Comments Add Comment

आयातित रोगीका कारण नेपालबाट औलो रोग निवारण हुनेमा शंका

१२ वैशाख, काठमाडौं । नेपालले सन् २०२५ सम्ममा मुलुकबाटै औलो रोग निवारण गर्ने लक्ष्य लिएको छ । औलो रोग निवारणका लागि नेपालले औलो रणनीति योजना २०१४-२०२५ समेत तयार गरी कार्यान्वयन सुरु गरिसकेको छ । तर, त्यसका बाबजुद नेपालमा औलो रोगीको संख्यामा कमी आउन नसकेको एक तथ्यांकले देखाएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको एक तथ्यांक अनुसार आर्थिक वर्ष ०७३/७४मा मात्र नेपालमा औलो रोगीको संख्या करिब एघार सय २८ रहेकोमा त्यसमध्य आयातित -भारत लगायतका तेश्रो मुलुकबाट नेपाल भित्रिने) औलो रोगीको संख्या करिब ५५ प्रतिशत अर्थात ६३६ जना आयातित औलोका विरामी रहेको थियो ।

यो संख्या विगतको तुलनामा धेरै हो । गत वर्ष नेपालमा प्रयोगशालाबाट प्रमाणित औलो रोगीको संख्या करिब ९९१ रहेको थियो । जसमध्य स्थानीय औलो रोगीहरुको संख्या ५०६ रहेकोमा आयातित औलो रोगीको संख्या चार सय ८५ रहेको थियो ।

दक्षिण भारत, गुजरात लगायतका ठाउँबाट आउने नेपालीहरुले औलोको संक्रमण लिएर आउने गरेका कारण पनि नेपालमा स्थानीयको तुलनामा आयातित औलोको रोगीको संख्यामा वृद्धि भएको महाशाखाले जनाएको छ । महाशाखा प्रमुख डा. केदार सेञ्चुरीले भने, ‘विगतको तुलनामा औलो रोग घट्दै गएको देखिन्छ । जबकी अनुपात भने बढ्दै गएको देखिन्छ ‘ ।

नेपालबाट सन्०२५ सम्ममा औलो रोग निवारणका लागि तयार पारिएको रणनीतिक योजना अनुसार कार्यक्रम सञ्चालन गर्न सकिए मात्र पनि नेपालबाट तोकिएकै समयमा औलो रोगको निवारण गर्न सकिने उनले बताए ।

कार्यक्रममा महाशाखाका वरिष्ठ स्वास्थ्य प्रशासक डा. विवेक कुमार लालले नेपा औलो रणनीतिक योजना तथा हालको अवस्थाबारे प्रकाश पार्दै औला निवारणमा आयातित औलो र जलवायु परिवर्तन नै मुख्य चुनौती रहेको बताए ।

जलवायु परिवर्तनकै कारण पहिले पहिले मध्य तराईका जिल्लाहरुमा मात्र भेटिने औलोका रोगी पछिल्लो समय मुगु, बाजुरा, दार्चुला लगायतका नेपालका उच्च पहाडी तथा हिमाली भेगहरुमा समेत देखिन थालेका छन् ।

बाह्या तथा आन्तरिक पर्यटक तथा जलवायु परिवर्तका कारण पनि नेपालमा औलो रोग निवारण गर्नु आफैमा चुनौती भएका कारण यसको निवारणका लागि रणनितिक योजनाका साथै जनताको पहुँच पनि आवश्यक रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा. सुशिलनाथ प्याकुरेलले बताए ।

कार्यक्रममा स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डा. गुणराज लोहनीले औलो रोग वातावरणसित बढी सम्बन्धित रहेका कारण यसलाई उन्मुलन गर्न भन्दा पनि निवारण गर्नु थप चुनौती रहेको बताए ।

कार्यक्रम ‘हाम्रो सक्रियता, औला निवारणमा सफलता’ भन्ने नाराका साथ सम्पन्न गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment