Comments Add Comment

अमेजनको मुनाफा दोब्बरले बढ्यो, तीन महिनामा डेढ अर्ब डलर


अमेरिकी इ कमर्श तथा क्लाउड कम्प्युटिङ कम्पनी अमेजनले सन् २०१८ को पहिलो तीन महिनामा १ अर्ब ६० करोड डलर नाफा कमाएको छ ।

पछिल्लो तीन महिनामा अमेजनले कमाएको मुनाफा गत वर्ष सोही अवधिको तुलनामा दोब्बरले बढी हो ।

अमेजनले पछिल्लो समयमा ओरिजिनल प्रोग्रामिंग तथा महंगा भरण केन्द्रहरुमा ठूलो लगानी खर्च गरिरहेको भए पनि कम्पनीको मुनाफामा उच्च दरको वृद्धि देखिएको छ ।

विश्लेषकहरुले यस त्रैमासिकमा अमेजनको मुनाफा गत वर्षको तुलनामा गिरावट आउने प्रक्षेपण गरेका थिए । तर अमेजनको क्लाउड कम्प्युटिङ व्यवसाय, अमेजन वेब सर्भिस तथा तीव्र गतिमा सफलता हासिल गरिरहेको कम्पनीको विज्ञापन विभागमा भएको उल्लेख्य आम्दानीसँगै कम्पनीको मुनाफामा उच्च दरको वृद्धि हासिल भएको हो ।

कम्पनीको ओरिजिनल प्रोग्रामिंगलगायतमा लगानीको कारण बढिरहेको खर्च पूर्तिका लागि अमेजन प्राइमको शुल्कमा वृद्धि गरिएको कम्पनीका प्रमुख वित्तिय अधिकारी ब्रायन ओल्साभ्स्कीले बताएका छन् ।

दुई दिनमै सामान डेलीभरी गर्ने अमेजनको सशुल्क सेवाको रुपमा रहेको अमेजन प्राइमको सब्सक्रिप्सन शुल्क प्रतिवर्ष ९९ रहेकोमा अर्को मे महिनादेखि १ सय १९ कायम गरिनेछ ।

अमेजन प्राइमको मूल्य भविष्यमा अझै वृद्धि हुने संकेत उनले गरेका छन् । अमेजनका सिइओ जेफ बेजोसका अनुसार अमेजन प्राइमका प्रयोगकर्ता १० करोड छन् ।

अमेजन कम्पनीको पहिलो त्रैमासिकको मुनाफा रिपोर्ट सार्वजनिक भएसँगै गत विहिबार कम्पनीको शेयर मूल्यमा ७ प्रतिशतले वृद्धि भयो ।

स्मरण रहोस् सन् २०१८ को पहिलो त्रैमासिकमा अमेजनले वस्तु तथा सेवा बिक्रिबाट ५१ अर्ब डलरको कारोबार गर्यो । जुन अघिल्लो वर्षको भन्दा ४३ प्रतिशतले बढि हो । अमेजन वेब सर्भिसको बिक्रि ५० प्रतिशतले वृद्धि भएर ५ अर्ब ४० करोड पुगेको छ ।

सन् २०१७ को अन्तिम त्रैमासिकमा अमेजनले १ अर्ब डलर मुनाफा कमाएको थियो । अमेजनले कुनैपनि त्रैमासिकमा १ अर्ब भन्दा धेरै मुनाफा कमाएको इतिहासमै पहिलो पटक थियो ।

सिएनएन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment