Comments Add Comment

‘खतरा निम्तियो ! सिंहदरबारबाट समाजवाद होम डेलिभरी हुँदैन’

आफ्नै घरभित्र मार्क्सवादप्रति रुची जगाउन सकिएन

नेपालमा मार्क्सवादप्रति ठूलो संख्यामा जनतामा अभिरुची छ । जनताले भोट दिन्छन् । तर, हामी एउटा खतरनाक स्थितिमा आइपुगेका छौं । किनभने मार्क्सवादले सबैभन्दा ठूलो धक्का त्यहाँ खानुपरेको छ, जब यो बलियो हुन्छ, जब यो शक्तिशाली हुन्छ र जब सत्तामा पुग्छ ।

हामीले सफल घटनाहरुबाट मात्रै सिक्ने होइन, असफल क्रान्तिबाट सबभन्दा मनग्गे शिक्षा आर्जन गर्न सक्छौं । मार्क्सवादले जहिले पनि यसप्रकारको धक्का, यसप्रकारको चुनौती त्यतिबेला व्यहोरेको छ, जतिबेला ऊ शक्तिशाली बनेको छ ।

अब अहिले हामी गाउँघरमा के देख्दैछौं भने हाम्रा समर्थक जनता के कुरामा ढुक्क छन् भने हामीले चुनेर पठायौं, हाम्रो जीत भो । अब यी जितेकाहरुले समाजवाद ल्याइदिन्छन् । समाजवाद अब होम डेलिभरी भएर काठमाडौंबाट जान्छ जस्तो !

हामीले जनतालाई यस्ता बनाएछौं । एउटा साक्षीमात्रै । समाजवाद भनेको एउटा आन्दोलन हो, त्यसमा हामी पनि संलग्न छौं र समाजवाद गाउँबाट सुरु हुन्छ र हामीले यहाँ ल्याउनुपर्छ समाजवाद भनेर हामीले बुझाएनछौं ।

हामीले के भन्यौं भने हामीलाई भोट देउ, समाजवादको ग्यारेन्टी ! यसले के गर्दिन्छ भन्दा पार्टी र जनतालाई विभाजित गर्दिन्छ । पार्टी जनतासँग छुट्छ ।

स्थिति त्यही दोहोरिन्छ भन्ने होइन, तर १९६० को दशकमा समाजवादी संसारभन्दा बाहिर इण्डोनेसियाको कम्युनिष्ट पार्टी थियो । १० करोड जनसंख्या भएको त्यतिबेलाको इण्डोनेसियामा २० लाख पार्टी सदस्यहरु थिए । र, एक करोड जनवर्गीय संगठनका सदस्यहरु थिए । तर, १९६५ मा गएर त्यहाँ करिब २० लाख कम्युनिष्टहरुको हत्या भयो । आज इण्डोनेसियामा एउटा दोकारदारले एउटा मलमा हँसिया-हथौडा अंकित एउटा गञ्जी बेच्दा त्यो मान्छेलाई थुनिराखिएको छ । यो स्थिति छ इण्डोनेसियामा ।

अहिले जिल्लाबाट एउटा डेलिगेसन सिंहदरबारमा आउँछ, समाजवाद लिन ! समाजवाद अब होम डेलिभरी भएर काठमाडौंबाट जान्छ जस्तो ! हामीले जनतालाई यस्ता बनाएछौं ! हाम्रै घरपरिवारका नयाँ पुस्तामा पनि मार्क्सवादप्रति घोर अरुची देखियो !

नेपालमा पनि जनता र पार्टीको जुन द्वन्द्वात्मक सम्बन्ध हुनुपर्ने, जनताले जहिले पनि आलोचना र खबरदारी गरिराख्नुपर्ने र पार्टी कमिटीहरुमा जुन छलफल हुनुपर्ने हो कि समाजवादको शिक्षा कस्तो हुने ? समाजवादमा कृषिनीति कस्तो हुने ? पर्यावरण बचाउने दिशामा हामी के गर्न सक्छौं ? यावत कुराहरुमा हाम्रा पार्टी कमिटीहरुमा छलफल भइराखेको हुनुपर्ने हो ।

तर, अहिले स्थिति के देखिन्छ भने जिल्लाबाट एउटा डेलिगेसन सिंहदरबारमा आउँछ समाजवाद लिन । यो प्रकारको स्थिति बनेको छ ।

विकास निर्माण पनि गर्नुपर्छ । तर, मूल कुरो समाजवादका निम्ति संघर्ष गर्ने कुरा हो । समाजवादका निम्ति जनतालाई सचेत बनाउने कुरा हो । किनभने जव कार्यकर्ताले नीति निर्माणमा सहभागी हुन पाउँदैनन्, डिस्कोर्षमा सहभागी हुन पाउँदैनन्, त्यतिबेला कार्यकर्ताहरुमा निराशा आउँछ । उनीहरुले सिर्जनशीलता गुमाउन थाल्छन् ।

घरपरिवारभित्रै मार्क्सवादप्रति रुची जगाउन सकिएन

हामीले यहाँ (नेपालमा) जसरी मार्क्सवादलाई प्रस्तुत गर्‍यौं, त्यो परम्पराजस्तो मात्रै बन्न गयो । यसले गर्दा नयाँ पिँढीमा आकर्षण आएन । यहाँसम्म कि हाम्रै घर परिवारका नयाँ पुस्तामा पनि मार्क्सवादप्रति घोर अरुची देख्न सक्छौं ।

किनभने हामी हाम्रैविरुद्ध विद्रोह गर्ने, हामीले हिँडेको बाटो सही छैन भने त्यसका विरुद्ध पनि प्रश्न उठाउने संस्कार हाम्रो नयाँ पिँढीलाई दिन सकेनौं । हामीले यसलाई (मार्क्सवादलाई ) पूर्णताको अर्थमा लियौं । योवीचको हाम्रो जुन अवधि रह्यो, यसले हामीलाई यस्तो अनुभव गराएको छ । र, अब हामी चेष्टा गर्छौं कि मारक्सवाद एउटा परम्परा नहोस् ।

हामी जुनबेला मार्क्सवादी बन्यौं, त्यतिबेलाको चलन चल्तीको बाटोबाट विद्रोह गरेर बनेका हौं । तर, अब पछ्याउनुपर्छ, शिष्य बन्नुपर्छ भनेपछि नयाँ पिँढी स्वाभाविकरुपमा विकषिर्त हुन्छ । यी चिजलाई भत्काउनु छ, कोही नहिँडेको बाटो हिँड्नुछ भनेपछिमात्रै उसको सहासिक चरित्रले उसलाई मारक्सवादतिर लैजान्छ ।

मार्क्सवाद अपूर्ण छ । वेदमा हामीलाई दुईवटा शब्द थप्ने अनुमति छैन, त्यसले वेदलाई अपवित्र बनाउँछ । त्यस्तै बाइबिलमा हामी केही शब्द थप्न सक्दैनौं । मुन्धुममा केही थप्न सक्दैनौं, त्यसले पवित्रतालाई नास गर्छ । तर, मार्क्सवादमा थप्न सकिएन भने मारक्सवाद समृद्ध हुँदैन । मार्क्सवादले आफूलाई अपूर्ण मान्छ । र, यो आफैंप्रति आलोचनात्मक छ ।

हामीले एउटा उद्देश्य के राख्नुपर्छ भने नयाँ पिँढीमा यो मार्क्सवादलाई लैजाने, हस्तान्तरण गर्ने । तर, यसका निम्ति यो वीचमा हामीले गरेको अनुभव के हो भने मार्क्सवाद पनि एउटा परम्पराजस्तै बन्न गएछ । परम्परालाई पछ्याउने भनेपछि त्यो उन्नत चेतना भएको नयाँ पिँढीलाई अरुची बढिहाल्छ ।

प्रजातन्त्र भनेको कुनै एउटा स्थिर संरचना होइन । प्रजातन्त्र भनेको गत्यात्मकता हो । गति हो । यो निरन्तर परिवर्तनशील छ । यो डाइनामिक छ । र, मार्क्सवादले यसलाई बोक्न सक्छ । किनभने, मार्क्सवादले परिवर्तनलाई स्थायित्व दिन्छ । यसले गर्दा प्रजातन्त्रको सम्वर्द्धन गर्ने, प्रजातन्त्रलाई अझ घनिभूत बनाउने, अझ फैलाउने र विस्तृत पार्ने काममा मार्क्सवाद नै सबभन्दा कारगर हुन्छ ।

किनभने, आज हामीले देखिसक्यौं कि पुँजीवादको जीवनमैत्री विकल्प भनेको मार्क्सवाद नै हो । मार्क्सवादका थुप्रै अभ्यासहरु असफल भए । यसले धक्का खानुपर्‍यो । तर, यति हुँदाहुँदै पनि पुँजीवादको विकल्प हामीले समाजवादवाहेक अर्को देखेनौं । पुँजीवादको जीवनमैत्री विकल्प आज पनि मार्क्सवाद नै हो ।

(माओवादी नेता एवं सांसद राम कार्कीले बुधबार काठमाडौंमा आयोजित कार्ल मार्क्स जन्म द्वीशतवाषिर्की समारोह समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा व्यक्त विचार । समारोह समितिले बैशाख २१ र २२ गते काठमाडौंमा मार्क्स जयन्ती मनाउने घोषणा गरेको छ ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment