Comments Add Comment

प्रधानमन्त्रीले भने-‘भतिजाले फू गर्दैमा ढल्ने लूलो सरकार होइन

२३ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले यातायात क्षेत्रको सिण्डिकेट अन्त्य शुरुआतमात्र भएको भन्दै यो सरकारले सबै खालका सिण्डिकेट अन्त गर्ने दृढता व्यक्त गरेका छन् ।

आइतबार अपरान्ह संसद भवनमा बसेको एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सिण्डिकेट कतै पनि स्वीकार्य नहुने प्रष्ट पारे ।

ओलीले भने ‘यो सरकार जनताको पूर्ण समर्थन प्राप्त भएको बलियो सरकार हो । कसैले सोचेको थिएन सिण्डिकेट तोडिन्छ भनेर । तर यो सरकारले सिण्डिकेट तोडेर छाड्यो । अरु क्षेत्रमा पनि सिण्डिकेट छ, त्यो पनि तोडिन्छ ।’

प्रधानमन्त्री ओलीले लोकतन्त्रमा नेता बलियो हुँदा कोही डराउन नपर्ने भन्दै जनताको समर्थनमा मात्र नेता बलियो हुने बताए । कतिपयले आफू बलियो प्रधानमन्त्री भएकोमा रिस गरेको भन्दै ओलीले लोकतन्त्रमा व्यक्ति होइन प्रणाली बलियो बनाउने आफ्नो मिसन सुनाए ।

‘भतिजा’लाई जवाफ

कांग्रेस नेता डा. शेखर कोइरालाले ओली नेतृत्वको सरकारलाई कांग्रेसले फू गरेर ढाल्ने चेतावनी दिएको प्रसंग समेत कोट्याए । उनले यो लुलो सरकार होइन भन्ने हेक्का राख्न समेत आग्रह गरे । तत्कालिन कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले मनमोहन अधिकारी नेतृत्वको एमाले नेतृत्वको सरकारलाई फू गरेर ढाल्ने चेतावनी दिएका थिए ।

ओलीले भने-उहिले एकजना अंकलले कुनै सन्दर्भमा यो सरकारलाई फू गरेर ढाल्छु भनेका थिए । उनका भतिजाले त्यही शब्द प्रयोग गरेर यो सरकार ढाल्छु भनेछन् ।

विरोधका लागि विरोध : घाँटीको समस्यामात्र

प्रधानमन्त्री ओलीले आफू प्रतिपक्षप्रति अशहिष्णु नबन्ने समेत प्रष्ट पारे । अब ५ वर्षसम्म अर्को चुनाव पनि नहुने र स्थिर सरकार भएकाले विपक्षलाई प्रहार गर्ने वा असहिष्णु बन्नुपर्ने आवश्यकता नरहेको उनले बताए । उनले विपक्षलाई पनि विरोधका नाममा बिरोध नगर्न सुझाव दिए ।

ओलीले भने ‘कसैले भ्रम नपाले हुन्छ हामी विपक्षीसँग असहिष्णु होइन असाध्यै नरम हुन्छौं । अब चुनाव आइहालेको पनि छैन । बरु विपक्षीले पनि राम्रा कामको समर्थन र सहयोग गरोस् । राम्रा कामको पनि विरोध गर्दा थ्रोएट प्रोब्लेम (घाँटीको समस्या) मात्र हुन्छ ।’

उनले बजेट अधिवेशनका सन्दर्भमा दुवै सदनका एमाले सांसदहरुलाई निर्देशन दिने क्रममा पार्टी नीति विपरीत संसदमा कुनै पनि सांसदले प्रस्तुति दिन नहुने बताए । पार्टीभित्रका मतभेद संसदमा प्रकट नगर्नसमेत उनले सांसदहरुलाई निर्देशन दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment