Comments Add Comment

प्रदेश ३ मा देशभरका तस्कर, भ्रष्टचारी र डन बसेका छन् : गृहमन्त्री

'प्रहरीको सरुवा, बढुवामा गृहबाट अन्याय हुँदैन'

१८ वैशाख, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले प्रदेश नं. ३ मा देशभरका मुख्य तस्कर, भ्रष्टचारी, डन र फटाहाहरु बसेको बताएका छन् ।

प्रदेश स्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै थापाले भने, ‘उनीहरुलाई अब क्याकडाउन गर्नु पर्छ ।’ उनले जनताले महसुस गर्ने गरी तिनीहरुलाई नियन्त्रण गर्न प्रहरी अधिकारीहरुलाई निर्देशन समेत दिए ।

प्रदेश ३ बाट जाने सन्देशले देशभरका तस्कर, भ्रष्टचारी आफैं तह लाग्ने उनको भनाइ थियो ।

उनले प्रहरी प्रमुखहरुलाई राजनीतिक दल, तस्कर, उद्योगी र व्यवसायी बारे आउने दबाबलाई अस्वीकर गर्न समेत निर्देशन दिए । उनले गृहबाट गलत आदेश आयो भने त्यसलार्इ पनि अस्वीकार गर्नु पर्ने बताए ।

उनले प्रहरीको सरुवा, बढुवामा गृहबाट अन्याय नहुने प्रतिबद्धता समेत व्यक्त गरे ।

देशमा ३ किसिमको अपराध व्याप्त’

थापाले मुलुकमा अहिले तीन किसिमको अपराध व्याप्त रहेको व्याख्या गरेका छन् ।

‘पहिलो राजनीतिक अपराध छ । जनसरकारको नाममा देशमा अस्थिरता निम्त्याउन खोजिँदैछ । यसलाई नियन्त्रण गर्न कुनै आदेश कुर्नु पर्दैन एक्सनमा जानुस्’, प्रहरी अधिकारीतर्फ लक्षित गर्दै थापाले भने, ‘अर्को आर्थिक अपराध छ । सुन तस्करी, बालुवा तस्करी, भन्सार छली, गिटीदेखि मानव तस्करीसम्म, सिन्डीकेट लगायत छन् ।’

उनले सिन्डिकेटको अन्त्य र सुन तस्करीबारे छानबिन समिति गठन गरेर अपराध नियण्न्त्रणको सुरुवात गरिसकेको भन्दै अन्य क्षेत्र पनि सुद्धिकरण सुरु गरिने बताए ।

तेस्रोमा सामाजिक अपराध रहेको उनले बताएका छन् । यौन हिंसा, घरेलु हिंसा, बलात्कार, छुवाछुट जस्ता अपराध नियन्त्रण गर्न कडा कदम चाल्न उनले प्रहरीलार्इ निर्देशन दिए ।

उनले मदिराको नियन्त्रण र लागूऔषध निषेधका लागि गृहले विशेष कार्यक्रम पनि ल्याउन लागेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment