Comments Add Comment

रोग बढाउन सक्छ नुनले, कसरी गर्ने नुन कम ?

हाम्रो हरेकजसो खान्कीमा नुन हुन्छ । दैनिक जे-जति खानेकुरा खाइन्छ, त्यसमा केही मात्रामा नुन हुनसक्छ । हाम्रो रैथाने खाना त चिल्लो, पिरो, अमिलो, नुनिलो नभई हुन्न । नुनको स्वाद बिना हाम्रो खाना खल्लो हुन्छ । अर्थात हाम्रो जिब्रो नुनको स्वादमा यति अभ्यस्त भएको छ कि त्यसबाट अलग हुन सक्दैनौं ।

हामीलाई तरकारी, अचार, दाल सबैमा नुन चाहिन्छ । खानाको स्वाद बढाउनका लागि हामी नुन प्रयोग गर्छौं । के भनिन्छ भने, केही प्रकारको सेतो खानेकुरा स्वास्थ्यका लागि राम्रो मानिदैन । मैदा, चामल, चिनी । यसमा नुन पनि पर्छ । नुनको मात्रा बढी भएमा रोगले च्याप्न सक्छ । खासगरी उच्च रक्तचापमा नुनको सेवन राम्रो मानिदैन ।

बढी नुन, अर्थात उच्च रक्तचापको जोखिम

उच्च रक्तचापका रोगीलाई नुनले थप जोखिम निम्त्याउन सक्छ । किनभने शरीरमा सोडियम क्लोराइड अर्थात नुनको मात्र बढेपछि हाम्रो धमनीको रक्त प्रवाह बढ्छ । यसरी रक्त प्रवाह बढेपछि त्यसले धमनी र मुटुमा दबाब पर्छ । उच्च रक्तचाप मात्र होइन, मुटुको रोगीलाई समेत यसले अप्ठ्यारामा पार्न सक्छ ।

मिर्गौलामा असर

अहिले धेरैजसो मिर्गौलाको समस्यासँग जुधिरहेका छन् । विषाक्त खानपान, निस्क्रिय जीवनशैली जस्ता कारणले मिर्गौलाको रोगी प्रतिदिन बढ्दो छ । खासगरी धेरै नुन सेवन गर्दा मिर्गौलामा क्याल्सियमको मात्रा बढ्छ । यसले मिर्गौलामा पथरी हुने संभावना बढ्छ । त्यसैले के राम्रो हुन्छ भने, खानामा नुनको मात्रा नियन्त्रण गरौं । मिगौर्ंलालाई बचाऔं ।

टाइप-२ मधुमेहको खतरा

स्वीडेनका इन्स्िटच्युट अफ इन्भाइरोमेन्टल मेडिसिनको एक अध्ययन अनुसार जो व्यक्ति हरेक दिन लगभग ७ दशमलव ३ ग्राम नुन सेवन गर्छ, उनीहरुमा मधुमेहको खतरा बढी हुन्छ । शोधकर्ताका अनुसार नुनमा रहेको सोडियम इन्सुलिन प्रतिरोधमा सोझो असर गर्छ । यसले गर्दा टाइप २ मधुमेह हुने भय रहन्छ ।

शरीरमा पानी जम्न सक्छ

नुनको बढी सेवनले शरीरमा नुनको मात्रा बढ्छ । यसले गर्दा शरीरमा पानी जम्न सक्छ । यसलाई वाटर रिटेन्सन भनिन्छ । यस्तो अवस्थामा हात, खुट्टा, अनुहार सुन्निने भय हुन्छ ।

अब के गर्ने त ?

नुनले स्वाद बढाउँछ तर यसको मात्रा बढी भएमा शरीरलाई हानी गर्छ । त्यसैले शरीरमा अनेकन जोखिम निम्त्याउनु भन्दा नुनको मात्रा कम गर्नु राम्रो हो । यसका लागि केही सर्तकता अपनाउन सकिन्छ ।

–    डिब्बाबन्द खाना, जसमा नुनको मात्रा बढी हुन्छ, सेवन नगरौर्ं ।

–    नुनको साटो वीरे नुन, चाट मसला आदिको प्रयोग गरौं ।

–    सोडियमको मात्रा सन्तुलित राख्नका लागि डाइटमा पोटाशियमयुक्त खानेकुरा धेरै सामेल गरौं ।

–    फलफूल, सलादमा काँचो नुनको प्रयोग नगरौं ।

नुनको मात्रा घटाउने काइदा

खासगरी हामी जतिधेरै तरकारी, दाल, अचार, चाट, समोसा, मम, चाउमिन, चाउचाउ जस्ता खानेकुरा सेवन गर्छौ, उत्तिनै बढी नुन खाइन्छ । त्यसैले यस्ता नुनयुक्त खानेकुरा नियन्त्रण गरौं ।

एकसाथ धेरैथरी तरकारी, अचार सेवन गर्दा पनि नुन बढी खाइन्छ । मासुजन्य परिकारमा पनि हामी धेरै नुन सेवन गर्छौ ।

त्यसैले सकेसम्म धेरैथरी खानेकुरा एकसाथ सेवन नगरौं । साग, सिमी जस्ता खानेकुरा उसिनेर पनि खान सकिन्छ । दाल, तरकारीमा नुनको मात्रा कम गरौं ।

नुनको मात्रा कम गर्ने अर्को काइदा भनेको खानेकुरामा सलादको मात्रा बढाउने पनि हो । त्यस्तै फलफूल, पानी पर्याप्त सेवन गर्दा नुनको मात्रा कम हुन्छ । वा नुन सेवन गर्नबाट बचिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment