Comments Add Comment

मोदीसँग भारतीय ज्यादतीको कुरा उठाउन सरकारलाई आग्रह

राष्ट्रियसभामा उठ्यो पुनर्बास मुद्दा


२४ वैशाख, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा कञ्चनपुरको पुनर्बासमा भारतीय पक्षबाट भएको सीमा अतिक्रमण र एसएसबीको ज्यादतीबारे कुरा राख्न सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका छन् ।

राष्ट्रियसभाको सोमबारको बैठकमा विशेष समय लिएर बोल्ने सांसदहरुले सीमा अतिक्रमण र भारतीय सुरक्षाकर्मीको ज्यादतीलाई दुई पक्षीय वार्ताको एजेण्डा बनाइनुपर्ने बताए । पुनर्बासमा हुने पटक पटकको भारतीय ज्यादती अब दुई देशका प्रधानमन्त्री तहमा लैजानुपर्ने उनीहरुले बताए ।

विशेष समय लिएर बोल्दै सांसद हरिराम चौधरीले भारतीय सुरक्षाकर्मीबाट पुनर्वासमा गरिएको ज्यादती निन्दनीय रहेकाले मोदीको नेपाल भ्रमणको बेला विशेष एजेण्डा बनाउनुपर्ने बताए । उनले भारततिरबाट आएका जनावरले बालीनाली नष्ट गर्न थालेपछि नगरपालिकाले कारवाही गर्दा भारतीय सुरक्षाकर्मीले ज्यादती गरेको बताए ।

कन्चनपुरबाटै प्रतिनिधित्व गर्ने सांसद इन्दु कडरियाले पुनर्वासमा पटक पटक भारतीय सुरक्षाकर्मीले ज्यादती गरेको बताइन् । उनले गत वर्ष यही समयमा भारतीय ज्यादती विरुद्ध लड्दा गोविन्द गौतमले शहादत प्राप्त गरेको स्मरण गर्दै अहिले सोही स्थानमा अतिक्रमण भएको जानकारी दिइन् ।

अर्की सांसद अनिता देवकोटाले पुनर्बासको सीमा अतिक्रमण र भारतीय सुरक्षाकर्मीको ज्यादती सैहृय नहुने बताइन् । उनले सरकारलाई राष्ट्रवादका कुरा होइन काम गरेर देखाउन चुनौती दिदै यो विषय भारतीय पक्षसमक्ष उठाइनुपर्ने बताइन् ।

‘पुनर्बासको सीमा रक्षामा सरकार संवेदनशील बनोस्, गोविन्द गौतमले शहादत प्राप्त गरेको ठाउँमा सीमा अतिक्रमण, राष्टवादको कुरा गर्नुभन्दा पनि व्यवहारमा देखियोस्’ उनले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment