+
+

वैवाहिक सम्बन्धको बदलिँदो स्वरुप

डम्बर खतिवडा डम्बर खतिवडा
२०७५ वैशाख २४ गते १३:१५

रामरिझन यादव फरक प्रकृतिका गज्जब व्यक्तित्व लाग्छन् । त्यस्तो लाग्नुका अनेक कारण छन् ।

पहिलो- वनपतिशास्त्रका प्राध्यापक, पञ्चायतकालमा नै उनी बिराटनगरमा पत्रकारिता गर्थे । त्यो पनि काठमाण्डौंका साप्ताहिकहरुका लागि सम्वाददाता भएर । तर, विस्तारै उनको व्यक्तित्व प्राध्यापकका रुपमा भन्दा पत्रकारकै रुपमा परिचित हुनथाल्यो । पत्रकारिताकै क्रममा उनले सामाजिकता र समावेशिताका मुद्दामा लेखक व्यक्तित्व निर्माण गरे ।

दोस्रो- रामरिझन त्यतिखेरै दरिएका बुद्धिजीवी मानिन्थे पूर्वमा । तर, त्यतिखेरको सानो पार्टी एकताकेन्द्रका लागि राजनीति गर्थे ।

तेस्रो- मूलधारको राजनीतिले मधेसलाई न्याय गर्न नसकेको ठानेर मधेसी जनाधिकार फोरमको गठनमा उनले साथ दिए । त्यतिखेर त्यो गैसस थियो । अहिले पनि उनी भन्छन्- फोरमको त म संस्थापक नै हो ।

चौथो- जातीय समुदायको हिसाबले यादवको बच्चाका रुपमा उनलाई हेरिन्छ । तराईमा यादबहरुको आफ्नै खालको ‘लडाका इमेज’ छ । त्यसमाथि कटट्रपन्थी कम्युनिष्ट स्कुलिङ्गमा हुर्किएका । तर, उनको व्यक्तित्वको समग्र सार अत्यन्त ‘उद्धार बुद्धिजीबी’ को जस्तो छ ।

अझ रोचक कुरा, सिराहा सन्हैठाका ‘मधेसी’ उनले झापाकी ‘पहाडेनी’ लक्ष्मी अधिकारीसँग प्रेम र मञ्च विवाह गरे । त्यो पनि फरक पार्टीकी कार्यकर्तासँग जतिखेर नेपालमा दलीय पूर्वाग्रह चरमचुलीमा थियो । चौम धारका कम्युनिष्ट रामरिझन सर । माले धारकी कार्यकर्ता लक्ष्मी अधिकारी ।

डा. बाबुराम भटटराई प्रधानमन्त्री हुँदा रामरिझन प्रधानमन्त्रीका प्रेस सल्लाहकार थिए । प्रधानमन्त्रीको भारत भ्रमणको टोलीमा उनलाई नेपालका प्रधानमन्त्रीको प्रेस सल्लाहकार ठान्न भारतीय अधिकारीहरु हिच्किचाएजस्तो गर्थे रे । पटनामा बिहारका मुख्यमन्त्रीसँग भेट हुँदा- मुख्यमन्त्री नीतिश कुमार केहीबेर त छक्क परेर हेरेको हेर्यै भएछन् ।

‘तपाई नेपालको प्रधानमन्त्रीको प्रेस सल्लाहकार, मैले छपरातिरको हाम्रै बिहारको यादव हुनुहोला भन्ठानेको’ भने रे नीतिशले । यस्ता अनेकन रोचक संयोग छन, रामरिझन यादवको जीवनमा ।

केही महिना अगाडि यिनै अनौठा रामरिझनले फोन गरेर अनौठो प्रस्ताव गरे- डम्बरजी, अन्तर्जातीय विबाहसम्बन्धी एउटा लेख लेखिदिनुस् त । म केहीबेर अलमलमा परें । किन सर ? के गर्ने त्यस्तो लेख ? भनेर सोधे ।

मेरी जेठी छोरी शिखाकिरण यादवको विवाह हुँदैछ । इनरुवाका धिरज भट्टराईसँग । विवाह कार्यक्रम बिराटनगरमा हुन्छ । ८ मार्च, अन्तर्राष्ट्रिय महिला दिवसका दिन मञ्च विवाह । तपाईलाई विवाहको निम्तो पनि भयो । उपहार नलिइनकन आउनुहोला । त्यही दिन लेखहरुको संकलनको एउटा किताब निकाल्ने कार्यक्रम छ । त्यहीँ एउटा किताब किन्दिनु होला । मैले छोरीलाई कति पनि दहेज दिन्न । त्यो किताब दिन्छु, ज्वाइँछोरीलाई दहेज ।’

यति भनेर रामरिझन सर रमाइलो गरी हाँसे ।

म सुनसरीको मान्छे । इनरुवा आफ्नै गाउँजस्तै भइगो । कुन धिरज भटट्राई रहेछन् ? सोधें- त्यही तपाईको इनरुवाको नेपाली कांग्रेसको नगर सचिव- धिरज । मैले धिरजको अनुहार सम्झिएँ ।

विशेषतः जनान्दोलन-०६२/०६३ को १९ दिन- इनरुवाका सडकमा धिराजसँगसँगै भएका दिनहरु सम्भिmएँ । यी सबै संयोगहरु मलाई झनै रमाइला र गज्जब लागे ।
तर, रामरिझन सरको अनुरोध भने मैले पूरा गर्न सकिनँ । कताकति ‘गिल्टी फिल’ भइरहृयो । के लेख्ने होला मैले अन्तर्जातीय विवाहका बारेमा ।

मेरो विवाह प्रेम विवाह पनि हैन, अन्तर्जातीय पनि हैन । पार्टी विवाह पनि हैन, परम्परागत पुरोहित पढाउने कर्मकाण्डी विवाह पनि हैन । विवाहबारे मैले कुनै शास्त्रीय अध्ययन गरेको छैन ।

म राजनीति, दर्शन, अर्थशास्त्र र व्यवस्थापनशास्त्रमा रुचि राख्छु । समाजशास्त्रीय ज्ञानका हिसाबले विल्कुल कमजोर मान्छे हुँ । तै, रामरिझन सरको आग्रह पूरा गर्न अनेकचोटि कम्प्युटरको किबोर्ड अगाडि बसेर कनें । तर, पित्को वाक्य फुरेन ।

तसर्थ मैले उनलाई लेख दिन सकिनँ । लेख दिन नसकेको मात्र हैन, विवाहको दिन बिराटनगर पुग्न पनि सकिनँ । शिखा र धिरजको सुखद वैवाहिक जीवनको कामना मात्र गरिरहें मनमनै ।

त्यसको करिब महिना दिनपछि लाहानमा रामरिझन सरसँग भेट भयो । ‘विवाहः सम्बन्धको बदलिँदो स्वरुप’ नामको मोटो किताब मेरो हातमा थमाइयो । मैले पैसा तिर्न पर्स निकालें । तर, लिन मानेनन् । भने- तपाईले लेख मिस गरेको किताब हो यो । एकपटक हेर्नु, विवाहको दिन आएको भए पैसा लिन्थें, अब लिन्न ।’

मैले किताब ओल्टाई पोल्टाई हेरेँ । कभरमा मिथिला आर्ट । पछाडि विवाहसम्बन्धी लेखका केही उद्धरहणहरु । किताबको कागजबाट मीठो बासना आइरहेजस्तो ! सरसर्ती विषयसूची हेरेँ । नेपाल र केही भारतका पनि दिग्गज विद्धानहरुका विवाह सम्बन्धी लेखहरुको संग्रह । त्यो पनि चार खण्डमा ।

भाषिक आधारमा नेपाली, हिन्दी, मैथिली र अंग्रेजी खण्ड । यति गतिलो किताबमा आफ्नो लेख छापिने अवसर गुमेकोमा कताकता मनमा खिन्नता छायो । तर, पढी सक्न भने मलाई झण्डै अरु एक महिना लाग्यो ।

५५ वटा रोचक लेखहरु छन् किताबमा । डा. भाष्कर गौतमले ती लेखलाई निफनेर गतिलो आमूख लेखेका छन् । नेपाली समाज वैवाहिक सम्बन्धका हिसाबले कसरी ‘टेन्डेन्सियल सिफ्ट’ गरिरहेको छ भनेर बुझ्न राम्रो सन्दर्भग्रन्थ बनेको छ, किताब ।

सीके लाल, मोदनाथ प्रश्रति, चैतन्य मिश्रदेखि राजेन्द्र महर्जनसम्मको वैवााहिक सम्बन्धबारेको समाजशास्त्रीय व्याख्या अनेक कोणबाट उपयोगी लाग्यो । किताबको रोचक आत्मिक पक्ष भनेको नेपाली समाजमा अन्तर्जातीय विवाह गरेर सफल दाम्पत्य जीवन बिताएका चर्चित जोडीहरुको प्रेमकथा पनि हो । डा.बाबुराम भटटराई/हिसिला यमी, स्वनाम साथी/किरण गौतम, लीलामणि पोख्रेल/शशी श्रेष्ठ, प्रदीप नेपाल/झुमा देवान, गंगानारायण श्रेष्ठ/वन्दना सुवेदी, बृषेशचन्द्र लाल/विजयालक्ष्मी श्रेष्ठ, मदन अर्याल/निशा साह, मनोज झा/ज्याति महर्जन, सीता पोख्रेल/विश्वनाथ शाह, राजबहादुर कुँवर/ इन्दिरा थारु आदिका जीवन अनुभव र विश्लेषणहरु पढ्दा मज्जा लाग्छ ।

निक्कै जटिल लाग्नेे अन्तरजातीय विवाहका अगाडि सजातीय प्रेम विवाहहरुको अनुभव कल्पना धमलाको लेखबाट तुलनीय बन्न पुग्छ ।

कम्युुनिष्ट आन्दोलन र जनयुद्धका सांस्कृतिक पक्ष साथै कथित दलित र उच्च जातीय विवाहका संकटहरुलाई उधिन्न समेत किताबले उल्लेखनीय भूमिका गर्न सक्छ ।
विशेषतः बविता बस्नेत र अनिल शर्माले यसबारे गहिरो रुचि देखाएका छन् । युवा उमेरमा क्रान्तिकारी जोस र यौनप्रेमको भावना प्रवल हुँदा भएका त्यस प्रकारका धेरै विवाहहरु सामाजिक सहवरणको अभावमा दुःखद स्थितिमा पुगेको निराशाजनक चित्र यी लेखहरुले दिएका छन् ।

शिखा र धिरजको विवाह एउटा राम्रो निहुँ बन्न पुगेको छ, रामरिझन सरलाई बिल्कुल नयाँ प्रकारको किताब सम्पादन गर्ने । हामी पाठकहरुले पनि एकपटक त्यो मज्जा लिनु राम्रै हुन्छ ।

लेखकको बारेमा
डम्बर खतिवडा

राष्ट्रिय राजनीतिमा सशक्त कलम चलाउने राजनीतिक विश्लेषक तथा लेखक खतिवडा जसपासँग आवद्ध छन् । उनको नियमित स्तम्भ 'अग्रपथ' हरेक आइतबार प्रकाशित हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?