Comments Add Comment

‘हारको जिम्मा देउवाले मात्र होइन, केन्द्रीय समितिले पनि लिनुपर्छ’

१२ वैशाख, काठमाडौं । चुनावी हारको समिक्षा गर्न बोलाइएको कांग्रेस केन्द्रीय कार्यसमिति बैठक निष्कर्षको संघारमा पुगेको छ । हारेपछि कमजोरीहरु देखिनु स्वभाविक हो । र, रामचन्द्र पौडेलबाट सुरु भएको लिखितरुपमा नेतृत्वको आलोचना श्रृखला प्रकाशमान सिंह, कुलबहादुर गुरुङ हुँदै गगन थापा, प्रदीप पौडेलसहितका युवासम्म आइपुगेको छ ।

उनीहरुले  सञ्चार माध्यममा पनि राम्रै स्थान पनि पाएका छन् । तर, पार्टी सभापति शेरबहादुर देउवा पक्षले केही बोलेका छैनन् ? होइन, उनीहरु जमेर नेतृत्वको बचाउमा उत्रिएका छन् ।

बुधबारको बैठकमा बोलेका विमलेन्द्र निधि, डा. प्रकाशशरण महत, मोहनबहादुर बस्नेत सबैले नेतृत्वको बचाउ गरेका छन् । निधिले त लिखित प्रस्ताव पेश गर्ने सुरुवात गरेर वरिष्ठ नेता पौडेलले पार्टीलाई ध्वस्त बनाएको आरोप लगाए ।

के छन् देउवा समूहको तर्क ?

हामीले बुधबारको बैठकमा बोलेका देउवा पक्षीय नेता डा. महतलाई सोध्यौं, चुनावी हारको कारण के हो ?

उनले भने, ‘मत प्रतिशत घटेर हामी हारेका होइनौं । स्थानीय तहको चुनावमा पहिलो भएको एमाले र तेस्रो पार्टी माओवादी केन्द्र मिलेका कारण मात्र कांग्रेस हारेको हो ।’

उनका अनुसार हारको अर्को कारण अन्तरघात र व्यवस्थापनमा कमजोरी हो, जुन हिजो पनि थियो, आज पनि छ । ‘पहिला सबै राम्रो थियो । अहिले आएर सबै खराब भयो भन्नु गलत हो’ महत भन्छन्, ‘हाम्रो विचार ठीक छ । संगठन र प्रचार शैली कम्युनिष्टबाट सिक्नुपर्छ ।’

महतको तर्कमा सहमत देउवा पक्षीय अर्का केन्द्रीय सदस्य मीन विश्वकर्मा भन्छन्, ‘कांग्रेसले आफूले गरेको राम्रा कामको पनि प्रचार गर्न सकेन । अर्को समूहले देउवाको प्रचार हुन भनेर चाहेन । देउवा समूहले सकेन । देउवा आफैं पनि सकेनन् ।’

अघि भने, वाम एकताका साथै अन्तरकलह र सनातनी कांग्रेसको देउवामाथि अविश्वासका कारण हारेका हौं ।’

कांग्रेस बैठकमा बोल्ने नेताहरुले हारका कारण जे भएपनि नेतृत्वले जिम्मा लिनुपर्छ भन्ने तर्क पनि बलियो छ । यही प्रश्न गर्दा नेता मीन भन्छन्, ‘कांग्रेस सामुहिक नेतृत्वमा चल्ने पार्टी हो । हारको जिम्मा देउवाले मात्र होइन, केन्द्रीय कार्यसमितिले जिम्मेवारी लिनुपर्छ ।’

देउवा समूहले निर्वाचन परिचालन नेतृत्व वरिष्ठ नेता पौडेलको नेतृत्वमा भएको स्मरण गराएको छ ।

अबको बाटोः अनुशासनको डण्ड र पदपूर्ति

केन्द्रीय कार्यसमितिको बैठकमा देउवा समूहले अन्तरघातीलाई कारबाहीको गर्नु पर्ने माग जोडदार रुपमा राखेका छन् । पार्टी सभापथि देउवा स्वयंमले पनि सार्वजनिक कार्यक्रममा नै पार्टीका अन्तरघातीहरुलाई कारबाही नगरेसम्म कांग्रेस बन्न नसक्ने बताएका छन् ।

अब पदाधिकारीहरुका साथै विभागमा मनोनयन गर्ने र नयाँ कार्यक्रम ल्याएर पार्टीलाई गति दिने तयारी भइरहेको नेता महतले बताए । चुनावी समिक्षा बैठक सकेर केही दिनमै अर्को बैठक बस्ने र पदाधिकारीहरु मनोनयन गर्ने देउवा समूहको योजना छ ।

विधान संशोधन मस्यौदा समिति बनाउने र महासमिति बैठक बोलाउने गृहकार्य पनि भइरहेको छ । यो बैठक सकिएको डेढदेखि दुई महिनामा महासमिति बैठक बोलाउने सम्भावना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment