Comments Add Comment

सिण्डिकेट नमान्ने कागज गर्दै धमाधम छुटे यातायात व्यवसायी


२३ वैशाख, काठमाडौं । यातायातमा हड्ताल गरेको आरोपमा पक्राउ परेका यातायात व्यवसायीहरु सिण्डिकेट नमान्ने कागज गरेपछि रिहा हुन थालेका छन् ।

विभिन्न जिल्लामा पक्राउ परेका यातायात व्यवसायीहरु प्रहरी कार्यालयमा कागज गरेर रिहा भएका हुन् । उनीहरुले सिण्डिकेट नमान्ने, सवारी साधन कम्पनीमा दर्ता गर्ने, यातायात चलाउने र सरकारलाई सहयोग गर्ने शर्तसहितको कागजमा हस्ताक्षर गरेर रिहा भएका छन् ।

कैलालीमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ प्रदेश ७ का संयोजक टेकराज जोशी, कणर्ाली यातायात समितिका अध्यक्ष धिरज शाही, महासचिव गणेश ओली, कोषाध्यक्ष जयरुप बुढा, सदस्यद्वय ज्ञान बहादुर भण्डारी र कृष्णप्रसाद भट्टराई कागज गरेर रिहा भएका छन् ।

त्यस्तै सुदूरपश्चिम यातायात व्यवसायी संघका सचिव योगेन्द्र गिरी (राजु) पनि कागज गरेर रिहा भएका कैलालीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले बताए । उनले आइन्दा यस्तो गल्ती नगर्ने र नेपालको प्रचलित ऐन कानुन बमोजिम कार्य गर्ने सहमति पत्रमा हस्ताक्षर गरेपछि उनीहरुलाई रिहा गरिएको बताए ।

चितवनमा शुक्रबार पक्राउ परेका २ जना व्यवसायी यस्तै कागज गरेर आइतबार रिहा भएका छन् । रुपन्देहीमा पक्राउ परेका यातायात व्यवसायीहरु पनि सिण्डिकेट नमान्ने र गाडी चलाउने कागज गरेर रिहा भइसकेका छन् ।

शुक्रबार यातायात बन्द गरेपछि सरकारले विभिन्न १८ जिल्लाका ७१ जना व्यवसायीलाई पक्राउ गरेको थियो । यातायात क्षेत्रमा हड्ताल गर्न नपाइने सरकारी व्यवस्था विपरीत यातायात बन्द गरेपछि उनीहरु पक्राउ परेका थिए ।

काठमाडौंका छुटेनन्

काठमाडौंमा पक्राउ परेका ६ जना यातायात व्यवसायी भने रिहा भएका छैनन् । उनीहरुले अहिलेसम्म कागज गर्न नमानेकाले रिहा नभएका हुन् ।

‘उहाँहरुसँग छलफल भइरहेको छ, कागज गर्ने प्रक्रियामा नै हुनुहुन्छ’ महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्वराज पोखरेलले जानकारी दिए । काठमाडौंबाट नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्य, महासचिव सरोज सिटौलालगायत पदाधिकारीहरु पक्राउ परेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment