Comments Add Comment

प्रतिपक्षमा बिभाजित नहोऔं, सबै सत्तापक्ष बनौं : प्रचण्ड

२३ वैशाख, पोखरा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक दलहरु सत्ता पक्ष र प्रतिपक्षको रुपमा बिभाजित हुन नहुने बताएका छन् । देशको विकासका लागि सबै सत्तापक्ष हुनुपर्ने उनले बताएका छन् ।

नेपाल पत्रकार महासंघ प्रदेश नम्बर ४ को नवनिर्वाचित नेतृत्वको आइतबार आयोजित पदस्थापन कार्यक्रममा पूर्व प्रधानमन्त्रीसमेत रहेका प्रचण्डले विकास, समृद्धि र स्थायीत्वका लागि सत्ता पक्ष र प्रतिपक्ष मिलेर जानुको विकल्प नभएको बताए ।

भूकम्पपछि देश संकटमा परेको बेला आफूले सत्तापक्ष र प्रतिपक्षबीचको खाडल भत्काएको बताउँदै प्रचण्डले भने, ‘अहिले पनि सत्तापक्ष र प्रतिपक्ष बिभाजित हुनुहुँदैन, विकास, समृद्धि र स्थायीत्वको लागि सबै सत्तापक्ष हुनुपर्छ र यसमा सबै आउनुपर्छ ।’

प्रेस स्वतन्त्रता आवश्यक

उनले प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्नसक्ने खालका शब्दहरु कतै प्रयोग गर्न नहुने धारणा समेत राखे । उनले भने, ‘प्रेस स्वतन्त्रतालाई कुठित गर्न सक्ने ईफ, बट, वा, तर, यदिलगायतका शब्द राख्न हुन्न भन्ने पक्षमा म छु, यसले भविष्यमा प्रेस स्वतन्त्रतामा अंकुश लगाउने ठाउँ दिन सक्छ ।’

उनले सत्ता पक्ष र राजनीतिक दल दललाई चेक एण्ड ब्यालेन्समा राखिराख्न पनि प्रेस स्वतन्त्रता आवश्यक रहेकोमा जोड दिए ।

अध्यक्ष प्रचण्डले युद्ध र शान्ति प्रक्रियामा कहिलेकाहिँ कमजोरी भएपनि पत्रकारितालाई कहिल्यै आग्रह वा पूर्वाग्रहमा राखेर काम नगरेको उनले स्पष्ट पारे । उनले भने, ‘म प्रेस स्वतन्त्रताको पक्षमा पहिल्यैदेखि स्पष्ट छु, शान्ति वा युद्ध प्रक्रियामा कहिलेकाहिँ कमजोरी नभएका हैनन्, तर म प्रेस स्वतन्त्रताको पक्षमा तपाईंहरुसँगै छु ।’

उनले प्रेसलाई बलियो बनाउनको लागि भनेरै आफू प्रधानमन्त्री हुँदा लोककल्याणकारी विज्ञापनलाई दोब्बर बनाएको, आफ्नै पालामा पत्रकारलाई हरेक वर्ष सम्मान गर्ने ब्यवस्था गरेकोलगायतका कार्य गरेको फेहरिस्त सुनाए ।

कास्कीको ढिकुरपोखरी आफू जन्मेको ठाउँ भएकाले कास्की र यहाँका ठाउँहरु तथा ४ नम्बर प्रदेशसँग आफ्नो आत्मियता रहेको बताउँदै उनले अब यहाँ जोडिनका लागि आफूले प्रयास गरिरहेको बताए । शनिबार आफ्नो जन्मथलो अन्नपूर्ण गाउँपालिका वडा नम्बर १ लेवाडे पुगेर घर बनाउनका लागि जग्गा हेरेका उनले चाँडै कस्केली र प्रदेश नम्बर ४ सँग जोडिने बताए । यद्यपि उनले समयअभाव भन्दै त्यसबारे थप बोलेनन् ।

अध्यक्ष प्रचण्डले प्रदेश नम्बर ४ ऐतिहासिक र प्राकृतिक दुवै दृष्टिकोणले सम्पन्न भएकाले यो नमूना बन्ने बताए ।

‘अब फुट्ने छुट कसैलाई छैन’

कार्यक्रममा प्रदेश नम्बर ४ का उद्योग, वन तथा वातावरण मन्त्री विकाश लम्सालले नेपाली जनताले नयाँ अभ्यास गर्ने नाममा फेरी अर्को दुर्घटना निम्त्याउन नचाहेको बताए । उनले एमाले र माओवादीबीच एकताको विकल्प नभएको बताउँदै अब फुट्ने छुट कसैलाई नभएको बताए ।

यसैगरी नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले पत्रकार महासंघ आजदेखि पूर्णसंघीय संरचनामा गएको बताए । उनले नागरिक हितका लागि सबैलाई मिलेर अघि बढ्न आग्रहसमेत गरे ।

कार्यक्रममा न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गंगाधर पराजुली, पत्रकार महासंघका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवाली, पत्रकार महासंघ प्रदेश नम्बर ४ का नवनिर्वाचित अध्यक्ष त्रिभुवन पौडेल, पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठलगायतले पनि धारणा राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment