Comments Add Comment

कोरियाको प्रगतिलाई अमेरिकाले समर्थन गर्ला ?

उत्तर कोरियाली नेता किम जोङ-उन र दक्षिण कोरियाली राष्ट्रपति मुन जाय-इन ले शुक्रबार दक्षिण कोरियाको पानमुनजोम क्षेत्रमा ‘पानमुनजोम घोषणापत्र’मा हस्ताक्षर गरेका छन् । यो घोषणापत्रले सन् १९५० देखि १९५३ सम्म चलेको कोरियाली युद्धलाई औपचारिकरुपले अन्त्य गर्ने र शान्तिको पथमा केन्द्रित हुने लक्ष्य लिएको छ ।

कोरियाली प्रायद्धीपमा निशस्त्रीकरण दुवै देशको साझा उद्देश्य रहेको यो घोषणापत्रले बताएको छ । किम सर्वोच्च नेता चुनिएपछि पहिलो पटक उत्तर कोरियाले निशस्त्रीकरणको सन्देश दिएको हो ।

किम-मुन वार्ताबाट अपेक्षाअनुरुप नै राम्रो नतिजा आएकाले यसलाई सफल मानिएको छ ।

किम-मुन वार्ताको दौरान गरिएको टेलिभिजन प्रत्यक्ष प्रशारणमा किमको उपस्थितिलाई धेरैले रुचाएका थिए, जसले दुई देशबीचमा एकै देशको जस्तो भावना रहेको देखाउँछ ।

यो उच्चस्तरीय वार्ताको उपलब्धी कमजोर हुन सक्छ भन्ने कुरामा पनि हामी पनि सचेत हुनुपर्छ, किनभने अर्का हेभिवेट खेलाडी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अझै मञ्चमा देखा पर्न बाँकी नै छ । किमको मुनसँग भेट हुनुभन्दा एकदिन पहिले डोनाल्ड ट्रम्पले किमसँग हुने भनिएको वार्ताको वीचमा नै उनी उठेर हिँड्न सक्ने बताएका थिए  । साथै उनले वार्ता नै नहुन सक्ने पनि बताएका थिए । यसले ट्रम्प-किम वार्ता अझै अनिश्चित भएको संकेत गर्छ ।

धेरै मानिसहरुले शुक्रबारको वार्तालाई ट्रम्प-किम वार्ताको पहिलो संस्करणका रुपमा लिएका छन् । मुनलाई ट्रम्पको विशेष दुतका रुपमा धेरैले लिएका छन् । किम-मुनको विचमा भएको कुनै पनि सहमतिलाई वासिङटनले समर्थन गर्नुपर्नेछ, अन्यथा ती सहमतिहरु कार्यान्वयन हुन सक्दैनन् ।

पानमुनजोम घोषणापत्रमा उल्लेख गरिए अनुसार कोरियाली प्रायद्वीपमा निशस्त्रीकरणको कुरा विशेष योजनाविनाको अवधारणामात्रै हो । किनभने यस्ता विशेष अभियानका लागि अमेरिका र उत्तर कोरियावीचमा सहमति हुनुपर्नेछ र दक्षिण कोरियालाई यसबारेमा मोलमोलाई गर्ने सीमित अधिकार मात्रै रहेको छ ।

शुक्रबारको बैठक यी दुई देशका उच्च नेताहरुवीच भएको तेस्रो बैठक हो, पहिले भएका यस्ता दुई बैठक असफल हुनुलाई दुई कोरियावीचको सम्बन्धमा उत्तर कोरिया र अमेरिकावीचको टकरावले फरक पार्ने प्रमाणको रुपमा लिन सकिन्छ ।

शुक्रबारलाई धेरै वर्षपछि कोरियालीहरु अत्यधिक खुसी भएको दिनका रुपमा लिन सकिन्छ । दुई नेताहरुले वार्ता र सम्झौता गरे । तर, अझै पनि धेरैले किम-ट्रम्पको वार्ताले नै शुक्रबार हासिल गरेको उपलब्धीलाई निर्धारण गर्ने आशंका रहेको बताएका छन् । पहिले धेरैले प्योङयाङको शीतकालीन ओलम्पिक गेममा देखाइएको सामीप्य लामो समयसम्म नटिक्ने चिन्ता व्यक्त गरेका थिए । र, अहिले पनि त्यस्तै चिन्ताले प्रायद्वीपमा धेरैलाई सताएको छ ।

परिवर्तन पक्कै पनि हुने आशा हामी गर्न सक्छौँ । पानमुनजोम घोषणापत्रमा हस्ताक्षर गरेपछि मुनले किमको हात माथि उठाए र कोरियाली प्रायद्वीपमा शान्तिका लागि प्रयास गर्ने उत्तर वा दक्षिण कोरिया बहिष्कृत नहुने कुरा देखाए ।

दक्षिण कोरियाले द्वन्द्व अन्त्य गर्न र वार्ताको सहजीकरण गर्नका लागि खेलेको भूमिका धेरै नै महत्वपूर्ण छ । सोलले पछिल्ला महिनाहरुमा आफ्नो सिर्जनात्मकता र सक्रिय सहभागिताले स्थितिलाई मोड्न सक्ने क्षमता आफूमा पनि रहेको प्रमाणित गरेको छ । वासिङटनले जे भन्यो, त्यो मान्नुभन्दा सोलले आफ्नो लक्ष्यमा अडिग रहनुपर्नेछ ।

ट्रम्पले धेरैपटक उनले किमलाई भेट्न पनि सक्ने वा नभेट्न पनि सक्ने बताएका छन् । तर, यी दुईको भेटवार्तालाई हृवाइटहाउसले मात्रै निर्धारण गर्दैन, दक्षिण कोरियाले पनि केही भन्ने छ । अमेरिकाले जे गर्छ, त्यसले दक्षिण कोरियाको स्वार्थलाई धेरै फरक पार्न सक्छ । सोल किम र ट्रम्पको बहुप्रतिक्षित वार्ताको दर्शक मात्रै होइन ।

(चिनियाँ पत्रिका ग्लोबल टाइम्सको सम्पादकीयबाट)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment