Comments Add Comment

लुम्बिनीलाई मागीखाने बनाउने कि गरीखाने ?

बुद्धको जन्मदिनले सबैलाई बुद्धि देओस्

पछिल्लो समयमा संसारभरि नै बौद्ध धर्म र दर्शनको महत्व बढ्दै गएको छ । नेपाललगायत एशियाली देशहरुमा भन्दा पनि बढी पश्चिमा देशहरुमा बौद्ध धर्म र दर्शनको अध्यताहरु, अनुयायीहरु र सोप्रति सौहार्दता राख्नेहरुको संख्या बढ्दो छ ।

भगवान बुद्धले दिनुभएको शान्ति, अहिंसा, परोपकार, सदाचार, अपरिग्रह, निर्मोह जस्ता सद्गुणहरु मानव मात्रका लागि महत्वपूर्ण छन् । मानिसहरुको भवतृष्णा, विभव तृष्णा र काम तृष्णाका कारणले दुःख उत्पत्ति हुन्छ र त्यसको निरोधका लागि निर्वाण प्राप्त गर्नुपर्दछ भन्ने नै बुद्ध धर्मको सार हो ।

भगवान् बुद्धले आफ्नो उपदेशमा चार आर्य सत्यको कुरा गर्नुभएको छ । पहिलो आर्य सत्य हो- दुःख अर्थात यो संसार दुःख मय छ । दोश्रो आर्य सत्य हो- दुःख समुदाय एवं दुःखहरुको कारण । तेश्रो आर्य सत्य हो- दुःख निरोध अर्थात दुःखहरुको अन्त्य हुन्छ । र, चौथो आर्य सत्य हो- दुःख निरोध मार्ग अर्थात दुःखहरुको नाश गर्ने मार्ग ।

यसैगरी भगवान् बुद्धले मानिसमा उत्पन्न हुने तृष्णालाई क्षय गर्दै दुःख नाश गर्ने अष्टाङ्गकि मार्ग बताउनुभएको छ । ती हुन्- सम्यक संकल्प, सम्यक दृष्टि, सम्यक वचन, सम्यक कर्मान्त, सम्यक आजीविका, सम्यक व्यायम, सम्यक स्मृति र सम्यक समाधि ।

यी अष्टाङ्गकि मार्गहरुलाई प्रज्ञा, शील र समाधि गरी तीन भागमा विभाजित गरिएको छ ।

ईस्वी सम्वत् शुरु हुनुभन्दा ६२३ बर्ष पहिले कपिलवस्तु राज्यको राजकुमारका रुपमा जन्मिएका सिद्धार्थ गौतम जीवनको २९ बर्ष दरबारमा बिताएर राजपाठ, परिवार, विलासी जीवन सबै त्यागेर बैराग्यमा गए भन्नेहरुलाई भगवान् बुद्धले ज्ञान प्राप्तिपछि चोटिलो जवाफ दिनुभएको छ ।

अद्वीतीय र अलौकिक बालकका रुपमा जन्मिएका राजकुमार तत्कालीन समाजमा व्याप्त विकृति, विसङ्गति, दुःख, मृत्यु, रोग, हिंसा, युद्धजस्ता समस्याबाट मुक्ति दिलाउने उपायको खोजी गर्दै ज्ञान र शान्तिको मार्गमा लाग्ने प्रण गरेर सिद्धार्थ गौतमले दरबार छाडेकोमा दुई मत छैन । कठोर तपस्या, कष्ट, आलोचना र दुव्र्यवहार समेत सहेर सिद्धार्थ गौतमबाट वहाँ गौतम बुद्ध बन्नुभयो ।

सिद्धार्थ गौतमले आफूलाई न त भगवान् हुँ भन्नुभयो, न त वहाँको शिक्षालाई धर्म नै । वहाँले प्रतिपादन गर्नु भएको ज्ञान, करुणा, स्नेह, दया, क्षमा, अहिंसा, सत्यको मार्ग सर्बस्वीकार्य हुँदै गयो र कालान्तरमा बुद्ध धर्मका रुपमा परिणत भयो । फलस्वरुप वहाँको सम्झनामा स्तूप, चैत्य, गुम्वा, छोर्तेन, विहार, मन्दिरहरु बन्दै गए र तीर्थस्थलका रुपमा विकास हुँदै गए ।

सम्राट अशोकले बौद्ध धर्म ग्रहण गरी धर्म प्रचारका लागि उनी जहाँ जहाँ पुगे, ती स्थानहरुमा अभिलेखसहितका सम्पदाहरु समेत निर्माण गरे । कालन्तरमा ती स्थलहरु बाैद्ध तीर्थ स्थलको रुपमा परिणत भए । बौद्ध धर्मावलम्वीहरुमाझ तीर्थयात्राको ठूलो महत्व छ ।

तीर्थस्थलहरुको भ्रमण गर्नाले जीवनको लक्ष्य पूरा हुने, प्रज्ञा प्राप्त हुने, ऐश्वर्य र बैभवले परिपूर्ण दुर्लभ मनुष्य शरीर पाउने, विशुद्ध शील प्राप्त गर्ने, अज्ञानरुपी अन्धकार नाश भएर जाने एवं मानसिक अशान्ति र पीडाबाट छुट्कारा पाउने विश्वास रहेको पाइन्छ ।

प्रमुख धार्मिक तीर्थस्थलका रुपमा रहेको लुम्विनीको अस्थित्व बचाउने काम मौर्य सम्राट अशोकको इशापूर्व २४९ को तीर्थयात्रा र उनले खडा गरेको अशोक स्तम्भले नै गरेको पाइन्छ । उनले सो स्तम्भ खडा नगरेका भए लुम्बिनी, लुम्बिनीको रुपमा आज हुने थिएन होला । युनेस्को लगायत संसारलाई थाहा छ, भगवान् बुद्ध नेपालको लुम्बिनीमा जन्मिएका हुन् ।

भगवान बुद्धको जन्मभूमि लुम्बिनी, ज्ञान प्राप्त गरेको स्थान बोधगया, बुद्धत्व हासिल गरेपछि पहिलोपटक ज्ञानको प्रवाह -धर्मचक्र प्रवर्तन) गरेको स्थान सारनाथ र मुक्ति -महापरिनिर्माण) स्थल कुशीनगरलाई अति नै पवित्र तीर्थस्थलका रुपमा लिने गरिन्छ ।

यीमध्ये पनि लुम्बिनीको स्थान सबैभन्दा माथि छ । संयुक्त राष्ट्रसंघले समेत बैशाख पूणिर्माको दिनलाई ‘लुम्बिनी डे’ का रुपमा समेत मनाउने गरेको छ ।

लुम्बिनीलाई मागी खाने बनाउने कि गरी खाने बनाउने ? लुम्बिनीकै कारण समृद्ध नेपाल बनाउने कि नबनाउने भन्ने कुरा अझै प्रष्ट भएको छैन र लक्षित कार्यक्रमहरु सक्रियतापूर्वक कार्यान्वयन हुन सकेका छैनन् ।

बुद्ध जन्मभूमि लुम्बिनी वरिपरि १६० भन्दा बढी भगवान् बुद्धको जीवनीसँग जोडिएका धार्मिक, सांस्कृतिक, ऐतिहासिक, पुरातात्विक स्थानहरु छन् । यी स्थलहरुको संरक्षण, विकास र प्रवर्द्धन गर्दै आन्तरिक परिपथ निर्माण गर्न जरुरी छ

हालसम्म लुम्बिनीलाई मागीखाने नै बनाउने काम भएको पाइन्छ । लुम्बिनीकै नाममा भत्ता खानेहरु, व्यवसायका नाममा आम्दानी गर्नेहरु, भगवान् बुद्ध र लुम्बिनी त हाम्रोमात्र हो भन्नेहरुका कारण लुम्बिनी पछि परेको छ ।

यसका साथै भारत भौगोलिक एवं साँस्कृतिक रुपमा नेपालसँग धेरै अर्थमा समानता भएको देश भए पनि कितावहरुमा लेखेर होस् वा सिनेमामा विवादित अंश राखेर, नयाँ कपिलवस्तु खडा गरेर होस् वा पर्यटकहरुलाई गलत व्याख्या गरेर भारतले पनि भगवान् बुद्ध र लम्बिनीमाथि राजनीति गर्दै आएको छ । त्यसको प्रतिवाद न त सरकारले गरेको छ, न त बुद्ध भनेको हाम्रोमात्र हो भन्नेहरुले नै ।

अस्थिर सरकार र चरम राजनैतिक हस्तक्षेपका कारण विश्वको उच्च कोटीको तीर्थस्थल एवं पर्यटकीय स्थल लुम्बिनी विकासका आधारमा धेरै पछाडि परेको छ । १५ बर्षमा सक्ने गरी तयार पारिएको लुम्बिनी गुरुयोजना बनेको ४० बर्षमा पनि झण्डै ७५ प्रतिशतमात्र काम हुनु विडम्बना नै भएको छ ।

शान्तिका अग्रदूत बुद्धभूमि नेपालमा न त शान्ति छाउन सक्यो, न त विकासका गतिला कार्यक्रम सफल पार्न राजनैतिक दलहरु तथा सरकार नै लागेे । लुम्बिनी विकास कोषलाई राजनैतिक भर्तिकेन्द्रको रुपमा विकास गर्ने र आसेपासेहरुलाई नेतृत्वमा ल्याएर फाइदा लिने काम मात्रै भएका छन् ।

निहित स्वार्थका लागि लुम्बिनीमाथि गरिँदै आएको राजनीति बन्द गर्दै असंख्य सम्भावनाहरु भएको लुम्बिनी र नेपाली पर्यटकीय आकर्षणहरुलाई गुणस्तरीय उचाइमा पुर्‍याउन सकेमा समग्र देशलाई प्रत्यक्ष वा अप्रत्यक्ष धेरै फाइदा हुन सक्छ ।

नेतृत्वको दृढ इच्छाशक्तिको कमी र हरेक ठाउँमा राजनीति गर्ने परिपाटीले गर्दा योजनाविद र विज्ञहरुको सोच र कार्यक्रम भन्दा राजनैतिक लहडमा गरिने अनावश्यक कामले विश्वमा व्राण्डका रुपमा रहेका अद्भूत सम्पदा लुम्बिनीको यथोचित विकास हुन सकेको छैन ।

बुद्ध जन्मभूमि लुम्बिनी वरिपरि १६० भन्दा बढी भगवान् बुद्धको जीवनीसँग जोडिएका धार्मिक, सांस्कृतिक, ऐतिहासिक, पुरातात्विक स्थानहरु छन् । यी स्थलहरुको संरक्षण, विकास र प्रवर्द्धन गर्दै आन्तरिक परिपथ निर्माण गर्न जरुरी छ ।

त्यतिमात्र होइन, भगवान् बुद्धको जीवनीसँग जोडिएका स्थानहरु नेपालको लुम्बिनी, भारतको बोधगया, सारनाथ, कुशीनगर, तिब्बत, कोरीया, जापान, भुटान, म्यानमार, थाईल्याण्ड, श्रीलंका, पाकिस्तान लगायत अफगानिस्तानको बानियान प्रान्तसम्मको क्षेत्रलाई जोडेर अन्तराष्ट्रिय बौद्ध सर्किट निर्माण गर्ने र लुम्बिनीलाई केन्द्रविन्दू बनाउने हो भने नेपालले कल्पना गरेको भन्दा निकै धेरै पर्यटकहरु भित्र्याउन सकिन्छ ।

लुम्बिनी विश्वका डेढ अर्बभन्दा बढी बौद्ध धर्माबलम्वीहरुको प्रमुख तीर्थस्थल, डेढ अर्बभन्दा बढी हिन्दूहरुको आस्थाको केन्द्र हो । अन्य धर्माबलम्वीहरु र पर्यटकहरुको प्रमुख आकर्षक गन्तव्य हो । यसलाई अझ व्यापक बनाउन अन्तराष्ट्रियरुपमा प्रचार-प्रसार तथा यसको महत्व विश्वसामु प्रस्तुत गर्न जरुरी छ ।

भगवान् बुद्धको जन्मदिनको शुभ अवसरमा सबैमा सकारात्मक सोचको विकास भई त्यो आस्थाको धरोहरको विकास होस् भन्ने कामनाका साथै विकास तथा निर्माणका कार्यमा हातेमालो गर्दै विचारधारात्मक, भावनात्मक आदि रूपमा एकताबद्ध भएर अगाडि बढ्नु आजको आवश्यकता हो ।
(डा. घिमिरे धार्मिक पर्यटन एवं लुम्बिनी विषयका अध्येता हुन्)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment