Comments Add Comment

ट्याक्सीमा अनलाइन बुकिङको योजना, मिटर बिलिङ अनिवार्य गर्ने तयारी

१३ वैशाख, काठमाडौं । सरकारले ट्याक्सीहरुलाई पनि अनिवार्य अनलाइन बुकिङ सिस्टममा लैजाने भएको छ । सार्वजनिक यातायातलाई साउन मसान्तसम्म कम्पनीमा जान अनिवार्य गरेलगत्तै ट्याक्सीमा पनि कडाइ गर्न लगिएको हो ।

हाल काठमाडौंमा अनलाइन बुकिङ सिस्टममा चलिरहेका सीमित ट्याक्सीहरुले यात्रु ठग्ने समस्या छैन । तर, अधिकांश ट्याक्सीले आफूखुसी भाडा लिन्छन् ।

यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराईले अब ट्याक्सी व्यवसायीलाई पनि अनलाइन सर्भिस बुकिङ सिस्टममा जान अनिवार्य गरिने बताए । उनकाअनुसार यात्रुलाई सरल तथा तोकिएकै भाडामा यात्रा गर्ने वातावरण तयार गर्न ट्याक्सी सेवामा सुधारको योजना बनाइएको हो ।

साथै पहेँलो रंगमा ‘ट्याक्सी’ लेख्न अनिवार्य गरिनेछ । फरक-फरक रंगमा लेखिँदा यात्रु झुक्किने समस्या छ ।

मिटर बिलिङलाई प्रभावकारी बनाउन कडाइ गरिने महानिर्देशक भट्टराईले बताएका छन् । धेरै ट्याक्सीले मिटरमा जान मान्दैनन् । पोशाक तोक्ने र मिटर बिलिङलाई अनिवार्य गर्दै अनलाइन बुकिङ सिस्टम लागू गर्ने विभागले जनाएको छ ।

अहिले ट्याक्सी व्यवसायीहरुको पनि फरक-फरक संघ छन् । अब यातायातसम्वद्ध कुनै संघसंस्था नवीकरण नहुने भएकाले ट्याक्सी व्यवसायीहरुलाई साउनसम्म अनिवार्य रुपमा कम्पनीमा जानुपर्ने अवस्था छ । यही मौकामा मिटर बिलिङ र अनलाइन बुकिङ लागू गर्न सके सफल हुने सरकारको बुझाइ छ ।

यसबारे छलफल गर्न ट्याक्सी ब्यावसायीहरुलाई बिहीबार विभागमा बोलाइएको छ । व्यवसायीसँग अनलाइनमा जाने समयसीमा मागिने भट्टराईले जानकारी दिए ।

अहिले सारथी, इडी क्याब, अनभर लगायत केही निजी कम्पनीले अनलाइन बुकिङको सेवा दिइरहेका छन् । तर, थोरै मात्र ट्याक्सी भएकाले भनेको बेला पाउन मुस्किल छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment