Comments Add Comment

रामग्राम-लुम्बिनी-तिलौरोकोट जोड्न मोनोरेलः प्रधानमन्त्री

१७ वैशाख, बुटवल । प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्ध जन्मस्थल लुम्बिनीको दिगो पर्यटकीय विकासका निम्ति रामग्राम-लुम्बिनी-तिलौराकोट जोड्न मोनोरेल संचालनको आवश्यकता औल्याएका छन् ।

२५६२ औं बुद्ध जयन्ती समारोहलाई सोमबार लुम्बिनीमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले बुद्ध जन्मस्थल लुम्बिनी मात्र नभइ यससँग सम्बन्धित रामग्राम र तिलौराकोटको समेत एकीकृत विकास गर्न तीनवटै स्थानलाई मोनोरेलले जोड्ने गरी संभाव्यता अघि बढाइने बताए ।

‘रामग्राम, लुम्बिनी हुंदै तिलौराकोट जोड्न मोनोरेल संचालनका लागि छिट्टै संभाव्यता अघि बढाइन्छ’-प्रधानमन्त्रीले भने-‘अध्ययनले संभव हुने देखियो भने काम पनि अघि बढ्छ ।’

प्रधानमन्त्रीले बुद्ध जन्मस्थल बारे विभिन्न माध्यममा भ्रम फैलाउने प्रयास भएपनि भ्रममा नपर्न विश्व समुदायलाई आग्रह गरे । ‘तिलौराकोट लगायतका ठाउंमा गरिएका उत्खनन्ले पुष्टि गरिसकेको छ, बुद्ध जन्मस्थल भन्ने कहां हो भन्ने’-प्रधानमन्त्रीले भने-‘पाठ्यक्रमहरुमा पनि यसबारे भ्रम छैन ।’ बुद्ध जन्मस्थलबारे कसले भ्रम फैलाएको हो भन्ने चांही प्रधानमन्त्रीले खुलाएनन् ।

प्रधानमन्त्रीले लुम्बिनीको विकास अन्य शहरको जस्तो जथाभावी ढंगले गर्न नहुनेमा जोड दिंदै हरियाली प्रवर्द्धन र वातावरण संरक्षणसहितको व्यवस्थित र दीगो विकास गर्नुपर्ने बताए ।

बुद्ध जयन्ती लुम्बिनी र नेपालको मात्र नभई अन्तर्राष्ट्रिय पर्व भएको प्रधानमन्त्रीको भनाइ थियो ।

कार्यक्रममा प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश ५ को समृद्धिको दीर्घकालीन आधार पर्यटन विकास भएको चर्चा गर्दै लुम्बिनी प्रमुख आधार भएको बताए ।

उनले लुम्बिनीलाई रामग्राम र तिलौराकोटसंग जोडेर एकीकृत विकास गर्ने सोंचमा प्रदेश सरकार रहेको बताउंदै रामग्राम, लुम्बिनी हुंदै तिलौराकोट जोड्ने मोनोरेलका लागि संघीय सरकारको सहयोग चाहिने बताए । उनले रामग्राम, लुम्बिनी र तिलौराकोटलाई जोडेर बुद्ध परिक्रमा पथ बनाउनुपर्ने आवश्यकता औंल्याए ।

समारोहमा प्रमुख अतिथि बनेकी राष्ट्रपति विद्या भण्डारीले सम्बोधन भने गरिनन् । संस्कृति तथा पर्यटन मन्त्री रविन्द्र अधिकारीले अधयक्षता गरेको समरोहमा लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठीले उपस्थित स्वदेशी तथा विदेशी अतिथि र सहभागीलाई स्वागत गरेका थिए । समारोहमा लुम्बिनीको प्रचारप्रसारमा योगदान गरेका विभिन्न व्यक्तित्वलाई कोषले सम्मान गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment