Comments Add Comment

ओली र मोदीले जानकी मन्दिरमा सँगै पूजापाठ गर्ने, अभिनन्दनमा ओली नबस्ने

,

फाइल तस्वीर

२४ वैशाख, जनकपुर । आगामी शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एकसाथ जानकी मन्दिरमा पूजापाठ गर्ने भएका छन् । पूजापाठ सकेपछि प्रधानमन्त्री ओली काठमाडौं फर्कने छन् ।

भारतीय प्रधानमन्त्री मोदी जनकपुर आएपछि दुवै देशका प्रधानमन्त्रीले एकैसाथ संयुक्तरुपमा जानकी मन्दिरमा पूजापाठ गर्ने कार्यक्रम तय भएको प्रदेश २ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्रप्रसाद साहले अनलाइनखबरलाई जानकारी दिए ।

साहका अनुसार जनकपुर प्रवेश गर्दा भारतीय प्रधानमन्त्री मोदीलाई रक्षामन्त्री ईश्वर पोखरेलले स्वागत गर्ने कार्यक्रम तय भएको छ । साहले भने ‘मन्त्री पोखरेलले स्वागत गर्नेबित्तिकै मन्दिरमा संयुक्त पूजापाठ गर्ने कार्यक्रम छ ।’

प्रधानमन्त्री ओली २८ गते नै जनकपुर आउने छन् । उनी भारतीय प्रधानमन्त्रीसँग नागरिक अभिनन्दन कार्यक्रममा सहभागी हुने छैनन् । ‘हाम्रो प्रधानमन्त्रीज्यू मञ्चमा बस्नुहुन्न’ मन्त्री साहले भने, “मन्दिरबाट पूजापाठ गरेर उहाँ काठमाडौं जानुहुन्छ ।’

भारतीय प्रधानमन्त्री मोदी भने मन्दिरमा पूजापाठ सकेर बाह्रबिघा मैदानमा बनाइएको मञ्चमा आउनेछन् । त्यहाँको मञ्चमा मोदीबाहेक अन्य दुईजना वक्ता मात्रै हुनेछन् । प्रदेशका मुख्यमन्त्रीले कार्यक्रम समापन गर्ने र स्वागत मन्तव्य जनकपुर उपमहानगरपालिकाका प्रमुखले गर्ने कार्यक्रम तय भएको छ ।

‘उहाँहरुले पनि छोटो मन्तव्य राख्नुहुनेछ’ साहले भने, ‘स्वागत मन्तव्य दिएसँगै मोदीलाई बोल्नका लागि समय दिइनेछ । र, त्यसपछि मुख्यमन्त्री लालबाबु राउतले सभाको समापन गर्नुहुनेछ ।’

चेकिङ गरेपछि छैठौं लाइनमा सर्वसाधारण

२८ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर आउँदा सर्वसाधारणका लागि ६ लाइनको बस्ने व्यवस्था मिलाइनेछ । मञ्चको ठ्याक्कै अगाडि पहिलो लाइन बनाइनेछ, जहाँ मोदीका साथमा आउने व्यक्तिहरु मात्रै बस्नेछन् ।

दोस्रो तहमा नेपालका केन्द्रीय मन्त्री तथा सांसदहरु बस्नेछन् । तेस्रो तहमा प्रदेश सांसद एवं प्रदेशका मन्त्रीहरुलाई बस्ने व्यवस्था मिलाइनेछ’ कृषि मन्त्री साहले भने, ‘चौथो लाइनमा विशिष्ट कर्मचारी, पाँचौं लाइनमा नगरपालिका/गाउँपालिकाका प्रमुख र छैठौं लाइनमा सर्वसाधारण बस्न पाउनेछन् ।’

बाह्रबिघामा सर्वसाधारणलाई गेटपासको चर्चा चलेपछि प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्ऽप्रसाद साहले बिना गेटपास सर्वसाधारणलाई प्रवेश गर्न दिइने बताए ।

जनकपुरमा सोमबार बसेको एक बैठकमा जनपरिचालन समितिका संयोजकसमेत रहेका मन्त्री साहले यस्तो जानकारी गराएका हुन् । उनले भने, “सर्वसाधारणलाई पनि पास लिनुपर्ने जुन हल्ला फिँजाइएको छ, त्यो गलत हो । सर्वसाधारण बिनारोकटोक भित्र/बाहिर गर्न सक्छन् ।”
यद्यपि उनले सुरक्षाकर्मीले चेकिङ गरिने बताए । ‘सुरक्षाका लागि चेकिङ हुन सक्छ’ उनले भने, ‘यसबाहेक कुनै पनि पासको आवश्यक्ता रहँदैन ।’

मन्त्री साहले जनतालाई उतार्न स्थानीय तहका प्रमुखहरुले भूमिका निर्वाह गरिरहेका कारण उनीहरुलाई पनि बस्ने व्यवस्था मिलाइएको बताए । ‘शुरुमा उनीहरुका लागि लाइन मिलाउने विषयमा छलफल भएको थिएन’ उनले भने, “अब उनीहरुका लागि पनि लाइन मिलाउने सहमति भएको छ ।’

प्रतिनिधिसभा, प्रदेशसभा सदस्य र मन्त्रीले परिचयपत्रका आधारमा सिधैं प्रवेश गर्न पाउनेछन् भने गाउँपालिका/नगरपालिका प्रमुखहरुलाई पास लिनुपर्ने साहले बताए । उनले पत्रकारका लागि पनि पास दिने विषयमा छलफल चलिरहेको जनाए ।

जनकपुर-अयोध्या बस सञ्चालन

मोदीको जनकपुर भ्रमणसँगै जनकपुर-अयोध्या बस सञ्चालन पनि हुने भएको छ । बैशाख २८ गते नै भारतको अयोध्याबाट बस आउने र जनकपुरबाट फर्किने कार्यक्रम तय भएको छ ।

जानकीको विवाह अयोध्याका राजा दशरथका छोरा रामसँग भएको इतिहास रहेकाले जनकपुरबाट अयोध्यासम्म बस सञ्चालन हुने मन्त्री साहका स्वकीय सचिव उपेन्द्र साहले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment