Comments Add Comment

‘कोहलपुर एक्सप्रेस’ ‘मुम्बई एक्सप्रेस’बाट ‘कपिड’ होइन ‘इन्स्पायर्ड’: केकी अधिकारी


नायिका केकी अधिकारीले निर्माण गरेको फिल्म कोहलपुर एक्सप्रेस यतिबेला हलहरुमा छ । कमेडी धारमा बनेको फिल्मप्रति मिश्रति प्रतिक्रियाहरु आइरहेका छन् ।

शुक्रबार फिल्मको ओपनिङ त्यति दमदार हुन सकेन । तर, शनिबार राम्रो पिकअप लिएको निर्मात्री तथा नायिका केही अधिकारीले बताएकी छिन् । उनका अनुसार शुक्रबार ५० प्रतिशत अकुपेन्सीबाट सुरुवात गरेको फिल्म शनिबार धेरै हलहरुमा हाउसफुल भएको थियो ।

सिंगलमा भन्दा मल्टिप्लेक्समा दर्शकको चाप बढि भएको केकीले बताइन् । यद्यपि, यही बेला हलिउड फिल्म एभेन्जरले गर्दा भने कोहलपुर एक्सप्रेसलाई धक्का लागेको छ । मल्टिप्लेक्सहरुले उक्त फिल्मलाई उच्च शो दिँदा आफूहरुले कम शो पाएको केकी बताउँछिन् ।

‘एभेन्जर रिलिज नभएको भए मल्टिप्लेक्समा उच्च शो पाउन सक्थ्यौं,’ केकीले भनिन् । यद्यपि, फिल्मको वर्ड अफ माउथ राम्रो भएकाले आगामी दिनहरुमा फिल्ममा दर्शकको चाप बढ्ने उनको अपेक्षा छ ।

शनिबार केकी विभिन्न हलहरुमा पुगेर दर्शकको प्रतिक्रिया बुझेकी थिइन् । यसक्रममा दर्शकहरुले पूर्ण मनोरञ्जनात्मक फिल्म बनाएको प्रतिक्रिा दिएका थिए ।

यस फिल्मलाई समिक्षकहरुले भने दक्षिण भारतीय फिल्म मुम्बई एक्सप्रेसको हुबहु कपि गरिएको भनेर आलोचना पनि गरिरहेका छन् । केकीले भने दुवै फिल्म एकपटक हेरेर मात्र टिप्पणी गर्न आग्रह गरिन् ।

‘फिल्म नहेरिकन हचुवामा आरोप नलगाइदिनुहुन आग्रह गर्छु,’ उनले भनिन्, ‘म आफैं सिनेमामा मौलिकता हुनुपर्छ भन्ने मान्यता बोक्ने व्यक्ति हुँ ।’

उनले धेरैजसो फिल्महरु कुनै न कुनै स्वदेशी वा विदेशी फिल्मबाट इन्स्पायर्ड (प्रभावित) हुने उल्लेख गर्दै कोहलपुर एक्स्प्रेस पनि मुम्बई एक्स्प्रेसबाट इन्स्पायर्ड भएको स्वीकारिन् । सरक्कै उतारिएको भन्ने आरोपप्रति उनको आपत्ति छ ।

मुम्बई एक्सप्रेसबाट कसरी इन्स्पायर्ड हुनुको कारणबारे उनले पत्रकार सम्मेलन नै गरेर बुझाउने योजना बनाएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment