Comments Add Comment

एमाले र माओवादी आन्तरिक छलफलमा, एकताको मिलनविन्दु खोज्ने प्रयास

१९ वैशाख, काठमाडौं । पार्टी एकता प्रक्रियाले गति लिन नसकिरहेको बेला नेकपा एमाले र नेकपा माओवादी केन्द्र आन्तरिक छलफलमा जुटेका छन् । दुबै पार्टीको अलग-अलग बैठकमा एकता प्रक्रियामा देखिएको गतिरोध र समाधानको उपायबारे छलफल हुने नेताहरुले बताएका छन् ।

एमालेले स्थायी कमिटी बैठक र माओवादी केन्द्रले सचिवालय बैठक बोलाएका छन् । माओवादी केन्द्रको बैठक बिहान ११ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ । यसैगरी एमालेको बैठक साँझ ६ बजेपछि प्रधानमन्त्रीको निवास बालुवाटारमा बस्ने छ ।

बिहीबार दुवै पार्टीका अध्यक्षबीच छलफल गर्ने तयारी छ । प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डबीच यसअघि पटक-पटक भएका छलफलले निकास निकाल्न सकेको छैन ।

माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले एकताको विन्दु पहिल्याउन छलफल गर्न लागिएको जानकारी दिइन् ।

एमाले र माओवादीबीच वैशाख ९ गते एकता घोषणा गर्ने भनिएको थियो । तर शीर्ष नेताहरुको व्यवस्थापनमा कुरा नमिलेपछि त्यो मिति टरेको छ । अब एकता घोषणाको नयाँ मिति तोक्ने नेताहरुले बताइरहे पनि अझै टुंगो लागिसकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment