र नाली हुने छ ।

३० महिनामा सडक विस्तार सम्पन्न गर्नुपर्ने गरी निर्माण कम्पनीसँग सम्झौता भइसकेको छ । यसको कुल लागत ४२ करोड रुपैयाँ अनुमान गरिएको छ । बुटवल–बेलहिया ६ लेनको सडक निर्माण गर्न हालसम्म निर्माण व्यवसायीहरूलाई ३ अर्ब ७५ करोड भुक्तानी दिइसकेको आयोजनाले जनाएको छ ।

आर्थिक वर्ष २०६८/६९ देखि निर्माण सुरु भएको यो सडकको ११ किलोमिटर सडक मात्रै कालोपत्रे भएको छ । करिब १३ किलोमिटर सडक निर्माण हुन बाँकी छ । आर्थिक वर्ष २०७०/७१ मा निर्माण सम्पन्न गर्ने लक्ष्यसहित २०६९ सालदेखि बुटवल राजमार्ग चौराहादेखि बेलहिया नाकासम्म २४ किलोमिटर सडक निर्माण सुरु भएको थियो ।

व्यापारिक मार्ग विस्तार आयोजनाका लागि ३ अर्ब ३ करोड ८३ लाखमा ठेक्का दिइएको थियो । आर्थिक वर्ष २०७३/७४ देखि राजमार्ग चौराहादेखि चिडियाखोलासम्म साढे तीन किलोमिटर सडक आयोजनामा थपिएको हो । योसमेत गरी ५ अर्ब ८६ करोड रुपैयाँमा बुटवलदेखि बेलहिया नाकासम्मको साढे २७ किलोमिटर सडक ६ लेनको बनाइने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment