Comments Add Comment

ब्याजको आम्दानी घटेपछि ६ बैंकको नाफामा गिरावट, कुन बै‌ंककाे नाफा कति ?

२० वैशाख, काठमाडौं । चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा ६ वटा बैंकहरुको नाफा घटेको छ । ब्याज आम्दानीमा आएको कमी र खर्च बृद्धिका कारण ती बैंकहरुले गतवर्षको यसै अवधिमा भन्दा कम नाफा कमाएका हुन् ।

हालै मात्र २८ वटै राष्ट्रिय वाणिज्य बैंकहरुको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक भएको छ । जसमा ६ वटा बैंकहरुको नाफा गत वर्षको चैत महिनासम्मको तुलनामा केही घटेको देखिएको छ ।

गत आर्थिक वर्ष २०७३/७४ को चैत मसान्तको तुलनामा आर्थिक वर्ष २०७४/७५ को चैत मसान्तमा ग्ल्ाोबल आइएमई, एनआईसी एसिया, प्रभु, माछापुच्छ्रे, नेपाल बंगलादेश र मेगा बैंकको खुद मुनाफा घटेको छ ।

यसमध्ये प्रभु र ग्लोबल आइएमई बैंकको खुद ब्याज आम्दानीमा कमी आएको देखिन्छ । गत वर्षको चैत मसान्तमा २ अर्ब ६५ करोड खुद ब्याज आम्दानी गरेको ग्लोबल आइएमईले यसवर्ष भने ब्याजबाट २ अर्ब ६१ करोड रुपैयाँमात्र आम्दानी गरेको छ ।

यस बैंकले चैत मसान्तसम्ममा १ अर्ब ४४ करोड रुपैयाँ खुद मुनाफा कमाएको छ । तर गत वर्षको यसै अवधिमा बैंकको खुद मु्नाफा १ अर्ब ४७ करोड रुपैयाँ रहेको थियो ।

गत वर्षको चैत मसान्तसम्ममा ब्याजबाट १ अर्ब ९५  करोड कमाएको प्रभु बैंकले चालु आर्थिक वर्षको सोही अवधिमा १ अर्ब ९० करोड मात्रै कमाएको छ । ब्याज घटेका कारण मुनाफामा पनि कमी आएको छ ।

गत वर्षको चैत मसान्तसम्ममा १ अर्ब ४४ करोड रुपैयाँ मुनाफा कमाएको प्रभुले चालु आर्थिक वर्षको सोही अवधिमा भने ८६ करोड ७१ लाख मात्रै मुनाफा कमाएको छ ।

आक्रामक रुपमा शाखा विस्तार गरिरहेको एनआईसी एसिया बैंकको पछिल्लो समय कर्मचारी खर्च बढेको छ । गत वर्ष ५८ करोड रुपैयाँ कर्मचारी खर्च रहेको यस बैंकको चैत मसान्तसम्ममा यस्तो खर्च ३२ करोड ७८ लाखले बढेर ९१ करोड पुगेको छ ।

त्यस्तै बैंकको ब्याज बापतको खर्चमा पनि वृद्धि भएको छ । बैंकको ब्याज खर्च नै ३ अर्ब ६२ करोडले बढेको देखिन्छ । चैत मसान्तसम्ममा ९ अर्ब ९ करोड व्याज आम्दानी गरेको यस बैंकले ६ अर्ब ४४ करोड रुपैयाँ नै व्याज खर्च गरेको छ । बैंकको खुद व्याज आम्दानी  ८१ करोडले बढेर दुई अर्ब ६५ करोड रुपैयाँ पुगेको छ ।

चालु आर्थिक वर्षमा यो बैंकले ९२ करोड ७६ लाख खुद मुनाफा गरेको छ । तर गत वर्षको चैत मसान्तसम्ममा भने यस्तो नाफा १ अर्ब १३ करोड रहेको थियो ।

कृषि विकास बैंकको खुद ब्याज आम्दानीमा गिरावट आएको देखिए पनि खुद मुनाफा भने बढेको छ । अघिल्लो आर्थिक वर्षको तेस्रो त्रैमासमा ५ अर्ब १५ करोड खुद ब्याज आम्दानी गरेको यस बैंकले चालु आर्थिक वर्षको सोही अवधिमा ४ अर्ब ३०  करोड रुपैयाँ मात्रै आम्दानी  गरेको छ ।

तर चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १ अर्ब ८०  करोड रुपैयाँ बराबरको रकम राइटब्याक गरेपछि भने बैंकको खुद मुनाफा बढ्न गएको देखिन्छ । गत वर्षको चैत मसान्तमा भने बैंकले ३९ करोड ४० लाख मात्रै राइटब्याक गरेको थियो ।

यसैगरी गत वर्षको तेस्रो त्रैमाससम्ममा ८२ करोड ७१ लाख खुद मुनाफा कमाएको नेपाल बंगलादेश बैंकको पनि यस्तो नाफा खुम्चेर ७१ करोड ३ लाखमा सीमित भएको छ ।

मेगा बै‌ंकको पनि अघिल्लो आर्थिक वर्षको तुलनामा खुद मुनाफा घटेको छ  । गत वर्षको तेस्रो त्रैमास सम्ममा ५४ करोड २४ लाख  रुपैयाँ कमाएको मेगाले चालु आर्थिक वर्षको सोहि अवधिमा ५२ करोड ४४ लाख मुनाफा गरेको छ ।

माछापुच्छ्रे बैंकको पनि खुद मुनाफामा गिरावट आएको छ । यो वर्षको चैत मसान्तसम्ममा माछापुच्छ्रेले ८१ करोड ५० लाख कमाएको छ । तर, गत आर्थिक वर्षको सोही अवधिमा भने यस्तो मुनाफा १ अर्ब ५१  लाख कमाएको थियो ।

पछिल्लो समय बैंकहरुले अपेक्षित मात्रामा कर्जाको विस्तार गर्न सकेका छैनन् । र, ब्याज बापतको खर्च पनि बढेको छ । जसका कारण केही बैंकहरुको नाफा घटेको देखिएको हो ।

सानिमा बैकका सिइओ भुवनकुमार दाहाल पछिल्ल्ाो समय बैंकहरुको ब्याज बापत हुने आम्दानीमा अपेक्षित वृद्धि हुन नसकेको बताउँछन् । जसको असर नाफामा देखिएको छ ।

दाहाल भन्छन् ‘बैंकहरुको आम्दानीमा कमी आएको छ, जसका कारण पनि बैंकहरुको खुद मुनाफामा असर परेको देखिएको हो ।’

६ वटा बैंकको मुनाफामा गिरावट देखिए पनि अन्य २२ बैंकले भने आफ्नो मुनाफामा बृद्धि गरेका छन् ।

राष्ट्रिय वाणिज्य बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा सबैभन्दा बढी कमाएको देखिन्छ । गत आर्थिक वर्षको चैत मसान्तसम्ममा २ अर्ब ७ करोड कमाएको यस बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ३ अर्ब ८ करोड खुद मुनाफा गरेको देखिन्छ ।

नेपाल इन्भेष्टमेन्ट, नबिल र नेपाल बैंकले २  अर्ब भन्दा बढी मुनाफा कमाएका छन् ।  त्यस्तै एभरेष्ट, कृषि बिकास बैंक, हिमालय, स्टाण्डर्ड चार्टड, एनएमबी, नेपाल एसबिआई, प्राइम, सिद्धार्थ, सानिमा र सिटिजन्स बैंकले भने अर्ब भन्दा बढी मुनाफा गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment