Comments Add Comment

कथाः निर्लज्ज वर्तमान

खै, मभित्र त्यस्तो के छ कुन्नि ! सानुराजा मलाई औधी माया गर्नुहुन्छ । वहाँबाहेक मलाई लोग्नेमान्छेको अनुहार मान्छेको जस्तो लाग्न छाडेको छ । दन्तेकथामा वर्णित ख्याकका कुरूप ढाँचाका काल्पनिक आकारप्रकारजस्तै लाग्न थालेको छ लोग्नेमानिसको अनुहार ।

हत्पती कसैले चाल नपाउने ठाउँको यो क्याविन रेस्टुराँमा कसरी थाह पाएर आउँथे होलान् मानव खप्परहरू ! फालाफाल पैसा बोकेर । टन्न धोकेर मेरो शरीरसँग अगौँजी खेलेर जान्थे । मेरो शरीरलाई थेग्न गाह्रो भैसकेको थियो । ती अमानवले मेरो शरीरमा झम्टिँदा म आँखा चिम्लेर कष्टले सुतिदिन्थेँ । मलाई कसैको अनुहार हेर्न मन लाग्न छाडेको थियो ।

सानुराजाले कसरी थाह पाउनु भो, म यो ठाउँमा बसेको छु भन्ने कुरा । मैले सानुराजालाई पटकपटक भनिसकेको छु, ‘मेरो शरीर सयौँले जूठो हालिसकेका छन् । यो ज्यादै फोहोरी भैसकेको छ । तपाईं यो जूठो र बिटुलो शरीर नछुनुस् ।’

मैले काम गर्ने रेस्टुराँमा सानुराजा आउनुहुन्छ । हामी दुईतिन घण्टा सँगै हुन्छौँ । त्यसपछि वहाँ जानुहुन्छ । मलाई यौन रोग लागिसकेको छ । सानुराजालाई एड्ससम्मको डर देखाउँदा पनि मकहाँ आउन छाड्नुभएको छैन । ती अमानवहरू यौन रोगले डल्लिएर मरेपनि मलाई अपसोच हुने छैन । तर मेरो प्यारो सानुराजालाई सम्भावित खतराबाट कसरी जोगाउनु !

सानुराजालाई मैले भनेँ, ‘सानुराजा, तपाईं मेरो विकल्प खोज्नुस् । बिहे गर्नुस् । तपाईं धेरै सम्पन्न मान्छे, शरीरमा रोग सार्न यहाँ नआउनुस् ।’

मैले यसो भन्दा सानुराजाले यस्तो जवाफ दिनुभयो, ‘मन्दिरा, तिमीबाट पाउने आनन्द मलाई अरू कसैबाट प्राप्त हुँदैन । म तिमीलाई मायाको कारणले पनि छोड्न सक्दिनँ ।’

मप्रति उहाँको कामलिप्सा हो कि माया, किन यति प्रबल भएर देखापरेको छ ? म त जीर्ण रोगी भएर मर्छुमर्छु तर मेरो चाहना, सानुराजालाई केही नभैदिए हुन्थ्यो । उहाँ मसँगबाट टाढा भैदिए हुन्थ्यो ।

सानुराजालाई मेरो शरीर कति प्यारो लागेका हो ! सयौँले चुसिसकेको ओठ कति रसिलो लागेको हो ! गिजोलिएका छाती कति आप्mनो लागेको हो ! मलाई अचम्म लाग्छ । फेरि मैले भन्न मात्र सकेकी छैन, अरू लोग्ने मान्छेभन्दा वहाँसँग रहँदा जीउ नै हलुको भएको महसुस हुन्छ । त्यस्को कारण उहाँ ‘आप्mनैजस्तो’ लागेर होला । सानुराजालाई नबिगार्ने इच्छा हुँदाहुँदै पनि उहाँकै हातको निचो¥याइ मीठो लाग्छ मलाई ।

‘सानुराजा, तपाईं किन यसरी बिग्रिनुहुन्छ ? कुनै धनाढ्यकी छोरी मागेर बिहे गर्नुस् । घरजम गर्नुस् । यो अवैध धन्दामा नलाग्नुस् ।’ म पुकार गर्छु ।

उहाँ प्रष्टै भन्नुहुन्छ, ‘मन्दिरा, म तिमीसँगै बिहे गर्छु ।’

अचम्म ! वेश्यावृतिमा फसिसकेकी एउटी आइमाई, उमेरले पाँच/छ वर्ष जेठी, धनकङ्गालसित के मनसायले बिहे गर्ने कुरा गर्नुहुन्छ सानुराजा !

वेश्यावृति गर्नु पर्ने मेरा धेरै वाध्यता छन् । मेरो आम्दानीमा आश्रित आधा दर्जन खाने मुखहरू छन् । म चाहेर पनि यो कुकृत्यबाट पर हट्न सक्दिनँ । चराका बचेराभैmँ ती आँ गरी बसेका हुन्छन्, सहरको कुनै तल्लो दर्जाको घरको छिँडीमा ।

मेरो वेश्यावृत्तिबारे मेरा बाआमा, भाइबहिनी सबैलाई थाह छ । गाउँबाट ती विस्थापित भएर सहरमा नकाम बसेका छन् । भाइबहिनी स्कुल जान्छन् । बाआमा दुवै धम्कीको व्यथाले ग्रस्त छन् । औषधी खाइरहनुपर्छ । भाइबहिनीको शिक्षादीक्षा, बाआमाको औषधी किन्ने खर्चका लागि पनि मैले केही न केही काम गर्नुपर्छ । मसँग लेखपढको काम गर्ने सामान्य क्षमता पनि छ तर त्यस्तो कुनै काम नपाएर मेरो लागि यस्तो व्यवसाय ग्राह्य भएको हो ।

एकमनले लाग्छ, मेरो सानुराजाले भनेअनुसार उहाँसित बिहे गरूँ र राम्रोसँग घरजम गरूँ । तर त्यो पनि मेरो लागि सहज अवतरणको बाटो होइन । वेश्यावृतिमा फसिसकेकी म अधवैँसेबाट मेरो सानुराजाको भविष्य राम्ररी तन्कन सक्दैन । म उहाँलाई बर्बाद गर्ने पक्षमा छुइनँ ।

हैन, सानुराजाले मलाई किन छाड्नुहुन्न हँ ? फोहरी दहमा पौडी खेल्ने उहाँको रहरै त हैन होला ? सहरको यो गुमनाम रेस्टुराँमा मैले काम गरिरहेको कसरी थाह भयो उहाँलाई ?

म बलात्कृत हुने क्रम चली नै रहेको थियो । अरू लोग्ने मान्छेबाट म बलात्कृत हुन्थेँ भने सानुराजाबाट यौनतुष्टि मेट्थेँ । उस्तैउस्तै लोग्नेमान्छेको उस्तै भोगाइ किन फरक अनुभव हुन्छ ?

रेस्टुराँले मलाई किनेको छ अर्थात् निश्चित तलबमा मैले ग्राहकको इच्छा पूरा गरिदिनुपथ्र्यो । हप्ताको एकदुईपल्ट गर्भ निरोधका साधन प्रयोग गरेर रेस्टुराँमालिक पनि मलाई गिजोल्न आउँथ्यो । नृशंस पुरुषहरू मेरो छातीमा मच्चीमच्ची पिङ खेल्थे । बजियाहरू ! तिमीहरूको मति ! घरमा श्रीमती हुँदाहुँदै वेश्याकोठी धाउने अनैतिक जीवहरू !

मेरो वर्तमान यसरी नै कष्टसाध्य तरिकाले बितिरहेको छ । मलाई यो निर्लज्ज वर्तमानसँग विद्रोह गरूँझैं लागेको छ । तर म आफ्नै विगतको कारणले वर्तमानमा विद्रोह गर्न सक्दिनँ ।

००००

सात वर्षअघि म सहर छिरेको थिएँ । विद्रोहीहरूले मलाई उनीहरूको सेनामा लैजान निकै धरपकड गरेका थिए । बाआमा मान्नुभएन । म पनि स्कुलमा पढ्दै थिएँ । मलाई लैजान नसकेपछि उनीहरूले हामीलाई गाउँ छोड्न उर्दी जारी गरेका थिए । गाउँमा बस्न नसक्ने अवस्था भएपछि हामी खेदिएर यता आउनु परेको थियो । सहर पसेपछि म बाआमालाई कुनै घरको छिँडीको कोठामा थन्क्याएर एउटा सामान्य होटलमा भाँडा माझ्ने काम गर्न थालेँ ।

एक दिन सानुराजा त्यहीँ होटलमा खाजा खान छिर्नुभएछ । उहाँको घरमा काम गर्ने मान्छेको खाँचो परेको रहेछ । उहाँले मलाई आफ्नै घरमा काम गर्न लैजानुभयो । त्यहाँ काम गर्दा मलाई केही होलो भयो । सानुराजाले मलाई एउटी नोकर्नीजस्तो गर्नुभएन । मलाई बढी नै माया र विस्वास गर्नुभयो । मैले पनि उहाँलाई माया र विस्वास गरेँ ।

हाम्रो माया यतिसम्म बढ्यो कि हामी जिस्किन थाल्यौँ । मेरो भित्री चाहना बुझेर उहाँले मेरो शरीर माग्नुभयो । मैले मेरो शरीर उहाँलाई सुम्पिदिएँ । हामीले कुनै अप्ठेरो नमानीकन एकअर्काको शरीरमा मज्जाले खेल्यौँ ।

सानुराजाबाट म यौनतुष्टि लिन थालेँ । ममा अतुलनीय रोमाञ्च पैदा हुन थाल्यो । मबाट पनि सानुराजा निकै सन्तुष्ट हुनुभएको थियो ।

तर, एकदिन मस्तसँग खेलिरहेकै ठाउँबाट हामी रङ्गेहात समातियौँ । पक्रने मानिस सानुराजाकै बाबा अर्थात् ठूलोराजा हुनुहुन्थ्यो । त्यसपछि हाम्रो दूरी बढाइयो । म ठूलोराजाको पस्मिना फ्याक्ट्रीमा काम गर्न अन्यत्र लगिएँ । सानुराजा र मलाई भेट गर्न दिइएन ।

तत्पश्चात्, म ठूलोराजाबाटै बलात्कृत भएँ । ठूलोराजा मलाई आफ्नै श्रीमतीलाई जस्तै गरी ‘तिमी’ भनेर बोलाउनुहुन्थ्यो । फेरि, फ्याक्ट्रीमा सानुराजा छिर्नुभयो । एकान्त कोठामा उहाँले मेरो शरीर माग्नुभयो । त्यहाँ पनि मैले मेरो शरीर सानुराजालाई चढाइदिएँ । उहाँले ग्रहण गर्नुभयो । मैले भनिनँ, ‘मेरो यो शरीर तपाईंको बाबाले पनि प्रयोग गरिसक्नुभएको छ ।’

म बाबुछोरा दुबैका लागि मासुको साझा चोक्टा भएँ । दिउँसो सानुराजाकी र राति ठूलोराजाकी भएँ । मैले दुवै राजाहरूलाई भनिनँ, ‘म दुबैकी साझा भएकी छु ।’

एक दिन सानुराजाकी ममी त्यहाँ आउनुभयो । राति त्यहीँ बस्नुभयो । मध्यरातमा ठूलोराजा मेरो कोठामा पस्नुभयो । उहाँ मलाई गिजोल्न थाल्नुभयो । मालिक्नी चियो गरी बस्नुभएको रहेछ । म समातिएँ । मलाई मालिक्नीले राति नै निकालिदिनुभयो ।

००००

त्यसपछिका मेरा दिनहरू निकै कष्टकर भए । बाँच्नका लागि विकल्प खोज्दै हिँडेँ । कतै केही नभेटेपछि म यो रेस्टुराँमा छिरेँ । मलाई एड्स लागेको शङ्का लागेपछि म आफैं रगत जचाउन गएँ । रगतमा एचआइभी पोजेटिभ देखियो । त्यसैकारणले गर्दा म वर्तमानसँग विद्रोह गर्न सक्दिनँ र सानुराजाकी श्रीमती पनि बन्न सक्दिनँ । आफू बिग्रिए पनि अरूलाई नबिगार्ने मेरो चाहना हो । तर, सानुराजालाई जति भन्दा पनि लागेन । उहाँमा पनि एचआइभी भइसकेको छ कि ! सानुराजा यसरी किन आफ्नाे जीवन बर्बाद गरिरहनुभएको छ, मैले बुझ्न सकिरहेकी छैन ।

सानुराजाको मप्रतिको मोह छुटाउन मैले हरसम्भव प्रयत्न गरेँ । तर, सफल भएकी छुइनँ । अब मेरो पनि सानुराजाप्रति आशक्ति बढ्न थालेको छ । म सानुराजाको प्रतीक्षा गर्न थालेकी छु । सात दिनदेखि म उहाँकी मात्र भएकी छु । रेस्टुराँमा तिर्नुपर्ने रातभरिको पैसा उहाँले एकलौटी तिर्नुभएको छ । मध्यरातसम्म उहाँ मसँग खेलेर जानुहुन्छ । अरू लोग्नेमान्छे मलाई गिजोल्न आउँदैनन् ।

मैले पेट पाल्ने क्याविन रेस्टुराँ सहरको बीचमा भएपनि अलि भित्रपट्टि छ । यहाँ मजस्तै यौनधन्दामा लागेका चारपाँच जना केटीहरू छन् । ती मभन्दा राम्रा देखिन्छन् । तर, सानुराजा तिनीहरूपट्टि फर्केर हेर्नुहुन्न ।

रात निकै छिप्पिसकेको थियो । सानुराजाले मलाई मरे छाड्नुभएन । मैले धेरै सम्झाएँ । मेरा कुरा सुनिरहनुभयो । उल्टै उहाँले भयानक रहस्य खोल्दै उल्टो मलाई सम्झाउनु थाल्नुभयो, ‘मन्दिरा, म पनि एचआइभी संक्रमित भैसकेको छु । अब हामीले बाँच्नु कति दिन होला र ! तिमी र म सँगै बाँच्ने सँगै मर्ने । हामी पछाडि हामीबाट अर्को पुस्ता उत्पादन नगर्ने । यो सहरबाट टाढा गएर बस्ने । कति बाँचिन्छ, आनन्दसँग बाँच्ने । निर्धक्कसँग बाँच्ने ।’

मैले सानुराजाको चेप्टो ढाड अँगालो मार्दै भनेँ, ‘सानुराजा, मैले तपाईंलाई पहिल्यै भनेकी थिएँ । तर, तपाईंले मान्नुभएन । मजस्ती वेश्याबाट तपाईं के आशा राख्नुहुन्छ ?’

सानुराजाले मलाई बेस्सरी छातीमा टाँसेर भन्नुभयो, ‘मैले तिमीबाट कुनै ठूलो आशा राखेको छैन । म तिमीलाई श्रीमती बनाउन चाहन्छु । मेरो रोग अर्की आइमाईलाई सार्न चाहन्नँ । त्यसैले हाम्रो जोडीको विकल्प मैले देखेको छैन । तिमी आजै यो रेस्टुराँबाट मसँग हिँड ।’

मैले भनेँ, ‘सानुराजा, तपाईं मलाई दुईचार दिन विचार गर्न दिनुस् । मेरो आश्रयमा ठूलो परिवार बाँचेको छ । मैले मेरो शरीर नबेचे ती खान नपाएर मर्छन् ।’

उहाँले गम्भीर भएर भन्नुभयो, ‘अब कोही बाँच्नु र मर्नुसँग हाम्रो केही सम्बन्ध छैन । हामी आफैं क्षण–क्षणमा मर्दैछौँ । हिँड, निर्धक्क हिँड । खुल्ला आकाशमुनि अघाउँँजी सास फेरेर बाँचौँ अनि मरौँ ।’

मभित्र त्यस्तो के छ कुन्नि ! सानुराजा मलाई छाड्नै चाहनुहुन्न । तत्काल मैले केही सोच्नै सकिनँ । सानुराजासँगै बेरिइरहेँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment