Comments Add Comment

प्रदेश दुईमा सुरक्षा चुनौतीः गृहमन्त्री थापा

१२ वैशाख, बारा । गृहमन्त्री रामबहादुर थापा बादलले अन्य प्रदेशको तुलनामा प्रदेश २ मा सुरक्षा अवस्था चुनौतीपूर्ण रहेकाले गम्भीर रुपमा अघि बढ्नुपर्ने बताएका छन् ।

प्रदेश २ को प्रदेश स्तरीय सुरक्षा गोष्ठीको बुधवार सिमरास्थित होटल इच्छामा उद्घाटन गर्दै गृहमन्त्री बादलले प्रदेश दुई संवेदनशील प्रदेश भएकाले त्यसैअनुसार सुरक्षा रणनीति बनाएर अघि बढ्ने बताए ।

खुल्ला सिमाना, अपराध, तस्करी, सामाजिक हिंसा, भष्ट्राचार, प्राकृतिक विपद्जस्ता समस्या दुई नम्बर प्रदेशमा बढी देखिने गरेको भन्दै गृहमन्त्री बादलले सुरक्षा गोष्ठीको सुरुआत पनि यसै प्रदेशबाट गरिएको बताए ।

गोष्ठीले दुई नम्बर प्रदेशको अपराध नियन्त्रण, जनताको सुरक्षा र सेवाको बिषयमा महत्वपूर्ण कार्ययोजनासहितको निश्कर्ष निकाल्ने बताए ।

देशका सात वटै प्रदेशमा गरिने सुरक्षा गोष्ठीको सुरुआत दुई नम्बर प्रदेशबाट गर्नुमा राजनीतिक अस्थिरता पनि कारण रहेको गृहमन्त्री थापाले बताए ।

दुई नम्बर प्रदेशमा राजनीतिक स्थायित्वलाई सुदृढ बनाएर अघि बढ्न अति आवश्यक रहेको भन्दै गृहमन्त्री बादलले यसै गोष्ठीले त्यस बिषयमा पनि छलफल गर्ने बताए ।

गृहमन्त्री थापाले देशको समग्र सुरक्षा व्यवस्थालाई ब्यवस्थित गर्न र जनताले पाउने सेवालाई मध्यनजर गर्दै गृहमन्त्रालयले भर्खरै ८२ बुँदे कार्ययोजना सार्वजनिक गरेको बताए । गृहमन्त्रालय मातहत रहेका सबै निकायलाई काम गर्न कार्ययोजनाले दिशानिर्देश गर्ने उनको भनाइ थियो ।

गोष्ठीमा गृहसचिव प्रेमकुमार राई, प्रदेश निमित्त प्रमुख हरी फुयाल, प्रदेश दुई आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्रकुमार यादव, नेपाली सेनाका बलाधिकृत पूर्णचन्द्र थापा, नेपाल प्रहरीका महानिरिक्षक सर्वेन्द्र खनाल, सशस्त्र प्रहरीका महानिरिक्षक शैलेन्द्र खनाललगायत सुरक्षा निकायका उच्च अधिकारी, आठ जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा प्रमुखलगायत उपस्थिती रहेको थियो ।

यसअघि सिमरा बिमानस्थलमा प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपालले आयोजना गरेको पत्रकार भेटघाटमा सञ्चारकर्मीसंँग संक्षिप्त प्रतिक्रिया दिदै गृहमन्त्री बादलले भूमिगत भएर तराईमा अपराधिक गतिविधि गर्ने उन्मुक्ति नपाउने बताएका छन् ।

पछिल्लो समय तराईमा अपराधका घटना सुनिन थालेको भन्दै गृहमन्त्री बादलले यस बिषयमा सरकार गम्भिर रहेको बताए । ‘जुनसुकै अपराध गर्नेलाई मुलधारमा आउन आग्रह गर्छौ । सरकारको आग्रह नमाने हामी कडा रुपमा अघि बढ्नेछौ ।’ उनले भने ।

एक फरक सन्दर्भमा गृहमन्त्री थापाले यातायात क्षेत्रको सेण्डिकेट हटाउने निर्णयबाट सरकार पछि नहट्ने स्पष्ट पारेका छन् ।

सिमरा आएका गृहमन्त्री बादलले जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ३ मा पाँच महिना अघि भएको कृषक दम्पती हत्याको अनुसन्धान भइरहेको र त्यसमा सरकार गम्भीर रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment