Comments Add Comment

कहाँको क्यालिफोर्निया, कहाँको सामाखुशी !

परिवर्तन भन्ने कुरा जहिले पनि मानिसले खोजिरहेकै हुन्छ । परिवर्तन नखोज्ने हो भने मानिस जहाँको त्यहीँ रहिरहन्छ । उसको खासै प्रगति हुँदैन । त्यसैले गर्दा आजको युगमा मानिस विभिन्न विचार र दृष्टिकोण लिएर विभिन्न ठाउँमा घुमफिर गरिरहेका हुन्छन् ।

मानिसको भ्रमण केवल रमाइलोका लागि भएको हुँदैन । मानिसले आफ्नो भ्रमणबाट धेरै कुराको अपेक्षा गरेको हुन्छ । भ्रमणबाट आत्मसन्तुष्टिका साथै भविष्यका लागि आवश्यकीय अनुभवजन्य विषयहरू प्राप्त हुन्छन् ।

यो सानो लेखमा धेरै कुरा अटाउन नसकिए पनि सार रूपमा कुनै पनि मानिसले आफ्नो सन्तुष्टि र परिवर्तनका लागि गर्ने भ्रमणबाट उपलब्ध हुने प्राप्तिको विषयमा प्रकाश पार्ने प्रयास गरिएको छ । यो पंक्तिकार पनि यही उद्देश्यबाट प्रेरित भई २३ मार्च २०१८ का दिन सामाखुशीबाट अमेरिकातर्फ प्रस्थान गरेको थियो ।

मलाई घरबाट एयरपोर्टसम्म पुग्न ट्याक्सी बाहेक अन्य विकल्प थिएन । ट्याक्सी खोजी गर्न घरबाट बाहिर गएँ । ट्याक्सी पाइहालियो । एयरपोर्टसम्म जान तयार हुँदै ड्राइभरले भने- ‘जान त केही छैन हजुर, फर्किंदा ग्राहक पाइदैन । पैसाचाहिँ अल्लि मिलाएर दिनुहोला ।’ मैलेे मिटरमा जाने होइन र भनी प्रश्न गर्दा को जान्छ मिटरमा एयरपोर्ट ? जाने हो भने हजार रुपैयाँ लाग्छ भन्ने ठाडो जवाफ पाएँ ।

सामान्य रूपमा एयरपोर्ट मिटरमा जाँदा तीन सय पचासको हाराहारी उठ्थ्यो । एक हजार भनेको हुँदा मलाई वार्गेनिङ गर्नसम्म अप्ठ्यारो लाग्यो । गलफती गरिबस्ने समय थिएन । बल्लतल्ल आठ सयमा सहमति भयो । यसरी ठगिनु जो कोहीका लागि पनि सामान्य हुने गर्छ ।

एयरपोर्टबाट भित्र छिरेपछि टिकट, पासपोर्ट, लगेज र बोर्डिङ पासको काम सकिएपछि इमिग्रेसनको चेक जाँचपछि अन्तिम प्रस्थान बिन्दुुमा पुग्दा एकजना प्रहरी आएर मसँगै बसेका यात्रुुलाई यही ढोकामा बसिरहनुहोला । जहाज आएपछि यही ढोकाबाट जानुहोला भनी उनी कतैतिर लागे । जब कि जहाजतर्फ जाने ढोका अर्कै रहेछ । उनी पनि केही समय जिल्ल परे । ती प्रहरीलाई सायद थाहा नभएको पनि हुन सक्छ । आफूलाई थाहा नभएको विषयमा नभनेको भए राम्रो हुने थियो ।

म प्लेन चढेर चिनियाँ भूमि ग्वान्जाओतर्फ लागेँ, प्लेनमा साह्रै राम्रो वातावरण थियो । हुनत जुनसुकै हवाइ उडानमा पनि राम्रो आतिथ्य गर्ने प्रयास हुन्छ नै । कतिपयमा भने त्यस्तो नहुन पनि सक्छ ।सबै ठाउँमा यस्तै किसिमको वातावरण भइदिने हो भने हामी कति सभ्य र सुसंस्कृत हुने थियौँ । हामी मानवको पहिचान सम्भवत धेरै उच्च विन्दुमा पुग्थ्यो ।

ग्वान्जाओमा जहाज अवतरण भएपछि त्यहाँबाट सानफ्रान्सिस्को जानु थियो मलाई । करिब दुई घण्टाको ट्रान्जिटपछि सानफ्रान्सिस्को लागियो । प्लेनभित्रको आतिथ्य उस्तै किसिमको सम्झनालायक थियो । प्लेन चढ्नु भनेको खासै ठूलो कुरा नभए पनि अन्य कुराहरूले मनलाई छुँदो रहेछ । मेरो देशमा हामी सबैले यस्तै किसिमको व्यवहार गर्न सकेको भए हामी पनि सम्मृद्धितिर अघि बढ्थ्यौं होलाजस्तो अहिले पनि लागिरहन्छ ।

जहाज अवतरण भएपछि म सीधै ब्यागेज क्लोमतिर लागेँ । ब्यागेज लिनुपूर्व अध्यागमन काउन्टरबाट सुरक्षाजाँच गराउनु पर्ने भएकोले यसको लागि लाइनमा बसेँ । लाइन लामो भए पनि जाँचकीको कामगराइ छरितो भएका कारण लामो लाइन एकैछिनमा सकियो । उनीहरूको दक्षता र इन्टेलीजेन्सीले गर्दा होला मेरो ब्यागलाई हेर्दै नहेरीकन तिमी जान सक्छौ भने र म आफ्नो लगेज लिएर आफ्नो बाटो लाग्न मात्र के लागेको थिएँ, ती सुरक्षा निकायका कर्मचारीले तपाई कहाँ जांदै हुनुहुन्छ भनेर प्रश्न गर्न भ्याइहाले ।

मैले क्यालिफोर्नियाको डेभिस जाँदै छु भनेँ । त्यसपछि उनले त्यो ठाउँ निकै राम्रो छ । तिम्रो आजको दिन सुखमय होस् भने अनि तिमी ट्याक्सीबाट जाने हौ भनि सोध्न भ्याइहाले । मैले मेरो मान्छे मलाई लिन आउँछन् भनेँ । उसो भए तिमी ग्राउण्ड ट्रान्स्पोर्टेसनमा जाउ भने । म सहज रूपमा त्यतैतर्फ लागेँ । मलाई लिन आउनुभएका आफन्तलाई भेटेपछि हामी आफ्नो गन्तव्यतर्फ लाग्यौं ।

मेरो देशमा यस किसिमको सहयोगी वातावरण भेट्न मुश्किल छ । यहाँ भने यस प्रकारको व्यवहारले मनै छुँदो रहेछ ।

बाटोमा आइरहँदा मेरा मनमा केही जिज्ञासा उजागर भइरहे । खुलदुली पनि उत्तिकै लागिरह्यो । किन सुरक्षा निकायले मेरो लगेज जाँच गरेनन् र किन मैले नसोधिकनै मैले नै जानकारी लिनुपर्ने बिषयमा उनले पूर्ण जानकारी गराए ।

अहिलेसम्म पनि कौतुहल लागिरहेको छ । मेरो देशमा यस किसिमको सहयोगी वातावरण भेट्न मुश्किल छ । यहाँ भने यस प्रकारको व्यवहारले मनै छुँदो रहेछ । हामीले पनि यस्तै व्यवहार गर्न सकेको भए, आचरणमा सुधार गर्न सकेको भए, इमान्दारिता र नैतिकता प्रदर्शन गर्न सकेको भए हाम्रो पनि छुट्टै पहिचान बन्न सक्थ्यो ।

क्यालिफोर्नियाको बसाइ निकै रमाइलो रह्यो । त्यसमा पनि लामो अन्तरालपछि आफन्तहरूसँग भेटघाट हुँदा मन प्रफुल्ल हुनु स्वाभाविकै थियो । सबैजना आआफ्नो काममा जाने हुँदा दिउँसोको समय बिताउन अलि मुस्किल हुँदो रहेछ । मेरो अन्य गतिविधि केही नभएकाले पुस्तकालय गएर अध्ययन गर्ने विचार गरेँ ।अपरिचित ठाउँ भएका कारणले गर्दा त्यहाँ पुग्न छोरीसँग जिज्ञासा राखेँ । उनले तुरुन्तै गुगलम्याप सर्च गरी बाटो पत्ता लगाइदिएपछि म पुस्तकालय पुगेँ । भव्य र ठूलो, त्यसमाथि अत्यन्तै व्यवस्थित ।

पुस्तकालयकी सम्पर्क व्यक्तिसँग भेट भयो । उनले सदस्यता लिनको लागि एउटा र्फम भर्नुपर्ने, पहिचानका लागि पासपोर्ट र बस्ने ठेगानाको प्रमाण पेस गर्नुपर्ने जानकारी दिइन् । भोलिपल्टै आवश्यक प्रमाण पेस गरेँ र पुस्तकालयको सदस्य बनेँ । त्यही दिन पुस्तक घर ल्याउने अवसर मिल्यो ।

मैले मेरो देशको अनुभवका कारण यति सजिलोसँग सदस्यता प्राप्त हुन्छ र घरमा पुस्तक ल्याउन पाइन्छ होला भन्ने कल्पनासम्म गरेको थिईन । म आश्चर्यचकित भएँ । यस प्रकारको प्रणाली र व्यवहारको विकास हुने हो भने हाम्रो देशको पनि विकास हुने थियो होला भन्ने मनमा कुरा खेलिरह्यो ।

क्यालिफोर्नियाकै बसाइको सन्दर्भमा भाग्यवश नयाँ वर्ष मनाउने अवसर मिल्न गयो । यसका लागि नेपाली सांस्कृतिक समाजको अध्यक्षता ग्रहण गर्नुभएकी नेतृ तारा बरालबाट पहिले नै निमन्त्रणा प्राप्त गरिसकेको हुँदा म खुसी भएको थिएँ । कार्यक्रममा उल्लेख्य मात्रामा सहभागिता भएको र त्यसमा पनि नेपाली पहिरनको उपस्थितिले कार्यक्रम रमाइलो थियो ।

विभिन्न नेपाली परिकारको व्यवस्था गरिएकाले त्यहाँ सहभागी हुने जोकोहीले पनि सायद त्यो क्षण अमेरिका नभई नेपाल नै सम्झिएका थिए होलान् भन्ने मेरो अनुमान छ । उक्त कार्यक्रममा सर्वप्रथम नेपाली राष्ट्रियगानले कार्यक्रमस्थल नै रन्किएको थियो । नाचगान र सांस्कृतिक कार्यक्रमले सभा भवनको रौनक बढेेको थियो । विदेशमा रहँदा पनि आफ्नै परिवेशमा नयाँ वर्ष मनाउने सौभाग्य मिलेकामा मैले आफूलाई भाग्यमानी ठानेँ ।

जमघटमा सामेल नेपाली समुदायसँंगको चिनजानको सन्दर्भमा धेरै साथीहरू कोही आफ्नै छिमेकी, कोही आफूले अध्ययन गरेको विद्यालयको वरिपरि पर्ने, कोही नातागोताले छुने, कोही जागिरको सिलसिलामा परिचित भएको हुँदा झनै खुसी लाग्नु स्वाभाविकै थियो । कहिले कहिले यस्तो अवसर मिल्दो रहेछ । मेरा अति मिलनसार साथी रमेश देवकोटासँग पनि लामो समयको अन्तरालपछि भेट भयो । म झनै प्रफुल्लित हुनपुगेँ ।

मलाई नेपाली दाजुभाइ, दिदीबहिनीहरू जहाँ रहे पनि नेपालीपन भने जीवितै राख्नुहुँदो रहेछ भन्ने कुरा महसुस भयो । यस प्रकारको कार्यक्रमले विदेशमा पनि नेपाली संस्कृतिको जगेर्ना भएको देख्न र सुन्न पाउँदा जो कोही नेपालीको मन गद्गद् हुनु स्वाभाविकै हो । विदेशमा हुने यस किसिमका कायक्रमलाई नेपालका सञ्चार माध्यमहरूले पनि प्राथमिकता दिनु राम्रो हुनेछ भन्ने मेरो ठहर छ ।

(हाल : अमेरिका)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment