Comments Add Comment

फिल्म समीक्षा: मौलिक विषयमा कमजोर प्रस्तुति ‘डमरुको डन्डिबियो’

निर्देशक– छेतन गुरुङ
जनरा- स्पोर्टस ड्रामा
कलाकार– खगेन्द्र लामिछाने, अनुप बराल, मेनुका प्रधान, बुद्धि तामाङ आदि ।
अवधि– २ घण्टा १८ मिनेट

नेपालको राष्ट्रिय खेल कुन हो ? कुनै बेला विद्यालयस्तरको हाजिर-जवाफ प्रतियोगिताहरूमा सोधिने यो प्रश्नको तात्तातो जवाफ हुन्थ्यो, ‘डन्डिबियो ।’

डन्डिबियो किन राष्ट्रिय खेल हो, कसरी राष्ट्रिय खेल भयो, कहाँ खेलियो ? यस्ता प्रश्नहरू कहिल्यै सोधिएनन् । र, त्यसको जवाफ पनि खोजिएनन् । यस्तैमा युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलको रूपमा डन्डिवियो होइन, भलिबललाई मान्यता दियो ।

यतिबेलासम्म नेपालमा डन्डिबियोको संस्थागत सुरुवात भइसकेको थियो ।

राखेप अन्तर्गत नै संघ गठन गरेर डन्डिबियोलाई व्युँताउनका लागि केही युवा जुधिरहेका थिए । उनीहरूले राखेप परिसरमै डन्डिबियो खेल्ने कोर्ट समेत तयार गरेका थिए । डन्डिबियोलाई पुरातन ढर्राबाट खेल्दा त्यसले दर्शकलाई रोमाञ्च पस्कन सक्दैन भनेरै यस खेलका नियम र रणनीतिहरू परिस्कृत गरियो । केही प्रतियोगिता पनि भए । तर, डन्डिबियोको क्रेज स्थिर रह्यो ।

अहिले पनि यस्ता पुस्ता बाँकी छन्, जो किशोरवयमा डन्डिबियो खेल्दै हुर्किए । उनीहरूको मानसपटलबाट विस्मृत हुँदै गएको त्यही खेल अहिले पुनः ब्युँताइएको छ, सिनेमामार्फत । खगेन्द्र लामिछाने र छेतन गुरुङले यो जोखिम उठाएका हुन् ।

किन पनि यो जोखिम हो भने, यस्ता विषयवस्तुमाथि सिनेमा निर्माण गर्नुअघि गहन खोजको आवश्यकता हुन्छ । विषयको लम्बाइ, चौडाइ मात्रले पुग्दैन, गहिराइ पनि चाहिन्छ । गहिराइले मात्र पनि पुग्दैन, त्यसमा इमोसन, इगो, रोमाञ्चजस्ता सूक्ष्म तत्वहरूलाई सघन रूपमा घुसाइनुपर्छ । तब मात्र त्यस्ता फिल्मले मास दर्शकको मनमा उथलपुथल पैदा गर्न सक्छ ।

यस हिसाबले खगेन्द्र लामिछाने र छेतन गुरुङले उठाएको जोखिम चानचुने होइन । अर्को कुरा, यस्ता विषयवस्तुलाई कसरी कमर्सियल भ्यालुमा लाने भन्ने प्रश्न पनि उत्तिकै महत्वपूर्ण हुन्छ । जब कि अहिले कमेडी जनराको हल्काफुल्का सिनेमामा दर्शक रमाइरहेका छन् । उनीहरूलाई फरक स्वादमा लोभ्याउनु कम्ता चुनौतीको काम होइन ।

यसर्थ ‘डमरुको डन्डिबियो’ आफैंमा जोखिमको खेल हो ।

यो जोखिमसँग खेल्न हिम्मत गरेका छन्, लेखक तथा अभिनेता खगेन्द्र लामिछाने, निर्देशक छेतन गुरुङले । तर, कोर्टमा प्रवेश गर्नुअघि उनीहरूले जति तयारी गर्नुपथ्र्यो, त्यो गरे त ?

यो बहु-प्रतिक्षित फिल्म थियो । ‘हल्का मनोरञ्जन’को कन्टेन्ट भुत्ते हुँदै गएको अवस्थामा ‘डमरुको डन्डिबियो’ले एकदमै फ्रेस र गहन विषय उठान गरिरहेका थियो । कथा नेपाली फ्लेबरको थियो । अर्को कुरा, यसमा खगेन्द्र लामिछाने, अनुप बरालजस्ता एक से एक कलाकर्मीले आफ्नो पसिना मिसाइरहेका थिए ।

कस्तो छ कथा ?

फिल्ममा एकसरो कथा छ, डन्डिबियो खेलकै ।

लक्का जवान डम्बर (खगेन्द्र लामिछाने) गाउँ फर्किएका छन् । गाउँमा उनकी प्रेमिका माला (मेनुका प्रधान) छिन् । उनीहरूबीच खुल्लमखुल्ला प्यार चल्छ ।

तर, डम्बरलाई प्रेमिकाको तिर्सनाले गाउँसम्म तानेको होइन । बरु गाउँमा उनलाई बुबा पुस्ताले खेलेर अहिलेका पुस्ताले बिर्सिएको खेल ‘डन्डिबियो’ ब्युँताउनु छ । यसका लागि उनले शहरको सुख त्यागेका छन् । स्नातकोत्तरपछि उपलब्ध हुने रोजगारका अवसहरू त्यागेका छन् ।

डमरु अर्थात् डम्मर चाहन्छन्, डन्डिबियोलाई संस्थागत गर्न, आफ्नो माटोमा उब्जेको खेललाई अन्तर्राष्ट्रिय स्तरसम्म फैलाउन । तर, उनले सोचेजस्तो सबै कुरा ठिकठाक हुनेवाला छैन । किनभने, उनकै पिता (अनुप बराल), जसमा डन्डिबियो फोबिया छ । यो फोबिया किन पैदा भएको छ भने, डन्डिबियोलाई राष्ट्रिय खेल बनाउने चक्करमा उनले आफ्नो जवानी डुबाएका छन् । जब कि त्यसमा उनले हार व्यहोरेका छन् ।

स्थानीय विद्यालयका हेडमास्टर समेत रहेका बुबा आफ्ना छोरा डमरुलाई लोकसेवा दिएर सरकारी अफिसर बनाउने ध्याउन्नमा छन् । डमरुको ध्याउन्न छ, डन्डिबियोलाई जगाउने । बाबु-छोराको वैचारिक द्वन्द्वसँगै अघि बढेको फिल्मले कसरी डन्डिबियोको पक्षमा वकालत गर्छ त ? यही जिज्ञासाले तान्दै २ घण्टा १८ मिनेट बित्छ ।

किन हेर्ने फिल्म ?

डन्डिबियो खेलेर हुर्किएका पुस्ता यो फिल्म हेरेर पुराना स्मृतिमा रमाउन सक्छन् । नयाँ पुस्ताले हराइसकेको खेलबारे ताजा जानकारी हासिल गर्छन् । फिल्मले परिमार्जित रूपमै भए पनि डन्डिबियो के हो, कसरी खेलिन्छ, किन खेलिन्छ भन्ने सिलसिलाबद्ध जवाफ दिन्छ ।

करिब एकै शैलीको फिल्म हेर्दा-हेर्दै थाकेको आँखालाई यो फिल्मले केही सेकताप गर्न सक्छ । फिल्मको विषयवस्तु, शैलीमा नयाँपन मिल्छ ।

हिमालको पृष्ठभूमिमा उभिएको सुन्दर गाउँ, रहरलाग्दो भेडीखर्क, शरद ऋतुको मोहक मौसम, घतलाग्दा गाउँलेहरूलाई आकर्षक ढंगले फ्रेमभित्र समेटिएका छन् । फिल्मको पूवार्द्धका दृश्यहरूमा हरि हुमागाईंले लोभलाग्दो काम गरेका छन् । कालिप्रसाद बास्कोटाको संगीतमा आफ्नै मीठास छ ।

मेनुका प्रधान, बुद्धि तामाङ, आशन्त शर्माजस्ता माझिएका कलाकारहरूको स्वाभाविक अभिनय एवं संवाद-शैली लोभलाग्दो छ । नेपाली परिवेशमै उब्जिएको र वर्तमान अवस्थामा हराइसकेको खेलका लागि यो फिल्म एउटा दस्तावेज बन्न सक्छ ।

के छ कमजोर पक्ष ?

यो फिल्मको सन्दर्भमा पुरानै भाषा दोहोर्‍याउनुपर्ने हुन्छ, गम्भीर बिषयमा पनि झुर फिल्म बन्न सक्छ । फिल्मलाई ‘झुर’ नै त नभनौं । तर, अब्बल भन्न सकिने स्थिति छैन ।

फिल्मले उठान गरेको विषय आफैमा ताजा र गहन छ । मौलिक पनि । तालमेल मिलेको भए, यो फिल्मले हराइसकेको खेललाई पुनः ब्युँताउन सक्थ्यो । एउटा नयाँ मुद्दाले सशक्त रूपमा प्रवेश पाउँथ्यो । तर, त्यसो भएन । डन्डिबियोलाई सतही रूपमा बुझेर ‘चक दे इन्डिया’ वा ‘भाग मिल्खा भाग’ जस्तो फिल्म बनाउने अभ्यास आफैंमा पूर्ण छैन ।

खगेन्द्र लामिछानेले डन्डिबियो खेलबाट नयाँ मुद्दा उठान गर्ने तथा दर्शकलाई मनोरञ्जन पनि दिलाउने चक्करमा फितलो घटनाक्रम जोडिएको छ । डन्डिबियो खेलप्रति डमरुको बुबालाई उक्साउन, साथीभाइलाई कन्भेन्स गर्न, जनमानसमा क्रेज पैदा गर्न एकपछि अर्को प्रसंगको सिलसिला यसरी मिलाइएको छ, जुन स्वाभाविक लाग्दैन ।

शहरमा पढेका केटो गाउँ फर्केर डन्डिबियो खेल स्थापित गर्न लागि पर्छन् । साथीभाइलाई कन्भिन्स गर्छन् । खेलको नियम सिकाउँछन् । आखिरमा आफ्नै बुबासँग उनको भिडन्त हुन्छ । अब, यही ठाउँमा पुगेपछि फिल्म बत्तिन्छ ।

स्थानीय स्तरको प्रतियोगितामा बुबासँग भिडेको छोराको हार हुन्छ । त्यही हारको पीडाले उनलाई कतिसम्म सताउँछ भने, उनी गाउँ छाडेर शहर लाग्छन् । दिलोज्यान दिएर लागेको खेललाई चटक्कै त्याग्छन् । प्रेमिकालाई छाड्छन् । उनको रहर, उद्देश्य सबै बदलिन्छन् । कति नाटकीय ?

कुनै अपरिचित खेललाई संस्थागत गर्न लागिपरेको एउटा जोसिलो तन्नेरी सामान्य प्रतियोगितामा आफ्नो पिताबाटै पराजित भएपछि त्यसरी बद्लिन सक्छन् ? जब कि उनी खेलाडी बन्न होइन, खेललाई स्थापित गर्ने मनोभाव पुगेर गाउँ पुगेका हुन्छन् । खेलमा जित हुन्छ वा हार । हरेक खेलाडीसँग हारलाई पचाउने सामथ्र्य हुन्छ । तर, सिंगो खेललाई नै ब्युँताउने, जगाउने, फैलाउने उद्देश्य लिएका युवा सामान्य हारबाट कति विचलित हुन्छन् भने, त्यसैले कथामा बाँकी उथलपुथल पैदा गर्छ ।

खगेन्द्र लामिछाने आफैंमा माझिएका कलाकार हुन्, लेखक हुन्, नाटककार हुन् । अर्का पात्र अनुप बराल पनि नेपाली रंगमञ्चका उम्दा अनुहार हुन् । मेनुका, आशन्त, बुद्धिजस्ता रंगकर्मबाट उठेका कलाकर्मी फिल्ममा छन् । तर, यत्तिका कलाकर्मी सम्मिलित फिल्मका कतिपय घटना अस्वाभाविक एवं नाटकीय लाग्छन् । कतिपय घटना अनावश्यक लाग्छन् ।

खेलमा जोश हुन्छ, रोमाञ्चकता हुन्छ, इमोशन हुन्छ, इगो हुन्छ । यी कुराहरूले दर्शकको मनमा स्पर्श गर्न सक्नुपर्छ । ‘डमरुको डन्डिबियो’ले दर्शकमा न जोश पैदा गर्छ, न त इमोशन । कतिसम्म भने, खेलमा जित र हारले ल्याउने उथलपुथल समेत दर्शकसम्म आइपुग्दैन ।

डन्डिबियो खेल्ने खेलाडीहरूमा जति भावावेग उत्पन्न गरिएको छ, सोहीअनुसार दर्शकमा गर्न सकिएको छैन । दर्शकहरू उफ्रिएका, हौसिएका, खुसी भएका, विस्मात मानेका दृश्य, सबै नाटकीय लाग्छन् ।

शहरका बौद्धिकबर्ग डमरुको डन्डिबियोबाट रमाउन सक्लान् । तर, मास दर्शकलाई बाँधेर राख्न गाह्रो हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment