Comments Add Comment

उपन्यास अंशः दुर्व्यसनीकाे दैनिकी

बिहान ८ बजे काकाको फोनले मेरो निन्द्रा खुलायो । काकाले आमाबाबाको पुण्य तिथिका बारेमा सम्झाउन फोन गर्नुभएको रहेछ । राउधा गइसकेकी थिई । किचनमा गएर भित्तामा ठोकिएको दराजमा मैनबत्ती भए, नभएको चेक गरेँ । हेर्दाहेर्दै खजानामा आँखा गयो तर राउधाको पुनरागमनले मलाई त्यसमा खासै चासो लागेन । त्यसलाई फाल्न भने सकिनँ । अहमद आएपछि फिर्ता दिन्छु भन्ने सोचेँ । मन बलियो भएपछि त्यो चिज जहाँ भए पनि केही फरक पर्नेवाला थिएन ।

राउधाको नजरमा त्यो चिज नपरोस् भनेर मैले त्यसलाई वास बेसिनको तल एउटा कुनामा, पुरानो टालोले बेरेर कसैले नभेट्ने गरेर राखिदिएँ । त्यसपछि म किचनबाट फर्केर बाथरुम छिरेँ । नुहाइसकेपछि धोएका चोखा कपडा लगाएँ अनि बिल्डिङबाट तल झरेर, आईजीएमएचको बाटोतिरबाट फूल टिपेर ल्याएँ । पर्सबाट आमाबाबाको सानो श्यामश्वेत फोटो निकालेँ । टेबलमा फोटो राखेँ, फोटोको अगाडि फूलका थुङ्गाहरू राखेँ, मैनबत्ती बालेँ अनि हात जोडेर आमाबाबालाई सम्झेर नमन गरेँ । आमाबाबाको फोटोबाहेक मेरो स्‍मृतिमा केही थिएन । थिए त– अरूले सुनाएका केही किस्साहरू ।

त्यो दिन दिउँसोसम्म पनि भोक लागेन । दिउँसो एक कप कालो चिया पिएर बेडरुममा पसेर पल्टिएँ । पल्टिँदा बित्तिकै म भुसुक्क निदाएछु । ब्युँझिँदा तीन बजेको थियो ।

उठेर त्यसै कोठामा टहलिइरहेको थिएँ, दिमागमा एउटा रोमान्टिक सायरी फुर्‍याे । त्यो रोमान्टिक सायरी राउधालाई समर्पित गर्न मन लाग्यो । टेबलबाट मोबाइल उठाएँ र म्यासेन्जर खोलेँ । अघिल्लो दिन म्यासेज कन्भर्सेसन डिलिट गरेको थिएँ, त्यसैले उसलाई सर्च गर्न थालेँ । तर, मैले उसको आइडी भेटिनँ । फेरि खोजेँ भेटिनँ । मेरो होस नै रहेन । एकाएक चिटचिट पसिना आउन थाल्यो । औँलाहरूलाई तलमाथि सारेँ तर स्थिति उही नै थियो । आखिर के भयो ? राउधा कसरी हराई ? म उभिएकै ठाउँबाट थचक्क बसेँ । कन्ट्याक्ट लिस्टमा पनि उसको नाम थिएन । फोनको लगमा उसलाई खोज्न थालेँ, त्यहाँ पनि उसको नाम थिएन । रिसोर्टका क्लाइन्टहरूको नाम थियो ।

अफिसको ल्यान्डलाइन नम्बर थियो, घरको थियो । सायद झुक्किएर होला आफ्नै आइडीलाई डायल गरेको पनि भेटियो । इस्माइललाई डायल गरेको अनि अरूअरूलाई डायल गरेको सबै भेटियो तर राउधाको नाम डायललगबाट डिलिट भइसकेकोे थियो ।

फेसबुकमा गएर उसलाई खोजेँ, राउधा नाम गरेका अरू भेटिए तर ऊ भेटिइन । त्यतिबेला मलाई यकिन भयो कि उसले मलाई ब्लक गरिछे । मेरो मोबाइलबाट उसका सबै सङ्केतहरू डिलिट गरिछे । मलाई एकाएक रिँगटा लाग्न थाल्यो । उसको नम्बर सम्झिने कोसिस गरेँ तर सकिनँ ।

बिर्सिने बानी जो बढ्दै गएको थियो । नम्बर सम्झिएर पनि हुनेवाला केही थिएन, कि त उसले परिवर्तन गरिसकी कि त मलाई ब्लक । उसले एकाएक त्यस्तो अकल्पनीय कदम कसरी उठाई होला ? के अघिल्लो रातको पुनरागमन त्यही उद्देश्य पूर्तिका लागि गरिएको नाटक थियो त ? उसलाई मेरो मोबाइलको लक प्याट्रन थाहा थियो । एकपटक उसले देखेकी थिई । कुनै सन्देह रहेन, म निदाएको बेला उसले मेरो मोबाइलको तलासी गरी र आफ्नो नम्बर डिलिट गरी अनि लगबाट पनि डिलिट गरी ।

शरीरभरि काँडा उम्रिएर आफैंलाई घोच्न थाले । राउधाले मलाई गहिरो निद्रामा पारेर फाइदा उठाइछ । त्यो रातको यौनक्रीडामा उसले मलाई थकित पारेकी थिई । कारण त अर्कै रहेछ । ऊ सफल भएर गई धोकेबाज । ऊ त हाम्रो सम्बन्धका तमाम प्रमाणहरू नष्ट गर्न पो आएकी रहिछे ।

मसँग त्यति क्रुर हुनैपर्ने के थियो र उसलाई ? मैले केही मेसो पाइरहेको थिइनँ । तत्काल उसलाई भेटेर गालामा चड्काएर “आखिर किन यो नाटक ?” भनी सोध्न मन लागेको थियो तर कसरी भेट्नु र उसलाई ! ऊ यसरी निस्किएर गई कि, मानौँ ऊ कुनै काल्पनिक कथाकी पात्र हो ।

राति उसको आँखामा गजबको प्रेमिल तेज थियो । उसले मेरो मनमा कुनै शङ्का नै उत्पन्न हुन दिइन । कहाँ गएर खोजूँँ म उसलाई ? मालेको गल्लीमा संयोगले भेट हुनुसिवाय मसँग अर्काे कुनै विकल्प रहेन । मेरो दिमाग अर्धचेतन अवस्थामा पुगेको थियो । अर्धचेतनामै स्कुटर लिएर म हेन्वेरु साइडतिर दौडिएँ । उसले भनेकी थिई हेन्वेरु साइडमा घर छ भनेर । म हेन्वेरुका गल्लीगल्ली घुम्न थालेँ । दोहोर्‍याई–तेहेर्‍याई घुमेँ तर उसलाई कहीँ देखिनँ ।

त्यस्तो भीडभाड सहरमा कहाँ भेटनु उसलाई ? ऊ किन बसोस् कुनै गल्लीको छेउमा ता कि म उसलाई भेट्न सकूँ । साँझ अबेर कुनै युद्ध हारेर फर्किएको सिपाहीजस्तै भएर म कोठामा फर्किएँ । शरीरका अङ्गअङ्ग थकित भएका थिए ।

तनाव जुँगामा ताउ लगाउँदै ममाथि आफ्नो आधिपत्य जमाइरहेको थियो । मलाई अरू केही सुझेन, टालोभित्र लुकाएर राखेको खजानालाई टालोबाट निकालेर चुरोटको खिल्लीमा लोड गरेँ अनि त्यो खजानालाई फेरि उसैगरी लुकाएर राखेँ । यद्यपि खजाना लुकाउनुको कुनै अर्थ थिएन । धोकेबाज राउधा फर्केर आउनेवाला थिइन । पक्कै उसले मेरो परीक्षा लिएकी हैन । भित्र कतै झिनो आशा भने थियो, तर घटनाहरूले ऊ सधैँका लागि मेरो जीवनबाट बाहिरिएको सङ्केत गरेका थिए ।

खजानामा आगो लगाएर लामा लामा सर्काहरू तान्न थालेँ । जतिजति सर्काहरू फोक्सोबाट रगत हुँदै मस्तिष्कमा पुग्थे उति उति तनावबाट राहत मिलेजस्तो लाग्थ्यो । एकछिनमा त्यही नशाले राउधाको यादलाई ल्याएर अगाडि उभ्याइदियो अनि उसको अनुहारमा धोकेबाजको ट्याग पनि लगाइदियो । मलाई यति विवश बनाएर गई कि मसँग न टेक्ने जमिन थियो न उड्ने पखेटा नै । केवल एउटा शून्यता रह्यो, जहाँ उसले छोडेर गएका अमिट यादहरू थिए । बस्, याद मेटाउन सकिन उसले । बाँकी सबै मेटाएर गई ।

बाथरुममा खजाना लुटेपछि बालकोनीमा बसेर चुरोटका खिल्लीहरू एकपछि अर्को सल्काउँदै गएँ । फोक्सोलाई जलाएर खरानी पारिदिने मन थियो, त्यसैले जलाउँदै गएँ । आँखा भिलिङ्गिलीतिर हेरिरहेका थिए, जहाँ पहिलोपटक भेटिएकी थिई राउधा अनि सुरुवात भएको थियो हाम्रो प्रेमको ।

दृश्यहरू उस्तै छन्, भिलिङ्गिली उस्तै छ, डोनीहरू उस्तै छन्, आकाश उस्तै छ, समुद्र उस्तै छ, बत्तीहरू उस्तै छन् तर उस्तै छैन राउधाको प्रेम । वसन्तमा सुरु भएको एउटा प्रेमयात्रामा पूर्णविराम लागेको छ । प्रेमरथको एउटा पाङ्ग्रै भाँचियो, पुनः मर्मत होलाजस्तो लागेन तर पनि एउटा झिनो आशा मनभित्र कतै धिपधिप बलिरहेको थियो– राउधा तेल थप्न आउँछे कि !

साँझ आठ बजेतिर बालकोनीबाट बेडरुममा गएँ । केही गर्ने इच्छा थिएन । दराजको फुटेको ऐनामा आफूलाई हेरेँ । लाग्यो, मेरो जिन्दगी पनि फुटेर टुक्राटुक्रा भएको छ । आँखा नशाले रसिला र राता भएका छन् । बेरङ्गी अनुहार लट्ठ परेको छ । निकै बेरसम्म हेरिरहेँ आफ्नै चिरिएको प्रतिबिम्ब ।

अचानक ढोकाको घण्टी बज्यो, म झसङ्ग भएँ । फेरि उत्ति नै खेर आफूलाई सम्हालेँ । यो भ्रम हो भन्ने लाग्यो । दोस्रोपटक पनि ढोकाको घण्टी बज्यो, संयमित भएर त्यो आवाज सुनेँ । भ्रम नभएर साँच्चैको आवाजजस्तो लाग्यो । झिनो आशा जो थियो, आखिर राउधा आइछाडी भन्ने लागेर मन गदगद भयो । राउधा निष्ठुरी हुनै सक्दिन, ऊबिना म तड्पिएजस्तै मबिना ऊ पनि तड्पिएकी रहिछ, टाढा हुन नसकेर आई । एक्कासी शरीरमा स्फूर्ति र मुहारमा चमक आयो । म मूलढोकातिर दौडिएँ ।

ढोकाको बाहिर खुसीको बहार प्रतीक्षा गरिरहेको छ । त्यसै त्यसै मन चङ्गा भयो । ओठ पनि चल्बलाउन थाले । मैले हतार–हतार ढोकाको पल्ला उघारेँ । जब ढोकाको पल्ला उघ्रियो, तब कुनै दैवीश्रापले ठाउँको ठाउँ पत्थरजस्तै भयो मेरो शरीर । जिन्दगीमा कहिल्यै महसुस नगरेको भय मेरो अगाडि उभिएको थियो । एकाएक मेरो रक्तसञ्चार रोकिएजस्तो भयो, म तिलमिलाउन थालेँ । ढोका अगाडि त पुलिसको सानो हुलै थियो । एउटाले सानो ह्यान्डी क्याममा भिडियो खिचिरहेको थियो । ढोका उघ्रिएपछि पुलिस अफिसरले आफ्नो परिचय पत्र देखाएर सोध्यो— “के यो अपार्टमेन्टमा बस्ने हजुर नै हुनुहुन्छ ?”

मैले केवल टाउको हल्लाएँ । त्यसपछि उसले खल्तीबाट सर्च वारेन्ट पत्र निकाल्दै भन्यो— “हामीलाई हजुरको कोठाको तलासी गर्ने आदेश आएको छ ।”

सबै संवादहरू भिडियोमा रेकर्ड भइरहेका थिए । धेरै कोसिस गरेपछि बल्लतल्ल मेरो बोली फुट्यो— “तर अफिसर, के भयो र ?”

उसले भन्यो— “म बताउनेछु हजुरलाई तर हामीले तपाईंको कोठाको तलासी लिनुअघि यदि तपार्ईंको तर्फबाट अरू कसैलाई साक्षी राख्न चाहनुहुन्छ भने हामी बढीमा पन्ध्र मिनेटको समय दिन सक्छौँ ।”

“आखिर के को तलासी हो अफिसर ?”

मैले प्रश्न सोध्दै गर्दा मलाई थाहा भइसकेकोे थियो कि तलासी केको हुनेवाला छ । अझ मेरा रसिला र राता आँखाले त प्रमाण नै पेस गरिरहेका हुँदा हुन् । त्यो अफिसरले मेरो प्रश्नको सीधा जवाफ दिएन, उसले भन्यो— “तपाईंलाई यो नलागोस् कि हामी जे कुराको तलासी गर्न गइरहेको छौँ, त्यो हामीले नै तपाईंलाई फसाउने उद्देश्य लिएर आएका छाँै ।

यदि तपाईंले अरू कसैलाई बोलाउन सक्नुहुन्न भने तपाईंले नै हाम्रो तलासी लिन पनि सक्नुहुन्छ । तपाईंले हाम्रो शरीरको तलासी लिएपछि हामी तपाईंको कोठाको तलासी लिन्छौँ ता कि तपाईंलाई यो नलागोस्, तलासी गर्दा कुनै चिज भेटिएको अवस्थामा त्यो चिज हामीले नै त्यहाँ राखेर तपाईंलाई फसाउन खोजेका हौँ । यो भिडियो रेकर्डमा नै तपाईं हाम्रो तलासी लिन सक्नुहुन्छ या त तुरुन्तै कसैलाई बोलाएर तपाईंको तर्फबाट साक्षी राख्न सक्नुहुन्छ ।”

म घेराबन्दीमा परिसकेको थिएँ । कसलाई बोलाउनु ? अनि बोलाएर के हुन्छ ? आखिर जुन चिजको तलासीमा पुलिस आएको छ त्यो चिज त अवश्य भेटिन्छ । के गरूँ ? कसो गरूँ ? अहमद पनि छैन, राउधा पनि छैन । कसलाई बोलाऊँ ? एक मनले इस्माइललाई फोन गर्ने विचार आयो तर के भन्ने इस्माइललाई ? मेरो कोठामा खजानाको तलासी हुँदै छ साक्षी बस्न आऊ भन्ने ? त्यसै त उनी मसँग बेखुस भइसकेका छन्, त्यसैमाथि यो कुरा… ! मसँग अरू कुनै उपाय पनि त थिएन । डुब्नेको सहारा सिन्का भनेझैँ मेरा लागि इस्माइलबाहेक अरू कसैको सहारा थिएन । डराई–डराई उनलाई फोन लगाएँ । फोनको घण्टीसँगै धड्कनको रफ्तार पनि बढ्यो ।

“हेल्लो आलोक !”

म काम्दै बोलेँ— “हेल्लो सर ।”

उनले थाहा पाइहालेछन्— “के भयो आलोक ?”

के भयो भन्ने उनलाई ? केही सुझिरहेको थिएन तर पनि जे यथार्थ हो त्यो भन्नैपर्ने थियो । जेहोला भनेर काम्दै भए पनि भनेँ— “सर, मेरो कोठामा पुलिस आएका छन्, खै के को तलासी लिने भन्दैछन् ।”

“हँ, तिम्रो कोठामा पुलिस ? किन ?”

“थाहा छैन सर ।”

“मलाई अफिसरसँग कुरा गराऊ त !”

इस्माइलले त्यसो भनेपछि मैले फोन त्यो अफिसरलाई दिएँ । उनीहरूले केहीबेर कुरा गरे । त्यसपछि उसले मलाई फोन दियो । म सुस्त आवाजमा बोलेँ— “हजुर सर ।”

फोन काटिसकेको रहेछ, फेरि फोन गर्ने हिम्मत आएन । त्यसपछि त्यो अफिसरले मेरो कोठा सर्च गर्ने अनुमति माग्यो र पुनः आफूहरूको शरीर चेक गर्ने भए गर्न आग्रह गर्‍याे । चेक गरेर के गर्नु, जे थियो त्यो त कोठाभित्रै थियो ।

म हायलकायल भएर शिर झुकाउँदै सोफामा बसेँ । मनमा ‘अब माल्दिभ्समा बस्ने मिति सकियो’ भन्ने लाग्यो । केही बेरपछि त्यो अफिसर हलमा आएर मेरो अगाडि उभियो । उसको हातमा एउटा सिसी थियो, त्यो देख्नेबित्तिकै मेरो दिमागमा बबन्डर मच्चियो । उसको हातमा जुन सिसी थियो, त्यो मैले लुकाएको सिसी थिएन । त्यो एउटा पुरानो प्लास्टिकले बेरिएको थियो तर त्यो सिसी कसरी आयो मेरो कोठामा ? म थर्थर काप्न थालेँ । हातमा पञ्जा लगाएको एउटा अफिसरले त्यसलाई जाँचेर रिपोर्ट लेख्न थाल्यो । म एकदमै आत्तिएँ । मैले काप्दै भनेँ— “सर, यो सिसी मलाई थाहा छैन, कसरी आयो मेरो कोठामा ? मलाई साँच्चै थाहा छैन सर ।”

मेरो कुरा सुनेर त्यो इन्चार्जले भन्यो— “हजुरको कोठाबाट बरामद भएको यो सिसीको बारेमा हजुरलाई थाहा नभए कसलाई हुन्छ ? मिस्टर आलोक, तपाईंका आँखाले त तपार्ईंले भर्खरै दिएको बयानको खिलाफ बयान दिइरहेका छन् त !”

अफिसरको कुराले म अवाक् भएँ । उसलाई के भनूँ ? कोठामा अर्को पनि सिसी छ, जुन मैले प्रयोग गरिरहेको छु । तर यो हैन भनूँ ? जसरी पनि म फसिसकेको थिएँ । बरु एउटै सिसीको दोष स्वीकार गर्दा कम सजाय हुन्छ कि ! एक मनले त अहमदलाई दोष थुपारिदिऊँ कि जस्तो पनि लाग्यो तर त्यो जायज लागेन । आँखाले बयान दिइरहेका छन्, मेरो रगतमा ड्रग्स नै दौडिरहेको छ । म त कसैगरी पन्छिनेवाला छुइनँ । त्यसमाथि जुन सिसी फेला परेको थ्यो, त्यो अहमदले दिएको होइन । मेरो कोठामा त्यो सिसी कसरी र कसले राख्यो होला ! त्यसलाई लिएर दिमागको रिल फनफनी उल्टो घुमाएर पुराना घटनाहरू याद गर्ने कोसिस गरेँ ।

मेरो कोठामा पहिले चालिसे दाइ आउँथे, राउधा त प्रायः आइरहन्थी, एकपटक अहमद आएको थियो अनि एकपटक तृष्णा पनि । चार जनामा यो काम कसको हुनसक्छ ? अहमद र तृष्णामाथि शङ्का गर्ने अवस्था नै थिएन, किनभने उनीहरू एकपटक मात्रै मेरो कोठामा आएका थिए, अनि मेरै आँखा अगाडि बसेका थिए । राउधा र चालिसे दाइ, उनीहरू बारम्बार आउँथे ।

कतै राउधाले नै त यो प्रपञ्च रचेकी होइन ? आखिर उसले मसँगका सारा सम्बन्ध र त्यसका प्रमाणहरूलाई मेटाइसकेकी थी, यो पनि उसकै षडयन्त्र त होइन ? तर ऊ त यो चिजलाई त्यति धेरै घृणा गर्थी, कसरी पाउन सक्छे यस्तो खजाना ? यो कुनै दोकानमा मिल्ने चिज होइन । अर्को मनभित्र सानो शङ्काको झिल्कोमा चालिसे दाइको अनुहार देखियो ।

पुलिस पनि उनलाई खोजिरहेका थिए, के यो सबको कारण उनी नै थिए त ? म यो कुरामा विश्वस्त हुन सकिनँ, किनकि चालिसे दाइप्रतिको मेरो विश्वास डग्मगाएको थिएन । उनले यदि राखेका भए मलाई अवश्य जानकारी गराएर जान्थे । सोच्दासोच्दै म बसेको ठाउँमै थेगिन नसक्ने अवस्थामा पुगेँ ।

तलासी सकियो, रिपोर्टमा के–के लेखियो मलाई थाहा भएन । त्यही बेला इस्माइलको फोन आयो । फोन उठाउनासाथ उनले पुलिस इन्चार्जलाई देऊ भने, मैले त्यसै गरेँ । उनीहरूले फेरि आफ्नै भाषामा के–के कुरा गरे । एक छिनपछि त्यो इञ्चार्जले मलाई फोन दियो । म डराउँदै बोलेँ— “हेल्लो सर ।”

उनी आक्रोशित हुँदै बोले— “गो टु हेल आलोक, तिमीलाई दुबईबाट यहाँ ल्याउनु नै मेरो जिन्दगीको सबैभन्दा ठूलो भूल भयो ।”

उनी रिसले बर्बराइरहेका थिए । म अपराधवोधले पिल्सिरहेको थिएँ । उनी के–के बोल्दै थिए, सायद कानले सुन्न नसकेर होला ! औँलाले फोन काटिदिएँ ।

अफिसर म भएतिर लम्किँदै बोल्यो— “वी ह्याब टू टेक यू इन कस्टडी, यू आर अन्डर अरेस्ट मिस्टर आलोक ।”

हेर्दाहेर्दै मेरा दुई नाडीमा हतकडी लगाइयो । ठाउँको ठाउँ म अपराधी सावित भएँ ।

बिल्डिङको तल मान्छेहरूको सानो भीड जम्मा भएको थियो । बाटोको छेउमा पुलिस भ्यान रहेछ । मलाई आफ्नै अनुहार कहाँ लुकाऊँजस्तो भयो । जिन्दगीमा त्यस्तो पनि दिन आउला, हतकडीमा बाँधिएर अपराधी बनुँला, मेरो आत्मसम्मानमा दाग लाग्ला, मैले कहिल्यै सोचेको थिइनँ । एउटा असल र मेहनती विद्यार्थी थिएँ म, एउटा प्यारो र जिम्मेवार छोरो थिएँ । एउटा मेहनती र इमानदार युवक थिएँ । कस्ता–कस्ता रङ्गीन सपनाहरू पालेको थिएँ, के–के गरुँला जिन्दगीमा भन्ने थियो । त्यसरी एउटा अपराधी भएर कुनै बिरानो मुलुकको कारगारतिर डोरिनुपर्दा मलाई कस्तो भयो होला !

भीडका मान्छेहरू मेरो अनुहारलाई चिन्ने कोसिस गरिरहेका थिए या अपराधीलाई ? उनीहरू हाँसिरहेका थिए, खासखुस गरिरहेका थिए । मलाई असह्य भइरहेकोे थियो । सोचेँ , त्यो दिन सिसाले आफ्नै नाडिको नसा काटेर किन मरिन म ? आखिर यस्तो जिन्दगी भन्दा त मृत्‍यु नै ठीक !

म चुपचाप पुलिस भ्यानमा पसेँ । केहीबेरमै भ्यान हिँड्यो । त्यो भीड बिस्तारै टाढा हँुदै जान थाल्यो । जब भ्यान थोरै अगाडि पुग्यो, तब भीडतिर हेरिरहेका मेरा आँखाहरू एकाएक भीडको थोरै पर रहेको एउटा रूखमुनि पुगे । कुनै तिखो सुइरोले मुटुमै घोचेजस्तो भयो । त्यहाँ राउधा उभिएर हेरिरहेकी थिई । ऊ मेरो हालत देखेर मुस्कुराइरहेकी थिई ।

त्यतिखेर उसले कलेजी रङको हिजाब पहिरिएकी थिई, उसलाई मैले हिजाबमा पहिलोपटक देखेँ । बिस्तारै टाढा हुँदै गयो उसको अनुहार । भ्यानको गतिले बहाइरहेको हावामा उडेर गयो हाम्रो सम्बन्धको लास जलेर थुप्रिएको खरानी । एउटा मोडमा पुगेर भ्यान मोडियो अनि ऊ अलप भई मेरा आँखाबाट । एउटा मोडमा पुगेर मोडियो जिन्दगी अनि ऊ अलप भई मेरो जिन्दगीबाट ।

मलाई झण्डा पार्क नजिकको पुलिस स्टेसनमा लगेर थुनियो । केही समयपछि एउटा अफिसर आएर केही कागजमा सहस्छाप गर्न भन्यो, मैले चुपचाप गरिदिएँ ।

०००

भोलिपल्ट पुलिसकै निगरानीमा मलाई मेरो कोठामा पुर्‍याइयो अनि आफ्ना सबै सामानहरू प्याक गर्न लगाइयो । म अघिल्लै दिनबाट मौन थिएँ । चुपचाप आफ्ना सामान दुईवटा सुटकेसमा कोचेँ । उनीहरूले सुटकेस बोक्न मद्दत गरे । मलाई पुनः कस्टडीमा राखियो । अर्काे दिन मलाई इमिग्रेसनको जिम्मा लगाइँदै रहेछ । कोठामा खोजतलास गर्न गएको इन्जार्ज आएर फेरि एउटा कागजमा सही गर्न लगायो ।

मलाई पन्ध्र हजार फाइन तिराएर डिपोर्ट गर्न लागिएको रहेछ । फाइन भने कम्पनीले नै दिने भएछ । इस्माइलले त्यत्ति त गरेछन् । साँझ मलाई कस्टडीबाट निकालेर सीधै एयरपोर्ट लगियो । साढेसात बजेको कतार एयरवेजबाट मलाई फेरि कहिल्यै माल्दिभ्स जान नपाउने गरी सधैँका लागि बिदाइ गरिँदै थियो ।

एयरर्पोर्टमा पनि मान्छेहरूले मलाई अर्थात् एउटा अपराधीलाई देश निकाला गरिँदै गरेको हेरिरहेका थिए । मेरो पासपोर्टमा डिपोर्टको स्ट्याम्प बजारियो । मलाई यस्तो लाग्यो कि त्यो स्ट्याम्प पासपोर्टमा नभएर सीधै मेरो मुटुमा आएर बजारियो । पुलिसहरूले मलाई जहाजसम्म हतकडीमै लिएर गए । मलाई जहाजका कर्मचारीलाई जिम्मा लगाएपछि मात्रै पुलिसहरू मेरो हतकडी खोलेर फर्किए ।

एकाएक मेरा आँखा भरिएर आए । एउटा अपराधी बनेर म नेपाल फर्किंदै थिएँ । जहाजले जमिन छोड्यो । हेर्दाहेर्दै माले सहर छुट्यो, भङ्ग भयो सपना, राउधाको प्रेम छुट्यो, मैले विगत आठ महिनादेखि सँगालेका सबै कुरा छुटे । तर यादहरू छुटेनन् मनभरि लिएर फर्किएँ ।

(यसै साता बजारमा आएको ‘एक सर्को माया’ उपन्यासको अंश )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment