Comments Add Comment

यस्तो छ प्रदेश ५ का सांसदको लोगो, शीरमा सिस्ने, केन्द्रमा लुम्बिनी

२४ वैशाख, बुटवल । प्रदेश ५ को सांसद र कर्मचारीहरुले लगाउने छुट्टाछुट्टै लोगो सार्वजनिक गरिएको छ । सोमबार अस्थायी राजधानी रुपन्देहीको बुटवलमा आयोजित समारोहमा लोगो सार्वजनिक गरिएको हो ।

१२ जना प्रतिस्पर्धीमध्ये तुलसीपुर उपमहानगरपालिका- १ दाङका खगेश्वर भण्डारीले बनाएको लागोलाई छनोट गरिएको हो । उनलाई लोगो सार्वजनिक समारोहमा नगद २५ हजारले सम्मान समेत गरिएको छ ।

लोगोमा के छ ?

सांसदहरुले लगाउने लोगोमा प्रदेश पाँचका जिल्लालाई समेट्ने प्रयास गरिएको छ । लोगोमा सबैभन्दा माथि सिस्ने हिमाल छ । हिमालको माथि राष्ट्रिय झण्डा राखिएको छ ।

त्यसभन्दा तल बुद्ध जन्मस्थल लुम्बिनी र लुम्बिनीको अखण्ड ज्योती राखिएको छ यी सबैलाई दायाँ-बायाँबाट धान र जौंका बालाले घेरिएको छ । त्यसभन्दा पनि तल महिला र पुरुषको मिलाएको हात राखिएको छ । सबैभन्दा पुछारमा ‘प्रदेशसभा प्रदेश नम्बर ५’ लेखिएको छ ।

पूर्वी रुकुममा पर्ने सिस्ने हिमालले उच्च पहाडी जिल्लाको प्रतिनिधित्व गरेको छ भने लुम्बिनीले कपिलवस्तु र रुपन्देहीलाई समेटेको छ । धान र जौंका बालाले कृषिमा उर्बर तराई तथा पहाडका अन्य जिल्लालाई समेट्ने प्रयास गरेको छ । महिला र पुरुषको मिलाएको हातले लैंगिक समानतालाई झल्काएको छ ।

यसैगरी कर्मचारीहरुले लगाउने लोगोमा दायाँबायाँ राष्ट्रिय फूल लालीगुराँसले घेरेर बीचमा गौतमबुद्धको चित्र राखिएको छ । सबैभन्दा माथि हिमाल र हिमालको चुचुरोमा राष्ट्रिय झण्डा राखिएको छ ।

लोगो सार्वजनिक कार्यक्रममा प्रदेशसभा ५ को आधिकारीक बेवसाइट (www.pradeshsabha.p5.gov.np) पनि सार्वजनिक गरिएको छ । साथै प्रदेशसभा सन्चालन तथा ब्यवस्थापनका लागि प्रदेशसभाबाट सर्बसम्मतीले पारित भएको प्रदेशसभा नियमावली २०७४ सहित प्रदेशसभाका विवध बिषय समेटिएको पुस्तक पनि सार्बजनिक गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment