Comments Add Comment

आईपीएलः सातौंपटक हार्‍यो बैंग्लोर, प्लेअफमा पुग्न मुस्किल

सनराइजर्स हैदरावाद ५ रनले विजयी

 

२५ वैशाख, काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल)मा सनराइजर्स हैदरावादले रोयल च्यालेन्जर्स बैंग्लोरलाई पाँच रनले हराएको छ ।

राजीव गान्धी अन्तर्राष्ट्रिय स्टेडियममा सोमबार राति टस हारेर व्याटिङ गरेको हैदरावादले कप्तान केन विलियम्सनको ५६ रनको मद्दतमा १४६ रन बनाएको थियो । उनी प्लेयर अफ दि म्याच पनि भए ।

१४७ रनको लक्ष्य पछ्याएको बैंग्लोर निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १४१ रनमा समेटियो । खेलको अन्तिम बलमा भुवनेश्वर कुमारले कोलिन डि ग्रान्डहोमलाई ३३ रनको स्कोरमा बोल्ड गरे । मन्दिप सिंह २१ रन बनाएर आउट भए ।

खेलमा रमाइलो के भयो भने दुबै टिमले आफ्नो पारीको अन्तिम बलमा एक-एक विकेट गुमाएका थिए ।

बैंगलोरका लागि कप्तान बिराट कोहलीले सर्वाधिक ३९ रन बनाए । उनलाई शाकिब अल हसनको बलमा युसुफ पठानले आउट गरे । एबी डिभिलियर्सलाई पनि पाँच रनमा शाकिबले नै आउट गरे ।

पहिलो पटक आईपीएल खेलिरहेका मोइन अलीलाई १० रनको स्कोरमा सिद्धार्थ कौलले विकेटकिपर ऋद्धिमान साहको हातबाट क्याचआउट गरे ।

पार्थिव पटेल १३ बलमा २० रन बनाएर शाकिब अल हसनको बलमा एलबीडब्लुको धरापमा परे । मनन बोहरालाई सन्दिप शर्माले बोल्ड गरे । मननले ८ रन बनाए ।

हैदरावादका लागि सन्दिप शर्मा, भुवनेश्वर कुमार, सिद्धार्थ कौल र राशिद खानले एक-एक विकेट लिए । तर, शाकिब हल हसनले दुई खेलाडीलाई पेभेलियन फर्काउन सफल भए ।

यसअघि सनराइजर्स हैदरावाद १४६ रनमा अलआउट भयो । अन्तिम दुई ओभरमा उसको पाँच विकेट झर्‍यो । हैदरावादका लागि विलिम्सनका अलावा शाकिब अल हसनले ३५ र युसुफ पठानले १२ रन योगदान गरे । अन्य कुनै पनि व्याट्सम्यानले दोहोरो अंकको रन बनाउन सकेनन् ।

बैंग्लोरको तर्फबाट टिम साउथी र मोहम्मद सिराजले तीन-तीन विकेट लिए । उमेश यादव र युजवेन्द्र चहलले एक-एक विकेट झारे । उमेशको टिमले जित्न त सकेन तर उमेशले १० खेलमा १४ विकेट झारिसकेका छन् । उनी आईपीएलको जारी सिजनमा सबैभन्दा धेरै विकेट लिने खेलाडी बनेका छन् ।

आईपीएलको जारी ११ औं संस्करणमा हालसम्म ३९ खेल भएका छन् भने हैदरावाद १० खेलमा ८ जितका साथ १६ अंक बटुल्दै अंक तालिकाको शीर्ष स्थानमा छ । आईपीएलका पुराना सिजनलाई हेर्ने हो भने यो अंकले हैदरावाद प्लेअफमा पुग्ने पक्का भइसकेको छ ।

यता रोयल च्यालेन्जर्स बैंग्लोरले १० खेलमा केबल ३ खेलमात्र जित्न सकेको छ । उ अंक तालिकामा ६ अंकका साथ छैठौं स्थानमा छ । हैदरावादसँग हारेसँगै प्लेअफमा पुग्न उसलाई मुस्किल भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment