Comments Add Comment

पूजा र सुदर्शनले नस्वीकारेको ‘प्रेमकहानी’

निर्देशक सुदर्शन थापा र नायिका पूजा शर्माबीचको अफेयरको चर्चा नयाँ रहेन । र, यसको उनीहरुले गर्ने खण्डन पनि नयाँ रहेन ।

अहिले यो जोडी फिल्म ‘रामकहानी’मा व्यस्त रहँदा उनीहरुको कथित ‘प्रेमकहानी’ लाई अनलाइनखबरले फेरि कोट्यायो । दुवैबाट फेरि पुरानै रेडिमेड जवाफ आयो, ‘हामी राम्रो साथी मात्र हौं ।’

हिजो पूजाको जन्मदिनमा रातको १२ बजे नै फोन गरेर सुदर्शनले फस्र्ट विस गरेका थिए । फेसबुकमा लामो सन्देश पनि लेखेका थिए । तर, यसकै आधारमा प्रेम परेको भनेर ठोकुवा गर्न पनि मिलेन ।

यो जोडी विगत १० वर्षदेखि सँगै छ । उनीहरुको पहिलो भेट भने एउटा पत्रकार र निर्देशकको रुपमा भएको थियो । कुनै फिल्मी कार्यक्रममा पूजा हिमालयन टेलिभिजनकी रिपोर्टरको रुपमा उपस्थित थिइन् । त्यहाँ उनीहरुबीच औपचारिक परिचय भएको थियो ।

त्यतिबेला पूजाले केही म्युजिक भिडियो खेलेकी थिइन् भने सुदर्शनले केही चलचित्र निर्देशन गरिसकेका थिए । दुवै एक-अर्काको विषयमा जान्दथे । त्यसपछि उनीहरुको धेरै कार्यक्रममा देखभेट, बोलचाल भयो । मित्रता गहिरो हुँदै गयो ।

त्यतिबेलै सुदर्शन र नायिका सुश्मा कार्कीको प्रेम सम्वन्ध टुट्यो । पूजासँग निकटता बढाउन सुदर्शनलाई यो ब्रेकअपले मलजल गर्‍यो । आखिरमा उनले आफ्नो फिल्म ‘मधुमास’मा पूजालाई लिड हिरोइन बनाए । त्यतिबेला पूजाले एकाध फिल्महरुमा फुटकर रोल गर्न भ्याएकी थिइन् ।

मधुमासदेखि यता निरन्तर यो जोडी एक-अर्काको साथमा छ । पूजाले सुदर्शनलाई छोडेर बाहिरी ब्यानरको कुनै फिल्म पनि गरेकी छैनन् । आफैं निर्माणमा होमिँदा उनले सुदर्शनलाई नै निर्देशक लिएकी छिन् । उनीहरु अहिले आफ्नो प्रोफेसनमा एक-अर्काका परिपुरक भएका छन् ।

पूजाबाहेक अरुलाई हिरोइन नलिनुको कारणबारे सोध्दा सुदर्शन भन्छन्, ‘हामी लामो समयदेखि एउटै टिमको सदस्य भएका छौं, मलाई उहाँसँग काम गर्न सहज लाग्छ ।’

पूजा पनि सुदर्शनसँग काम गर्न आफूलाई कम्फर्टेबल हुने बताउँछिन् ।

अफिस एउटै भएकाले यो जोडी दिनहुँ सँगै हुन्छन् । तर, कामको सिलसिलामा बाहेक आफूहरुबीच भेटघाट नहुने सुदर्शनको दावी छ ।

‘हामी अहिलेसम्म सँगै घुम्न भनेर कतै गएका छैनौं, जति घुमेका छौं फिल्मकै सिलसिलामा गएका छौं,’ उनले भने । फोनमा पनि लामो कुराकानी नहुने उनको भनाई छ ।

‘केटा र केटी धेरै ठाउँमा सँगै देखिँदा मिडियामा गसिप बन्नु स्वाभाविकै हो । यसलाई अन्यथा लिएको छैन,’ सुदर्शन थप्छन् ।

त्यसो त उनीहरु दुवै पारिवारिक रुपमा पनि नजिक छन् । एक-अर्काको घरमा उनले पारवारिक कार्यक्रममा उनीहरु छुट्दैनन् ।

एउटी निर्मात्रीका रुपमा पनि सुदर्शन पूजाको प्रशंसा गर्छन् ।

‘उनी कुनै कुरामा पनि सम्झौता नगरीकन फिल्म बनाउने सोचकी निर्मात्री हुन्, खुलेर खर्च गर्न हिच्किचाउँदिनन्,’ सुदर्शनले भने । फिल्म निर्माणका क्रममा कतिपय कुरामा मतभेद पनि हुने तर त्यसले ठूलो रुप नलिने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment