Comments Add Comment

१३ करोडको रक्तचन्दन भारतलाई दिने कि नेपालले राख्ने ?

कानून बनाएर रक्तचन्दन व्यवस्थापन गर्न वन मन्त्रालयलाई सुझाव

फाइल फाेटाे

१३ वैशाख, काठमाडौं । अत्यन्तै महंगो वन पैदावरका रुपमा रहेको रक्तचन्दन नेपालमा अहिले कति होला ? सरकारको आधिकारिक तथ्यांक अनुसार अहिले नेपालमा १ लाख ६४ हजार किलो रक्तचन्दन मौज्दात छ । भारतबाट चीनतर्फ लैजान खोजिएको सो रक्तचन्दन नेपालले जफत गरेर राखेको हो ।

गत वर्ष नै रक्तचन्दनको मूल्य प्रतिकिलो ८ सय रुपैयाँसम्म थियो । यही हिसाबले हेर्ने हो भने नेपालमा रहेको रक्तचन्दन बिक्री गर्दा १३ करोड २० लाख रुपैयाँसम्म आम्दानी हुन सक्छ ।

तर, नेपाल सरकारसँग जफत गरिएको रक्तचन्दनको व्यवस्थापन कसरी गर्ने भन्ने कुनै नीति छैन । यसैवीच मन्त्रिपरिषदबाट निर्णय गरेर यही आर्थिक वर्षमा भारतलाई ८१ हजार किलो रक्तचन्दन फिर्ता दिइएको छ, जुन ६ करोड ४० लाख मूल्य बराबरको हो ।

२० हजार किलो गायव

त्यसो त नेपालमा विभिन्न मितिमा २ लाख ६४ हजार किलो रक्तचन्दन समातिएको थियो । यसमध्ये ८१ हजार किलो भारतलाई फिर्ता दिइएको र १ लाख ६५ हजार किलो रक्तचन्दन मौज्दात रहेको सरकारी तथ्यांकमा देखाइए पनि २० हजार किलो केमा प्रयोजन भयो भन्ने वन मन्त्रालयसँग रेकर्ड छैन । मन्त्रालयले नमूना प्रयोजनमा २० हजार किलो रक्तचन्दन प्रयोग भएको बताउँदै आएको छ ।

रक्तचन्दन निषेधित वन पैदावरमा पर्छ । त्यसैले भारतबाट चीनतर्फ जाने रक्तचन्दन नेपालले आफ्नो भूमिमा समाउने गरेको हो । सन् १९७५ देखि नेपाल दुर्लभ वन्यजन्तु तथा वनस्पतिको अन्तरराष्ट्रिय व्यापार नियन्त्रण सम्बन्धी महासन्धीको पक्ष राष्ट्र रहँदै आएको छ ।

नेपालमा रहेको रक्तचन्दन विना प्रयोजन कुहिने गरेका समाचारहरु पनि बेलाबखत आउने गरेका छन् । अब यहाँ रहेको १३ करोड मूल्य बराबरको रक्तचन्दनको व्यवस्थापन कसरी गर्ने ? यसबारे सरकारले ठोस नीति बनाउनुपर्ने देखिएको छ । नेपालमा रहेको रक्तचन्दन मोदी सरकारलाई फिर्ता गर्ने वा आफैंले विक्री गरी राज्यको आम्दानीमा बाँध्ने ? यो विषयमा केपी ओली नेतृत्वको सरकार मौन रहँदै आएको छ ।

महालेखा परीक्षकको पछिल्लो प्रतिवेदनमा ऐन नियम तर्जुमा गरी रक्तचन्दन व्यवस्थापन गरिनुपर्ने सुझाव दिइएको छ ।

वन मन्त्रालयले रक्तचन्दनसम्बन्धी ऐन नियम तर्जुमा गरेर जफत गरिएको सामाग्री लिलाम विक्री गर्ने सक्ने कतिपयको तर्क छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment