Comments Add Comment

सुन तस्करीका सात घुम्तीः काठमाडौंमा अपहरण, मोरङमा यातना

१३ वैशाख, काठमाडौं । आज बिहीबार, राजधानीबाट प्रकाशित राष्ट्रिय दैनिक पत्रिकाहरुको पहिलो प्राथमिकतामा आर्थिक विषय परेको छ । तथ्यांक विभागले सार्वजनिक गरेको आर्थिक तथ्यांकलाई आधार बनाउँदै देशको अर्थतन्त्रको समीक्षा गरेका छन् । पत्रपत्रिकाका अनुसार, प्रतिव्यक्ति आय १ लाख नाघेको छ । मुलुकको कुल ग्रार्हस्थ उत्पादन ३० खर्ब रुपैयाँमाथि पुगेपछि प्रतिव्यक्ति आम्दानी पनि त्यसैअनुसार बढेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार भूकम्पको स्मृतिमा आयोजित कार्यक्रममा गरेको भाषणलाई नागरिक, गोरखापत्र, अन्नपूर्ण र राजधानी दैनिकले पहिलो पृष्ठमा स्थान दिएर छापेका छन् । नागरिक दैनिकले धरहरा पुनर्निर्माण नारामै सीमित रहेको उल्लेख गर्दै दुई वर्षपछि पनि प्रधानमन्त्री केपी शर्मा ओलीले उस्तै भाषण गरेको स्मरण गराएको छ ।

सुन तस्करीका घटना पछिल्लो समय वृद्धि हुँदै गएका छन् । यसमाथि सरकारले अनुसन्धान बढाउँदै लगेपछि नयाँ–नयाँ रहस्यहरु सतहमा आएका छन् । बढ्दो सुन तस्करीलाई आज कान्तिपुर दैनिक र नयाँ पत्रिकाले केलाएका छन् । ‘सुन तस्करीको लहरो’ शीर्षकको मूल समाचारमा कान्तिपुरले लेखेको छ– उच्च प्रहरी अधिकारीसहित २० जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको विशेष समितिले घटना खोतल्दै जाँदा संगठित जालो क्रमशः खुल्दै गइरहेको छ ।’

यसका अतिरिक्त सरकारी निकायले बक्यौता नतिर्दा गुठी संस्थान १३ अर्बले थला परेको, सामुदायिक विद्यालयमा पनि निजीजस्तै शुल्क लिने गरिएकोलगायतका समाचारले पनि आजका पत्रपत्रिकाहरुमा उत्तिकै स्थान र महत्त्व पाएका छन् ।

हेरौं आजका पत्रपत्रिकाहरुमा छापिएका महत्त्वपूर्ण तथा रोचक–घोचक समाचार:

सातामा डेढ सय किलो सुन तस्करी

नयाँ पत्रिका दैनिकले आज साता डेढ सय किलो सुन तस्करी हुँदै आएको समाचार छापेको छ । सुनचाँदी व्यवसायीका अनुसार बजारमा दैनिक ४० केजी सुनको माग छ । तर, नेपाल राष्ट्र बैंकले २० किलो सुन मात्र आयात गर्ने अनुमति दिएको छ ।

फाइल फोटो

यसरी दिनमा २० किलो र सातामा करिब डेढ सय किलो सुन तस्करीबाट आएको अनुमान छ ।

वाणिज्य बैंकहरूले आलोपालो नियममा रहेर दैनिक २० किलो सुन आयात गर्छन् । तर, औसतमा यो मागभन्दा करिब ६० प्रतिशत मात्रै रहेको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अध्यक्ष रमेश महर्जन बताउँछन् ।

यति सुन देशभर रहेका २२ हजार व्यवसायीका लागि पर्याप्त नहुने उनको भनाइ छ । अफसिजनमा आयात भएको सुनको स्टक, ग्राहकले बिक्री गर्ने सुन र साटफेर गरेर जेनतेन बजारको माग धान्ने गरेको उनले बताए ।

सुन तस्करीका सात घुम्तीः काठमाडौंमा अपहरण, मोरङमा यातना

नयाँ पत्रिकाले ३३ किलो सुन तस्करी प्रकरणलाई आज मिहीन ढंगले केलाएको छ ।

नयाँ पत्रिका लेख्छ– फ्लाई दुबईको जहाजबाट ७ माघमा आएको साढे ३३ किलो सुन विमानस्थलको भन्सार र सुरक्षा संयन्त्र छलेर बाहिर आइपुग्यो । तस्करीको सुन विमानस्थलबाट बाहिर ल्याउने जिम्मा थाई एयरका प्राविधिक सानु बनले लिएका थिए । सानुले जसलाई सुन हस्तान्तरण गरेका थिए त्यो मान्छे अचानक बेपत्ता भयो । ऊ बानेश्वर पुग्नुपर्ने थियो । तर, सुन र मान्छे बेपत्ता भएपछि योजनाकार आत्तिए ।

तस्करीका मुख्य योजनाकार गोरे भनेर चिनिने चूडामणि उप्रेती हुन् । आफ्नो सुन हराएपछि उनले बनलाई नियन्त्रणमा लिएर धापासीस्थित थ्री मोटर्स ग्यारेजमा लगे । अनेक यातना पाएर ड्युटीमा फर्किएका बन अचानक २२ माघमा विमानस्थलभित्रै दुर्घटनामा मारिए । सिसिटिभी फुटेज भन्छ, ‘उताबाट उच्चगतिमा आइरहेको इन्धन ट्याङकरमुनि छिरेका बनले आत्महत्या गरेका हुन ।’ तर अनौठो, यो विषयमा विमानस्थल प्रशासन र प्रहरी संगठनले यो विषयमा गम्भीर अनुसन्धान गरेन । उनको मृत्युलाई सामान्य दुर्घटनाका रुपमा प्रहरी बुलेटिनबाट प्रचार गरियो ।

बनको ज्यान गयो, तर गोरेको सुन भेटिएन । बनको मृत्यु दुर्घटनामा दर्ज भएकोले गोरेलाई आफ्नो सुन खोज्न समय र सुविधा भयो । उप्रेतीले आफ्ना पूर्वलेखा सहयोगी सनम शाक्यले सुन लगेको शंका गरे । आफूसँग काम गरेर तीन महिनाअघि अलग्गिएका शाक्यले षड्यन्त्रपुर्वक सुन गायब बनाएका हुन सक्छन् भनेर उनलाई नियन्त्रणमा लिइयो । सनमसँगै टेकराज मल्ल, कृष्ण भनिने नरेन्द्र कार्की र मोहन काफ्लेलाई नियन्त्रणमा लिएर काठमाडौंबाट मोरङ पुर्याइयो । गाडिमा उनीहरुलाई त्यति टाढा पुर्याइँदा पनि पनि प्रहरीबाट कुनै हस्तक्षेप भएन ।

नियन्त्रणमा परेका चारै जना गोरेको सहयोगी र भरियाको रुपमा विगतमा काम गरिसकेका थिए । सुन कहाँ छ भन्दै उनीहरुलाई यातना दिन थालियो । करेन्टको झड्का सहन नसकेर सनमको ज्यान गयो । अब गोरेलाई सुन खोज्ने मात्र होइन, सनमको शब ठेगान लगाउने जिम्मा पनि आइलाग्यो । यो बीचमा गोरे र महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाका सई बालकृष्ण सञ्जलेबीच संवाद भइरहेको थियो । शव ठेगान लगाउने, सुन खोज्ने र यसवापत सइ सन्जेलले रकम पाउने सहमति भयो ।

गोरे खोज्न इन्टरपोल गुहार्दै प्रहरी

समाचारपत्र दैनिकका अनुसार सुन तस्करीका नाइके गोरे खोज्न प्रहरीले इन्टरपोल गुहार्ने तयारी गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भित्रिएको ३३ किलो सुन काण्ड र भरिया सनम शाक्यको हत्या अभियोगका मुख्य नाइके चूडामणि उप्रेती ‘गोरे’ खोज्न नेपाल प्रहरीले इन्टरपोलको सहायता लिन लागेको हो ।

शाक्यको हत्यापछि फरार रहेका उप्रेतीको खोजी गर्न अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलमा सूचना जारी गर्न लागिएको हो । इन्टरपोलमा संसारभरका १ सय ९२ राष्ट्रहरु रहेका छन् ।

सरकारले नै १३ अर्ब नतिर्दा गुठी संस्थान थला


धर्म, संस्कृति र सम्पदा संरक्षणको जिम्मेवारी लिएर बसेको गुठी संस्थानलाई सरकारले वर्षौंदेखि झन्डै १३ अर्ब रुपैयाँ तिरेको छैन । सरकारले संस्थानलाई हालसम्मको १२ अर्ब ६२ करोड, ५ लाख, ७९ हजार ५ सय ६४ रुपैयाँ तिर्न–बुझाउन बाँकी छ । सरकारले लामो समयदेखि गुठीको सम्पत्ति सित्तैमा उपभोग गरिरहेको छ ।

अन्नपूर्ण पोस्ट दैनिकका अनुसार, सबैभन्दा धेरै रकम जनकपुरका सरकारी कार्यालय र संघसंस्थाले गुठी संस्थानलाई बुझाउनु पर्नेछ । जनकपुरका सरकारी कार्यालय र संघसंस्थाबाट मात्रै करिब १० अर्ब रुपैयाँ गुठी संस्थानले पाउनु पर्नेछ ।

गुठी संस्थान ऐन, २०३३ को दफा ४२ मा सरकारले संस्थानको स्वामित्वमा रहेको गुठी जग्गा सामाजिक कल्याण वा सामुदायिक हितका लागि सहुलियत मूल्यमा लिन सक्ने व्यवस्था किटान छ ।

ऐनमा गुठी जग्गा अधिग्रहण गरे जग्गाको मुआब्जाको सट्टा जग्गा नै शोधभर्ना दिनुपर्ने भनिएको छ । कानुनतः सरकारले सांस्कृतिक महत्वको गुठी सम्पत्ति आफूखुसी भोगचलन गर्न पाउँदैन ।

संस्थानका लेखा प्रमुख दीपकबहादुर पाण्डेका अनुसार, धनुषाको जनकपुर नगरपालिकामा रहेका सरकारी कार्यालयले उपभोग गरेका गुठी तैनाथी जग्गाको मुआब्जाबापत ९ अर्ब ८७ करोड २९ लाख ९८ हजार ५ सय रुपैयाँ सरकारले गुठीलाई बुझाउन बाँकी छ ।

जनकपुरमै संघसंस्थाले उपभोग गरेको जग्गाको मुआब्जा गुठी संस्थानले पाएको छैन । त्यस्तै, धनुषा ट्राफिक कार्यालय जनकपुरले ३९ लाख ४० हजार लामो समयदेखि तिरेको छैन । उक्त रकम ०६१–६२ सालको मूल्यांकनका आधारमा तोकिएको हो । अहिले मूल्यांकन धेरै बढी हुने लेखा प्रमुख पाण्डे बताउँछन् ।

जनकपुरमा मात्रै २९ वटा सरकारी कार्यालय तथा संघसंस्थाले लामो समयदेखि गुठी संस्थानको जग्गा उपभोग गरिरहेका छन् । जनकपुरका अधिकांश सरकारी कार्यालय र संघसंस्था गुठीकै जग्गामा सञ्चालित छन् ।

अब नेपालीको प्रतिव्यक्ति आय १,०३,३००

प्रतिव्यक्ति नेपालीको वार्षिक आय ११ हजार तीन सय चार रुपैयाँ बढेको छ । गत वर्षको प्रतिव्यक्ति आय ९२ हजार ३१ रुपैयाँबाट बढेर यस वर्ष एक लाख तीन हजार तीन सय रुपैयाँ पुग्ने तथ्यांक विभागले जनाएको छ ।

शिक्षा, स्वास्थ्य, निर्माण तथा सामाजिक क्षेत्र, थोक तथा खुद्रा व्यापारमा आएको बढोत्तरीसँगै नेपालीको प्रतिव्यक्ति आय बढेको अन्नपूर्णको समाचारमा उल्लेख छ ।

पछिल्लो समय आर्थिक गतिविधिमा आएको सुधारका कारण रोजगारी, उत्पादन तथा उत्पादकत्व बढ्दा प्रतिव्यक्ति आयमा सुधार आएको पूर्व अर्थसचिव डा. शान्तराज सुवेदीले बताए । ‘नेपालीको औसत आय बढ्नुमा पुनर्निर्माण, ठूला तथा राष्ट्रिय गौरवका आयोजनाका निर्माणले लिएको गति, सरकारी खर्चमा भएको बढोत्तरीले नेपालको कुल गार्हस्थ उत्पादन बढ्न जाँदा त्यसको प्रभाव प्रतिव्यक्ति आयमा देखियो’, पूर्व अर्थसचिव डा. सुवेदीले अन्नपूर्णसँग भनेका छन्, ‘पछिल्लो समय विद्युत् आपूर्ति बढ्न जाँदा उद्योग क्षेत्रको उत्पादन बढ्नुका साथै निर्माणमा प्रगति हुँदै गएको छ ।’

उद्योग तथा पूर्वाधार क्षेत्रमा विकास र विस्तार हुँदै जाने, कृषि क्षेत्रलाई व्यवसायीकरण गर्दै यसको उत्पादनमा ध्यान दिने हो भने नेपालीको प्रतिव्यक्ति आय आगामी आर्थिक वर्षमा विकासशील देश तहमा स्तरोन्नति हुने उनको दाबी छ । विकासशील देशमा प्रतिव्यक्ति आय कम्तीमा १२ सय अमेरिकी डलर हुन्छ ।

र, यो पनि– १० हजार युवालाई मार्क्सवाद रटाउँदै एमाले–माओवादी !

प्रतीकात्मक तस्वीर

कार्ल माक्र्स जन्मको द्विशतवार्षिकी समारोह समितिले १० हजार युवालाई माक्र्सवाद पढाउने भएको छ ।

एमाले–माओवादी केन्द्रलगायत चार कम्युनिस्ट पार्टी सम्मिलित समितिले युवामा मार्क्सवादप्रति अभिरुचि घट्दै गएकाले पढाउने निर्णय गरेको नयाँ पत्रिका दैनिकमा खबर छ ।

माक्र्स जयन्तीको द्विशतवार्षिकीको उपलक्ष्यमा २१ र २२ वैशाखमा आजको मार्क्सवाद लोकतन्त्र, समृद्धि समाजवादलाई मूल विषय राखेर काठमाडौंको राष्ट्रिय सभागृहमा राष्ट्रिय गोष्ठी आयोजना गरिएको छ ।

यस्ता छन् आजका पत्रपत्रिकाका फ्रन्टपेज


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment