Comments Add Comment

प्रधानमन्त्री ओलीको प्रश्न- गीतमात्रै गाएर बस्ने हो भने समृद्धि कहिले ?

पुनर्निर्माणमा केही प्रगति भएको छ, खेलकुद मन्त्री कुदेर धुर्मसकहाँ पुग्न थाले !

१२ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्निर्माणको गीतमात्रै गाएर बस्ने हो भने समृद्धि कहिले गर्ने भन्दै अब तीव्रगतिमा पुनर्निर्माणको काम गर्नुपर्ने बताएका छन् ।

बुधबार बिहान धरहराको भग्नावशेष अगाडि आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले पुनर्निर्माणमा केही काम भएको छ भन्दै हालसम्मको प्रगतिबारे गणीतीय तथ्यांक प्रस्तुत गरे ।

दातृ निकायहरु एवं छिमेकी देशहरुले प्रतविद्धता गरेको रकमबारे समेत प्रधानमन्त्री ओलीले सार्वजनिक कार्यक्रमबाटै ध्यानाकर्षण गराए ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले पुनर्निर्माणको काममा धुर्मुस सुन्तलीले पुर्‍याएको योगदानको प्रशंशा गर्दै खेलकुद मन्त्रीसमेत कुदेर धुर्मुस सुन्तलीलाई भेट्न जाने अवस्था आएको बताए ।

प्रधानमन्त्री ओलीको सम्वोधनको अश उनकै शब्दमाः

भूकम्पमा हामीले ठूलो क्षति व्यहोरेका थियौं । हामीसँग भएको रेकर्ड अनुसार ८९७९ जनाको निधन भएको थियो । २२३०९ घाइते भएका थिए ।

भूकम्पबाट ७०६ अर्बको अनुमानित क्षति भएको थियो । ७६७७०५ जना आवासविहीन भएका थिए । ७५५३ वटा शिक्षण संस्थानहरु नोक्सान भएका थिए ।

स्वास्थ्य संस्थाहरु ११९७ वटा क्षति भएका थिए । सरकारी भवनहरु ३७९ वटा नोक्सान भएका थिए ।

महत्वपूर्ण पुरातात्विक सम्पदाहरु ७५३ वटा नष्ट भएका थिए । सुरक्षा निकायका ३८३ वटा भवनहरु ध्वस्त भएका थिए । जोखिमयुक्त वस्ती २८० वटा थिए, जसमा ३७९४ घरधुरी जोखिममा थिए ।

हाम्रो गति धीमा छ । तर, यसवीचमा हामीले केही प्रगति पनि गरेका छौं । केही पनि भएकै छैन भन्ने होइन, केही भएको छ ।

विभिन्न उतार-चढावहरु, त्यसभित्र म जान चाहन्न । ..४१६२६ वटा घरहरु निर्माण गरिसकेका छौं र हस्तान्तरण भएका छन् । अहिले ४३६३५० घरहरु, आवासगृह निर्माण भइरहेका छन् ।

सार्वजनिक विद्यालय ३६१३ वटा निर्माण भइसकेका छन् भने १७१९ वटा निर्माण भइरहेका छन् । स्वास्थ्य संस्थाहरु १२६६ वटा निर्माण सम्पन्न भएका छन्, १८० वटा निर्माण भइरहेका छन् । सरकारी भवन २२० वटा निर्माण सम्पन्न भइसकेका छन्, १४७ वटा निर्माण भइरहेका छन् ।

पुरातात्विक सम्पदाहरुमध्ये १०० तयार भएका छन्, ३२९ वटा पुनर्निर्माण भइरहेका छन् ।

सुरक्षा निकायका ७९ भवनहरु निर्माण भइसकेका छन् । १२६ वटा निर्माण भइरहेका छन् । ३८८ वटा घरपरिवारलाई असुरक्षित स्थानबाट सुरक्षित स्थानमा सारेका छौं ।

बाँकी कामहरु हामीले तीव्रताका साथ गर्नुछ । एकातिर हामीसँग दक्ष जनशक्ति छैन । केही केही कानूनी जटिलता छ । केहीकेही बैंकिङ प्रक्रियाका जटिलताहरु छन् । केही केही हामीसँग काम गर्ने म्यानपावर छैन । मलेसिया र खाडीमा युवाहरु गएका छन् । यहाँ गाउँमा काम गर्ने मान्छे छैन । योखालको स्थिति पनि छ ।

यी कुराहरुलाई पनि ध्यानमा राखेर हामीले सकेसम्म अनुकूल स्थितिको सिर्जना गर्ने र तीव्रता दिने काम गरिरहेकै छौं । यसमा लाग्न म सबैलाई आग्रह गर्न चाहन्छु ।

‘खेलकुदमन्त्री कुदेर धुर्मुस सुन्तलीकहाँ पुग्छन्’

यस प्रशंगमा थुप्रैले वैयक्तित रुपमा, सामुहिक रुपमा हामीलाई मद्दत गरेका छन् । देशका लागि, जनताका लागि आफ्नै तवरबाट वैयक्तिक तवरमा पनि कामहरु अगाडि बढेका छन् । हिजोमात्रै मैले एउटा पत्रिकामा नागरिक अभियन्ता, नागरिक हिरो भनेर चर्चा गरेको देखें । आफ्नै पहल, प्रयासमा धादिङका विभिन्न ठाउँमा एकीकृत बस्ती बनेका छन् ।

धुर्मुस सुन्तलीले काभ्रेबाट सुरु गरेर मुसहर वस्तीदेखि हरेक ठाउँमा बनाउँदै अब यस्तो हालतमा उनीहरु पुगेका छन् कि क्रिकेट स्टुडियम कसैले बनाउन सकेनन्, धुर्मुस सुन्तलीले बनाउँछु भनेपछि अब खेलकुद परिषद, खेलकुद मन्त्रालय, खेलकुद मन्त्री पनि कुदेर लौ बनाइदिनु भनेको के हो ? यो विश्वास आर्जन सामाजिक मान्छेहरुले आर्जन गरेका छन् ।

मैले केहीको नाम लिएँ, यसको अर्थ अरुले गर्नुभएको छैन भन्ने होइन, धेरैले गर्नुभएको छ । धेरैले भवन निर्माण गर्नुभएको छ, भवन निर्माण गरेर हस्तान्तरण गर्नुभएको छ । विद्यालयहरु निर्माण गरेर हस्तान्तरण गर्नुभएको छ । स्वास्थ्य चौकीहरु निर्माण गरेर हस्तान्तरण गर्नुभएको छ । विभिन्न ढंगले सहयोग पुर्‍याउनुभएको छ ।

यस घडीमा म सबै सहयोग गर्ने उत्साही दाजुभाइ दिदी बहिनीहरुलाई हार्दिक धन्यवाद भन्न चाहन्छु । वहाँहरुका कारणले गर्दा गर्न सकिने रहेछ भन्ने अरुलाई पनि परेको छ ।

छिमेकी मित्रको ध्यानाकर्षण

कतिपय हामा मित्रहरु, हाम्रा छिमेकीहरुले त्यतिबेला पनि तत्काल राहत र उद्धारमा सहयोग पुर्‍याउनुभो । म धन्यवाद भन्न चाहन्छु । आफैं क्षति व्यहोरेर पनि उहाँहरुले उद्धारका कामहरु गर्नुभो । राहत पुर्‍याउनुभो । र, पुनर्निर्माणमा सहयोग पुर्‍याउनुभएको छ । यसमा म धन्यवाद भन्न चाहन्छु र हामीले हाम्रा मित्रहरुबाट प्राप्त गरेका प्रतिवद्धताहरुमा कमी नरहोस्, म मित्रहरुलाई पनि सजग गराउन चाहन्छु, ध्यानाकर्षण गराउन चाहन्छु । र, हामीले पनि उहाँहरुलाई झक्झक्याउनुपर्छ, सम्झाउनुपर्छ कि तपाईहरुका प्रतिवद्धताहरु यस्ता थिए, ती पूरा गर्नोस् । प्रतिवद्धता बढाउनोस् । अझ बढी आवश्यक पर्ने भयो । यो कुरा पनि हामीले सबैलाई बताउन जरुरी छ ।

म सबैमा आग्रह गर्न चाहन्छु पुनर्निर्माणको कामलाई विना बिलम्ब सिंगै राष्ट्र एकजुट भएर आआफ्ना ठाउँबाट सक्दो योगदान गरौं । हरेकले पुनर्निर्माणलाई तीब्रता दिऔं । हाम्रा सम्पदाहरु नमासिने गरी, हाम्रो इतिहास झल्किने गरी यस्तै देखिने गरी बलियो संरचना बनाऔं । अझ राम्रो बनाऔं । अझ राम्रो बनाऔं भनेको जस्ताको त्यस्तै मात्रै होइन । एकधक्का भूकम्पले ढाल्ने होइन, भूकम्पले नै नढाल्ने, देख्दा उस्तै तर बलियो । त्यसप्रकारका संरचना निर्माण गरौं ।

म कोदालो वा डोको बोक्न तयार छु

मैले २०७२ साल फागुन ४ गते आह्वान गरेको थिएँ, मै बनाउँछु मेरो धरहरा, हरेक नेपालीको नारा । यो हरेक नेपालीको नारा हुनुपर्छ मै बनाउँछु मेरो धरहरा । के गर्न सक्छौं हामी त्यो गरौं । मै बनाउँछु मेरो धरहरा ।

यसका निम्ति कोदालो बोकेर आउनुपर्छ भने म कोदालो बोकेर आउँछु । ईंटा बोक्न आउनुपर्छ भने खर्पन लिएर आउनुपर्छ कि डोको लिएर म पनि आउँछु । अथवा मैले सक्ने अरु योगदान गर्नुपर्छ भने त्यो पनि गर्छु । त्यसकारण मै बनाउँछु मेरो धरहरा ।

तरिकासँगले हामी यहाँ भएका मान्छेहरुले थाल्ने हो भने धरहराको निर्माण कार्य अगाडि बढ्छ । तर, अव्यवस्थित ढंगले त्यत्तिकै थालेर हुँदैन, व्यवस्थित ढंगले थाल्नुपर्छ । म आग्रह गर्न चाहन्छु अब पुनर्निमार्णको कामलाई तीव्रता दिऔं ।

धरहरा सकेसम्म छिटो निर्माण गरौं । रानीपोखरी सकेसम्म छिटो निर्माण गरौं । काष्ठमण्डप तुरुन्त निर्माण गरौं । बसन्तपुर तीव्र गतिका साथ पुनर्निर्माण गरौं ।

अब पर्खिने समय छैन हामीसँग । हामीले देशलाई आर्थिक उन्नतकिो दिशामा तीब्रताका साथ लानु छ । भत्केका संरचनाहरुको पुनर्निर्माणको गीतमात्रै बस्ने हो भने बाँकी पुनर्निर्माण कहिले गर्छौं ? समृद्धि कहिले गर्छौं ? त्यसकारण हामीसँग अल्मलिने, पर्खिने समय छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment