Comments Add Comment

भूकम्पले विद्यालय क्षतिग्रस्त भएपछि एसओएसले बनाइदियो नयाँ भवन

१७ वैशाख, काभ्रे । काभ्रेको पनौती नगरपालिका–१ स्थित शान्ति निकेतन माविको नवनिर्मित भवन हस्तान्तरण गरिएको छ ।

विद्यालय प्राङ्गणमा आयोजित समारोहका बीच दातृ संस्था एसओएस बालग्रामले विद्यालय परिवारलाई भवन हस्तान्तरण गरेको हो ।

२०७२ साल वैशाख १२ गते गएको शक्तिशाली भूकम्पबाट विद्यालय भवन क्षतिग्रस्त भएपछि एसओएस बालग्रामले ४ करोड ४० लाख रुपैयाँको लागतमा नयाँ भवन निर्माण गरिदिएको छ ।

एसओएस इन्टरनेशनलका अध्यक्ष सिद्धार्थ कौल तथा जर्मन एसओएसका अध्यक्ष फोवार्डले विद्यालयका अध्यक्ष रामचन्द्र सापकोटा र प्रिन्सिपल रामचन्द्र केसीलाई भवनको साँचो हस्तान्तरण गरे ।

३ सय २५ जना विद्यार्थी अध्ययनरत शान्ति निकेतन माविमा रहेको अर्को भवन पनि भूकम्पले क्षति पुर्याएको थियो । सो भवन पनि रेट्रो फिटिङ गरेर बस्न योग्य बनाइएको प्रिन्सिपल रामचन्द्र केसीले जनाएका छन् ।

एसओएस बालग्रामका सल्लाहकार शंकर प्रधानाङ्गका अनुसार ग्रामीण क्षेत्रका बालबालिकाहरुलाई पनि शिक्षा र चेतनाको पहुँच विस्तार गर्ने लक्ष्य अनुसार नै विद्यालय भवन निर्माणमा सहयोग गरिएको हो ।

‘भूकम्प गएका बेला यस क्षेत्रमा ठूलो क्षति भएको थियो, विद्यालयजस्तो हजारौं बालबालिकाको भविष्य निर्माण गर्ने शैक्षिक प्रतिष्ठान तत्काल बनाउन पर्ने भएकाले हामीले सोही अनुरुपको पहल गरी भवननिर्माण गरेका हौं,’ प्रधानाङ्गले भने ।

आइतबार सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१२ स्थित भीमटारमा १ सय ७७ वटा नयाँ घर, एउटा सामुदायिक भवन र एउटा भव्य विद्यालय राष्ट्रपति विद्यादेवी भण्डारीमार्फत हस्तान्तरण गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment