Comments Add Comment

अमेरिकी संसदमा फ्रान्सका राष्ट्रपतिले गरे अमेरिकाकै आलोचना

म्याक्रोले भने– उग्रराष्ट्रवाद समृद्धिको लागि खतरा

१३ वैशाख, काठमाडौं । फ्रान्सका राष्ट्रपति इमानुयल म्याक्रोले उग्रराष्ट्रवाद र पृथकतावाद विश्वको समृद्धिको लागि खतरा रहेको बताएका छन् । उग्रराष्ट्रवादको उन्मादबाट क्षति पुग्न नदिने पनि उनले बताए ।

अमेरिकाको तीन दिने भ्रमणमा रहेका म्याक्रोले अमेरिकी संसदको संयुक्त सत्रलाई सम्बोधन गर्दै सो धारणा राखेका हुन् ।

सम्बोधनको क्रममा उनले भने, ‘अलग–अलग रहनु, कसैलाई अलग–थलग बनाउनु या राष्ट्रवाद हाम्रो डरलाई हटाउनका लागि अस्थायी विकल्प त हुनसक्छ तर  विश्वलाई अगाडि बढ्नबाट रोक्न सकिँदैन । हाम्रा नागरिकमा डर कम हुँदैन बरु झन् बढाउँछ । हामी उग्र राष्ट्रवादको उन्मादबाट विश्वमा क्षति पुग्न दिँदैनौं ।’

संसदलाई सम्बोधन गर्नुअघि म्याक्रोले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गरेका थिए । म्याक्रो संसदमा प्रवेश गर्नासाथ सांसदहरुले तीन मिनेटसम्म उभिएर ताली बजाउँदै स्वागत गरेका थिए ।

म्याक्रोको यो अभिव्यक्तिले अमेरिकी नीति र उसका एजेन्डामा धक्का पुगेको बताइन्छ । यद्यपि अमेरिका र फ्रान्स निकट मित्र हुन् । तर, म्याक्रोको भाषणबाट थाहा हुन्छ अन्तर्राष्ट्रिय व्यापार र इरानदेखि पर्यावरणका मुद्दामा उनी अमेरिकी राष्ट्रपति ट्रम्पसँग विमती राख्छन् ।

५० मिनेट लामो भाषणको क्रममा म्याक्रोले सुरुमा अमेरिका र फ्रान्सको अटुट सम्बन्धको विषयमा बोलेका थिए । त्यसपछि उनले अमेरिकाले पर्यावरण सम्बन्धमा पेरिस सम्झौता पालना गर्ने विश्वास व्यक्त गरे । उनले फ्रान्स र इरानबीच सन् २०१५ मा भएको परमाणु सम्झौता नतोड्ने घोषणा गरे ।

ट्रम्पले पेरिस सम्झौताबाट अमेरिकालाई अलग गराइसकेका छन् र इरानसँगको परमाणु सम्झौता तोड्ने धम्की दिँदै आएका छन् ।

म्याक्रोले भने, ‘हाम्रो जीवनको उद्देश्य के हो ? हामी पृथ्वीलाई बर्बाद बनाइरहेका छौं र आफ्ना सन्ततीको भविष्यलाई दाउमा लगाइरहेका छौं । अन्त कतै अर्को पृथ्वी छैन । भविष्यमा हामी सबैलाई एउटै सत्यको सामना गर्नुपर्नेछ किनकी हामी सबै यसै पृथ्वीमा रहन्छौं ।’

म्याक्रोले भने, ‘व्यापार युद्ध कुनै समाधान होइन किनकी यसले केबल जागिर गुम्छ र महंगी बढ्छ । हामीले विश्व व्यापार संगठनमार्फत् समाधान खोज्नुपर्छ । हामीले नै बनाएको नियमलाई हामीले नै पालना गर्नुपर्छ ।’

ट्रम्पले हालै युरोप र चीनका उत्पादनको आयातमा नयाँ कर लगाएका छन् । किनकी उनलाई लाग्छ अमेरिका दोस्रो देशको गलत व्यापारिक नीतिको शिकार भइरहेको छ । ट्रम्पले भनेका थिए व्यापार युद्ध राम्रो हो र सजिलै जित्न सकिन्छ ।

अमेरिकालाई लक्षित गर्दै म्याक्रोले भने, ‘व्यक्तिगत रुपमा मलाई शक्तिशाली देश बन्ने, स्वतन्त्रता आन्दोलन गर्ने या राष्ट्रवादको भ्रमप्रति कुनै आकर्षण छैन ।’

सांसदको आलोचना

डेमोक्रेटिक पार्टीका वरिष्ठ सांसद एडम स्कीफले म्याक्रोको भाषणको आलोचना गरेका छन् । उनले एएफपी समाचार एजेन्सीसँग भनेका छन्– म्याक्रोले अमेरिकी राष्ट्रपति ट्रम्पको सीधा–सीधा विरोध गरेका छन् ।

यस्तै रिपब्लिकन पार्टीका जेफ फ्लेकले भनेका छन् म्याक्रोको भाषण ट्रम्पवादभन्दा बिलकुल उल्टो छ ।

तर रिपब्लिकन पार्टीकै अर्का नेता केविन मेक्कार्थीले भने ट्रम्प र म्याक्रोमा कुनै मतभेद नरहेको दावी गरे । उनले भने– म्याक्रोले भने कि उनी स्वतन्त्र र सही व्यापार चाहान्छन् । त्यही कुरा ट्रम्प पनि चाहान्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment