Comments Add Comment

कोहलपुर एक्सप्रेस: मुम्बई एक्सप्रेसको फितलो फोटोकपी

कोहलपुर एक्सप्रेसले ‘मुड फ्रेस’ बनाउँछ, कथाको विश्वसनीयतामाथि प्रश्न नगर्ने र चरित्र चित्रणलाई तर्कसंगत नमान्ने हो भने । कुनै तडकभडक बिना नै फिल्मले २ घण्टा मनोरञ्जन गराउँछ । रमाइलो गराउन पात्र र प्रवृत्ति तथा प्रसंग र परिस्थितिको बान्की मिलाउने हरसम्भव प्रयास गरिएको छ । तर, यो प्रयास आयातीत छ । मुम्बई एक्सप्रेसबाट ।

कमल हसनको फिल्म मुम्बई एक्सप्रेसलाई चटक्कै बिर्सने हो भने, कोहलपुर एक्सप्रेस रमाइलो लाग्छ । किनभने कथाको बान्की, घटनाको बनोट, पात्रको प्रवृत्ति आदि सबै मुम्बई एक्सप्रेसबाट पैंचो लिइएको छ ।

फिल्ममा अपहरण एवं असुलीको खेल छ । हाँसोठट्टा छ । धोकाधडी छ । यसलाई नयाँपन दिनुभन्दा हुबहु फोटोकपी उतार्ने कलालाई निर्देशक विशाल भण्डारीले अच्छा मानेका छन् ।

कस्तो छ कथा ?

गर्भको बच्चाले आफूले जस्तै दुख, कष्ट खेप्न नपरोस् भन्नका खातिर चम्पा (प्रियंका कार्की) पुग्दो सम्पत्ति जगेर्ना गर्न चाहन्छिन् । यसका लागि उनीसँग ‘मास्टर प्लान’ छ । त्यही अभीष्ट पूरा गर्नका लागि देवर, भाइ र अर्की युवती (डेलिभरी गर्ल)लाई साथ लिन्छिन् ।

मारवडी साहु (रविन्द्र झा)का स्कुले छोरोलाई अपहरण गर्ने दाउपेच चल्छ ।

चम्पाले आफ्नै संगिनी जुनकिरी (केकी अधिकारी)लाई यसको सूत्रधार बनाउँछे । खासै कान नसुन्ने र सोझो प्रवृत्तिकी जुनकिरी (फिल्मभर जसलाई कोहलपुर एक्सप्रेस भनेर चिनिन्छ) चम्पाकै करकापमा बच्चा अपहरण गरेर पैसा असुल गर्ने धन्दामा लाग्न राजी हुन्छिन् ।

अब रमाइलो खेल सुरु हुन्छ । अपहरण गर्न खटाइएकी जुनकिरी राम्ररी कान सुन्दिनन् । उनको सहयोगी (विनोद न्यौपाने) भकभके छन् । अपहरण र असुलीको उपक्रममा दुवै एकअर्कासँग पग्लिन्छन् पनि । तर, उनीहरूको लभ-रोमान्सले कथामा कत्ति पनि ठाउँ पाउँदैन । कडा मिजासकी चम्पाको योजनामुताविक खुरुखुरु आज्ञापालन गर्नु जो छ !

फिल्म-कोहलपुर एक्सप्रेस

निर्देशक-विशाल भण्डारी

कलाकार- केकी अधिकारी, प्रियंका कार्की, ऋचा शर्मा, बुद्धि तामाङ, रविन्द्र झा, विनोद न्यौपाने, कुशाग्र भट्टराई आदि

अवधि- दुई घण्टा

शैली- हास्य

स्कुलमा आएका बच्चा अपहरण गरिन्छ । फिरौती मागिन्छ । जुन बच्चालाई अपहरण गरिएको हो, उसकी आमा तिर्सना (ऋचा शर्मा) बार डान्सर हुन्छिन् । तर, अपहरणमा परेका बच्चाका असली पिता को हुन् ? मारवाडी साहु ? डिआइजी ? मेयर ?

तिर्सनाले बच्चाका असली पिता को हुन् भन्ने भेद खोलेकी छैनन् ।

यही धमिलोमा बल्छी हान्ने आइडिया फुरेको छ, तिर्सनालाई पनि । यसरी अपहरण र असुलीमा एकपछि अर्का पात्र थपिँदै जान्छन् । अपेक्षा बढ्दै जान्छ ।

फिल्मको ह्याप्पी इन्डिङ नभएसम्म चम्पालाई प्रसूति होइन, ‘अपहरण र असुली’को छटपटीले सताउँछ । यस्तै छटपटी दर्शकमा पैदा गर्न सकिएको छ त ?

हँसाउनमै जोड

कमेडी जनराको फिल्म भएकाले स्वाभाविक मान्नु्पर्छ कि, फिल्मको सबै शक्ति हँसाउनमै खर्च गरिएको छ । तर, कान नसुन्ने र बोल्न नसक्ने भिन्न पात्रलाई एकै ठाउँमा उभ्याएर जसरी हँसाउने चेष्टा गरिएको छ, त्यसअनुरूप उनीहरूले झेल्ने परिस्थितिलाई स्वाभाविक बनाउन सकिएको छैन ।

गर्भवती महिलाले अपहरणको तानाबाना मिलाउनु । पेटको उपचार गर्न उनको लोग्ने अस्पताल भर्ना हुनु । अपहरित फुच्चे स्वयं अपहरणको नाटकमा सहभागी हुनु । मारवाडी साहुसँग फिरौती असुल गर्नु । कुनै पनि घटनाको बनोट कसिलो नभएको मात्र होइन, विश्वसनीय समेत छैन ।

फोटोकपी उतार्ने चक्कर

हिन्दी फिल्मको फोटोकपी उतार्ने जोडघटाउमा लागेका निर्देशकले कोहलपुर एक्सप्रेसमा खासै सिर्जनशीलता पस्कन सकेका छैनन् । जब कि फिल्मलाई विश्वसनीय एवं रोमाञ्चक बनाउने ठाउँ प्रशस्तै छ । तर, निर्देशकले यसमा कष्ट उठाएका छैनन् ।

दर्शकलाई हँसाउने चक्करमा यति सतही कथा बुनिएको छ कि, त्यो कुनै पनि कोणबाट रसिलो र कसिलो लाग्दैन । अपहरण गर्ने र फिरौती असुल गर्ने हल्काफुल्का खेलले कोहलपुर एक्सप्रेसलाई ‘जोक’ बनाएको छ ।

अपहरण गर्ने, फिरौती असुल्ने, प्रहरीलाई उल्लु बनाउने काम यसरी भएको छ, मानौँ त्यो कुनै मुस्किल काम होइन । यही मूल कथाका बीचमा प्रेम-रोमान्स पनि प्रवेश गर्न खोज्छ । त्यो अव्यक्त प्रेममा भने कथा बहकिँदैन ।

स्वाभाविक केकी, नाटकीय ऋचा

फिल्ममा चित्त बुझाउने एउटै कुरा कलाकारको अभिनय हो । देख्दा सोझी तर भित्री चतुर्‍याइँ गर्ने स्वभावकी युवतीमा केकी सुहाएकी छिन् । खास भूमिका नभए पनि बुद्धि तामाङको उपस्थितिले दर्शक रोमाञ्चित हुन्छन् ।

फिल्मभरि नै अस्पतालको शैयामा बसेका तामाङको अभिनय र संवाद रुचिपूर्ण छ । कडा मिजासकी गर्भवतीको भूमिकामा पि्रयंका औसत देखिएकी छिन् । ऋचा शर्मा बढी नाटकीय लाग्छिन् । कतिपय पात्रको उपस्थिति भने बेकार छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment