Comments Add Comment

कार्ल मार्क्स र नेपाली समाजको परिवर्तन

आजभन्दा ठ्याक्कै २०० वर्षअघि अर्थात् ५ मे, १८१८ मा विश्व विख्यात दर्शनशास्त्री तथा कम्युनिष्ट विचारका प्रणेता कार्ल माक्र्सको जन्म भएको थियो ।

पुँजीवादी उत्कर्षमा पुगेको आजको विश्वमा पुँजीवादबाट सिर्जित तमाम समस्याहरू समाधान गर्दै नयाँ संसारको निर्माण गर्ने अभिलाषा बोकेकाहरू कार्ल मार्क्सका दर्शनशास्त्र फेरि पल्टाउन थालेका छन् । उनको २०० औं जन्मजयन्ती मनाउन र माक्र्सवादलाई मन्थन गर्ने लहर अंहिले विश्वभर नै चलेको छ । नेपालमा पनि त्यही दिन पारेर दशौं हजारलाई माक्र्सवाद पढाउने भन्ने हल्लाखल्ला छ ।

कार्ल मार्क्स आधुनिक विश्वका सबैभन्दा प्रभावशाली राजनितिक दार्शनिक मानिन्छन् । सन् १८४५ मा जम्मा २९ वर्षको उमेरमै माक्र्सले फ्रेडेरिक एङ्गेल्स भन्ने साथीसँग मिलेर कम्युनिष्ट पार्टीको घोषणा पत्र लेखे । यो घोषणा पत्र संसारमा सबैभन्दा बढी पढिएको र प्रयोगमा ल्याइएको दस्तावेजमा पर्छ ।

लेखिएको झण्डै १ सय ७० वर्षपछि पनि समाज परिवर्तनको स्वरूप विश्लेषण गर्न यो दस्तावेज सफल छ भन्ने आम वुझाइ छ । विश्व जगतमा हालैका दिनमा देखिएका पुँजीवादी स्वरूपहरू र वर्ग विभाजनको अवस्थालाइ हेर्दा माक्र्सको घोषणापत्र झनै आवश्यक र व्यावहारिक रहेको धेरै विद्वानहरूको दावी छ ।

राजनीतिक क्षेत्रमा समेत यसको महत्व बढेर गएको छ । चीनका राष्ट्रपतिले हाल सबै चिनियाँहरूलाई यो घोषणा पत्र पुनः पढ्न आह्वान गरे र पार्टीका कार्यकर्तालाई पाँच पटकसम्म पढ्न निर्देशन दिए ।

घोषणापत्रलेे पुँजीवादी विश्व समाज कसरी परिवर्तन हुन्छ र शोषणरहित र पूर्ण रूपमा मुक्त समाजको निर्माण कसरी सम्भव छ भन्ने व्याख्या गरेको छ । घोषणा पत्र अनुसार पश्चिमा पुँजीवाद विश्वव्यापी फैलँदै जान्छ । यसरी फैलने क्रममा पुँजीवाद बाहेकका सबै खाले आर्थिक, राजनीतिक परम्पराहरू र व्यवस्थाहरू पूर्ण रूपमा ध्वस्त हुँदै पुँजीवादी सामाजिक संरचनामा विलीन हुन्छन् । यसरी विलय गराउने क्रममा समाजमा आर्थिक विभेद बढ्दै जान्छ ।

फलस्वरूप समाज पूर्ण रूपमा पुँजीपति वर्ग र श्रमिक वर्गको रूपमा विभाजन भई धनी, सम्पत्तिवाल र सर्वहारा वर्गको विचमा द्वन्द्व बढेर जान्छ । मध्यम वर्ग, किसान, जग्गावाला, साना व्यापारी सबै मासिँदै जान्छन् । नाफावाट सिर्जित सम्पत्ति थोरैभन्दा थोरै पुँजीपतिको हातमा जम्मा हुँदै जान्छ । यसरी जम्मा हुने क्रममा अधिकांश मानिसहरू सम्पत्तिविहीन हुन्छन् । पुँजीपति वर्गले यी सम्पत्ति विहीन अरबौ मान्छेहरूलाई बाँच्नसक्ने ज्याला समेत दिन छाड्छ । जसले गर्दा व्यापक विद्रोह हुन्छ र पुँजीवादको अन्त्य भई नयाँ युगको सुरुवात हुन्छ । यही हो त्यो घोषणापत्रको सार ।

मार्क्सले भने जस्तो होला नहोला, कहिले होला, ती आफ्ना ठाउँमा छन् तर केही मुठ्ठीभर पँुजीपतिको हातमा सम्पत्तिहरू थुप्रिनु र अधिकांश जनता अभावमा बाँच्न वाध्य हुनुपर्ने हालको अवस्थामा घोषणापत्रको व्याख्या वास्तविक देखिन्छ । विश्वका पचास जनाभन्दा कम व्यक्तिसँग संसारको आधा जनसंख्याको भन्दा धेरै सम्पत्ति छ । यो खाडल झन् वढ्दो छ ।

घोषणापत्रमा उल्लेखित पुँजीवादको अवधारणाको बारेमा विस्तृत व्याख्या गर्नको लागि माक्र्सले ‘पुँजी’ भन्ने किताब लेखे । तीन भागमा लेखिएको यो पुस्तक यति प्रख्यात वन्यो कि यो पढाइ नहुने सायद संसारमा कुनै विश्वविद्यालय छैनन् होला । यो किताबले पुँजी कसरी निर्माण हुन्छ र पुँजीवाद कसरी श्रमिकको श्रमको शोषण गरेर मौलाउँछ भन्ने व्याख्या गरेको छ । पुँजीवादमा व्यक्ति व्यक्तिबीचका सम्बन्ध टुट्दै जान्छन् । व्यक्तिहरू कि उत्पादक हुन्छन् कि उपभोक्ता हुन्छन् । सामाजिक सम्बन्ध, नातागोताहरू वजारमा बिक्री हुने सामानले निर्धारण गर्छ । बजारका लागि उत्पादन गरिएका वस्तुहरूले अन्य सामाजिक सम्वन्धहरू विस्थापित हुन्छन् । यो विस्थापनको प्रक्रियामा अधिकांश मानिसहरू कामदारको रूपमा परिणत हुन्छन् । कामदारहरूले कम ज्यालामा बढी मुनाफा कमाउने सामानहरू उत्पादन गर्न वाध्य हुन्छन् । यही अवस्थाले पुँजीपतिको हातमा सवै सम्पत्तिहरू केन्द्रित हुँदै जान्छ । जबसम्म सामाजिक सम्बन्धहरू बजारका वस्तुले निर्धारण गरिरहन्छन् तबसम्म आम मानिसमा आफ्नोपन र आफूमाथि आफ्नै नियन्त्रण पाउँदैनन् । त्यसकारण बजारवाट निर्देशित पुँजीवादी समाजको अन्त्यपछि मात्रै आम मानिसले वास्तविक मुक्ति पाउँछन् । पुँजी भन्ने किताबको सारले हाम्रो समाज परिवर्तनको अवस्था झल्काएको छ ।

नेपालको आर्थिक सामाजिक अवस्था अबका दिनमा कता जाला, यसै भन्न सकिँदैन तर माक्र्सका अवधारणहरूलाई आधार मान्ने हो भने नेपाल छोटो समयमा नै पुँजीवादी उत्कर्षमा पुग्नसक्ने सम्भावना देखिन्छ ।

देशलाई खुल्ला बजार अर्थतन्त्रमा प्रवेश गराएपछि बढ्दै गरेको विदेशी लगानी अब अत्यन्त धेरै बढेर जानेछ । नेपालमा अपनाइएको समृद्धिको खाका पश्चिमा पुँजीवादबाट प्रभावित छ र यसमा समाजलाई पुँजीवादी विकासतर्फ कसरी छिटो भन्दा छिटो बदल्ने भन्ने आशय रहेको छ । विश्वमा पुँजीपतिको हातमा अथाह पुँजी सञ्चय भएको छ । उनीहरूले आफ्नो पुँजी लगानी गर्ने र अरू नाफा कमाउने नयाँ नयाँ ठाउँहरू खोजिरहेका छन् । नेपालमा उपलब्ध प्राकृतिक स्रोतहरू, हिमाली खनिज र सस्ता कामदारहरू पुँजीपतिहरूका लागि आकर्षक विषय हुन् । नेपालमा लगानी प्रायः भारत र चीनबाट आउने गर्दछ । दुवै देशमा सञ्चित पुँजी लगानी गर्नलाई नेपाल सहज र नाफामूलक ठाउँ वन्दै गएको छ । दुवै छिमेकी देशहरूले पश्चिमा पुँजीवादको आर्थिक वृद्धिको खाकालाई पछ्याएका हुनाले नेपाल लगायत सम्पूर्ण हिमालय क्षेत्र नै छिटोभन्दा छिटो पुँजीवादी उत्कर्षमा पुग्ने सम्भावना छ ।

कार्ल माक्र्सले भनेझैं नेपालमा पुँजीवादी समाज विकास हुँदै गर्दा दलाल अर्थतन्त्रको बोलवाला रहन्छ । नेपाली राज्य र समाजले पुँजीवादी अर्थतन्त्रको नेतृत्व अथवा कार्यदिशा निर्धारण गर्न सक्दैनन् । देशको राष्ट्रिय अर्थतन्त्रभन्दा धेरै विदेशी लगानी रहने र उत्पादनका क्षेत्रमा विदेशी लगानीको नियन्त्रण हुने हुनाले राज्य नियन्त्रित पुँजीवाद अथवा पुँजीवादी समाजवाद -हाल चीनमा भएको आर्थिक प्रणालीजस्तो व्यवस्था) नेपालमा तत्काल सम्भव देखिँदैन । पुँजीवादी विकासको मुख्य आधार दलाल पुँजी भएको र त्यो दलाद पुँजी आर्थिक र सामरिक हिसाबले अति ठूला छिमेकी भारत र चीनबाट आएको कारण पुँजीवादी विकासको क्रममा त्यस्ता पुँजीलाई राष्ट्रियकरण गरी राष्ट्रिय पुँजीवाद वा समाजवाद उन्मुख हुन दिँदैनन् । उनीहरूले कि त नेपालको अर्थतन्त्र डामाडोल बनाइदिन्छन् कि हस्तक्षेप गर्छन्, राष्ट्रियकरण हुन दिँदैनन् । त्यसकारण नेपालको पुँजीवादी विकास दलाल पुँजी नियन्त्रित र खुल्ला बजार अर्थतन्त्रमा आधारित नै हुनेछ । यो अवस्थामा वर्ग विभाजन तीव्र रूपमा हुँदै जानेछ र अधिकांश नेपालीहरू दलाल पुँजीपति वर्गको कामदारको रूपमा परिणत हुनेछन् ।

कार्ल माक्र्सका अनुसार समाज पूर्ण रूपमा पुँजीवादी स्वरूपको बन्न समाजका सबै मान्छे पुँजीवादी र कामदारको रूपमा विभाजित हुने क्रमको तीव्रता चाहिन्छ । यसका लागि पुराना, परम्परागत संस्कृति, उत्पादन प्रणालीहरू, जीविकोपार्जनका तरिकाहरू एवं सम्बन्धहरू सबै मासिँदै जानेछन् । अहिले पनि नेपालमा अधिकांश जनता जीविकोपार्जनमूलक खेतीमा आश्रति छन् । मूलतः नेपाल खेतीमा आधारित अर्थतन्त्र हो । यस्ता खेतीमा आधारित उत्पादन प्रणाली र संस्कारलाई नेपाली कम्युनिष्ट पार्टीहरूले सामन्तवाद भन्ने गरेका छन् । यो व्याख्या पूर्ण रूपमा सही छैन । नेपालको कृषि प्रणालीमा आफैं खनिखोस्री गरेर आफ्नो उत्पादन आफै खाने किसानहरूको बाहुल्य छ । यस्ता किसानहरू सामन्तवादको परिभाषाभित्र पर्दैनन् । बरु पुँजीवादी विकासले त्यस्ता किसानहरूलाई आफू स्वतन्त्र भएर आफै गरिखाने अवस्थाबाट विस्थापित गरिदिने भएकाले किसानहरूले दलाल पुँजी केन्द्रित द्रूततर पुँजीवादी विकासलाई भने अवरोध गर्छन् । यस्ता किसानहरूलाई परम्परागत, पछौटे, अनुत्पादक आदि भनेर निरुत्साहित वनाउने विकासको अवधारणलाई आत्मसात् गरिएको हुनाले अबको समृद्धिको अभियानमा त्यस्ता किसानहरू विस्थापित हुँदै जानेछन् र औद्योगिक कामदारको रूपमा परिणत हुँदै जानेछन् ।

परम्परागत कृषि प्रणालीहरू विस्थापित हुँदै जानेछन् । आउँदो दुईतीन पुस्तापछि जीविकोपार्जन मूलक कृषि प्रणाली विस्थापित हुनेछ । विषेशगरी पहाडी क्षेत्रमा यो क्रम तीव्र हुने देखिन्छ । जग्गाको स्वामित्व साना किसानहरूबाट आधुनिक खेती गर्ने नव पुँजीवादीहरूमा सर्नेछ । जसका कारण अधिकांश किसानहरू जग्गाविहीन हुनेछन् । कृषिमा आधारित जीविकोपार्जनमा भन्दा औद्योगिक ज्यालामा काम गर्ने रुचि वढ्नेछ । अहिले नै झण्डै साठी लाख किसानहरू कृषिमा आधारित जीविकोपार्जन त्यागेर ज्यालाका मजदुर बन्न विदेशिएका छन् । समाजले यो परिवर्तनलाई विकासले ल्याएको लहरका रूपमा केही समय सकारात्मक रूपमा लिनेछ । दलाल पुँजीवादले सिर्जना गरेको यस्तो परिवर्तनले मानिसको जीवनस्तर लामो समयसम्म बढ्न सक्दैन त्यसकारण नयाँ खालका विद्रोहहरू बढेर जान सक्छन् । भारत र चीनमा समेत यस्तो अवस्था आउनसक्छ ।

समृद्धिको अभियानमा दलाल पुँजीलाई निस्तेज गरियो, जनताको कृषिमा आधारित जीविकोपार्जनलाई प्राथमिकतामा राखियो, अन्धाधुन्ध खुल्ला वजार नीतिमा परिवर्तन गरी उत्पादन र स्रोत वितरणमा न्यायोचिततालाई आधार बनाई धनी र गरिब बीचको खाडल घटाई समानतालाई प्राथमिकता दिएको खण्डमा नेपालको पुँजीवादी विकासको असर कम गर्न अथवा अलि पछि धकेल्न पनि सकिन्छ । त्यसका लागि शिक्षा तथा स्वास्थ्यलाई निःशुल्क बनाई सवै नेपालीलाई खाद्यान्नमा आत्मनिर्भर बनाउने काम पहिले गर्नुपर्ने हुन्छ । परम्परागत खेतीप्रणालीहरू सहज जीविकोपार्जनका उपायहरू हुन् । तिनलाई सामन्तवाद भनेर तुरुन्तै जरोकिलो उखेल्नेतर्फ लाग्ने हो भने नेपालमा दलाल पुँजीवाद उत्कर्षमा पुग्छ । त्यसपछिको परिणाम नेपाली जनताको पक्षमा हुँदैन ।

पुँजीवादी समाज परिवर्तनको ढाँचा र स्वरूप कसरी अघि बढ्छ भन्ने कार्लमार्क्सको व्याख्या हालको नेपाली समाज परिवर्तनको दिशाबोध गर्न अत्यन्त उपयोगी छ । मार्क्सलाई पार्टीका नामको पछाडि थेगो झुन्ड्याउनेमा सीमित गर्नुभन्दा नेपाली समाजको परिवर्तन कसरी हुँदै छ र कता लान सकिएला भन्ने सोच विकास गर्न मार्क्सका विचारलाई प्रयोग गर्नसके फाइदा नै पुग्नेछ । तर मार्क्सले भने झैं अब समाजको व्याख्या गरेर मात्रै पुग्दैन, कामै गरेर देखाउनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment