Comments Add Comment

भरतपुर अस्पतालका पूर्वमेसु भुर्तेल भ्रष्टाचारी ठहर, ३ महिना जेल र ३४ लाख जरीवाना

१३ वैशाख, चितवन । विशेष अदालतले चितवनको भरतपुर अस्पतालका पूर्व मेडिकल सुपरिटेन्डेन्ट डा. केशवराज भुर्तेललाई भ्रष्टाचारी ठहर गरेको छ । अस्पतालको  चारपटकसम्म मेसु बन्दा भुर्तेलले पदको दुरुपयोग गरी अकुत सम्पती आर्जन गरेको भन्दै विषेश अदालतले उनलाई भ्रष्टाचारी ठहर गरेको हो ।

डा. भुर्तेललाई ३ महिना कैद, ३३ लाख ५६ हजार रुपैयाँ जरिवाना र सोही बराबर विगो भराउनुपर्ने फैसला अदालतले गरेको छ ।

उनले पदमा बसेर आर्जन गरेको सम्पतीमध्ये ३४ लाखको स्रोत नखुलेको देखिएको छ । बिगो बराबरको रकम उनको सम्पत्तिबाट भराउन पनि फैसलामा उल्लेख गरेको छ ।

डा. भुर्तेल पदमा रहँदा अस्पतालको ए र बी ब्लक भवन निर्माणमा ठेकेदारसँग मिलेर रकम असुल गरेको, स्टोरमा सेटिङ मिलाएर अकुत सम्पती आर्जन गरेको, उपकरण खरिदमा नाजायज ढंगले फाइदा उठाएको, कलेजको जग्गा भाडामा दिई व्यक्तिगत फाइदा लिँदै अस्पताललाई नोक्सानी गराएको, सेयर रहेको मौलाकालिका अस्पतालमा पाठेघरको अपरेसनमा घोटाला गरेको, पाठेघर नै निकालेको झुटो विवरण पेश गरेको, घर जग्गामा अकुत सम्पती लगानी गरेको लगायतका आरोप अख्तियारले लगाएको थियो । देवघाटमा धार्मिक पूजा अर्चना गरिरहेको दिन अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भुर्तेल विरुद्ध २०७२ फागुन ११ मा मुद्दा दायर गरेको थियो ।

अख्तियारले भरतपुर अस्पतालका तत्कालीन मेडिकल सुपरिटेन्डेन्ट डा. भुर्तेलविरुद्ध दुई करोड ६३ लाख ५२ हजार ६ सय ६८ रुपैयाँ भ्रष्टाचार गरेको आरोप लगाएको थियो । तर, करिब ३४ लाखको मात्र स्रोत पुष्टि हुन नसकेको विशेषको फैसलामा उल्लेख छ ।

डा. भुर्तेल विषेश अदालतबाट यसपटक सफाई पाउने र भरतपुर अस्पतालको पुनः मेसु बन्ने दाउमा थिए । उनले त्यसका लागि एमाले जिल्ला नेतृत्व र स्वास्थ्य राज्यमन्त्रीलाई समेत प्रभावमा पारेको स्रोतले जनाएको छ ।

भरतपुर अस्पतालको मेसु बन्न हिडेका डा. रविन खड्काको फाइललाई मन्त्रालयमा नै होल्ड गराउन डा. भुर्तेल सफल भएपनि विषेशको फैसलाले भुर्तेल असफल बनेका छन् । उमेर हदका कारण अवकासको नजिक पुगेका डा. भुर्तेल अहिले निजी अस्पताल मौलाकालिकामा काम गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment