Comments Add Comment

कांग्रेस महामन्त्री भन्छन्-रामचन्द्र दाइले आवेशमा बोल्नुभयो

१७ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले केन्द्रीय कार्यसमितिको निर्णय सर्वसम्मत रुपमै भएको दाबी गरेका छन् । आफ्नो असहमति रहेको भन्ने वरिष्ठ नेता रामचन्द्र पौडेलको दाबी ‘आवेशको अभिव्यक्ति’ मात्र भएको उनले बताए ।

आइतबार कांग्रेस बैठकले वाम गठबन्धनका कारण चुनाव हारेको र जिम्मेवारी केन्द्रीय समितिले दिने प्रस्ताव पास गरेको थियो । प्रवक्ता विश्वप्रकाश शर्माले महामन्त्रीको उपस्थितिमा पत्रकार सम्मेलन गरेर सर्वसम्मत रुपमा प्रस्ताव पास भएको बताए ।

तर, लगतै पौडेलले प्रस्तावमा आफ्नो असहमति रहेको बताए । चुनावी हारको नैतिक जिम्मेवारी पार्टी सभापति देउवाले लिनु पर्ने उनको अडान थियो ।

सोमबार पार्टी कार्यालयमा पत्रकारहरुसँग कुरा गर्दै महामन्त्री कोइरालाले भने, रामचन्द्र दाइले आवेशमा आएर बोल्नु भएको हो । सर्वसम्मतिले नै निर्णय भएको हो ।’

पार्टीलाई एक जुट बनाएर जाने बेला आएको भन्दै उनले सानोतिनो कुरामा नअल्झिन आग्रह गरे । आफ्नो आग्रहमा पदाधिकारी मनोनयन गर्ने तयारी रोकिएको भन्दै उनले सभापति र वरिष्ठ नेताबीच छलफल गरेर टुंगो लगाउन आग्रह गरे ।

पौडेललाई सहमत गराउन पहल गर्ने भन्दै उनले भने, सभापति र वरिष्ठ नेता छलफल गरेर निर्णय गर्नु पर्ने हो । म पनि त्यही अनुसार लाग्छु । यसले पार्टीलाई उर्जा दिन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment